२६ मंसिर, काठमाडौं । नेकपा एमालेले बैतडीको झुलाघाटबाट सुरु गरेको पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प यात्रा मंगलबारदेखि कोशी प्रदेश प्रवेश गरेको छ ।
मंगलबार हर्कपुर पुगेर एमाले बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेलले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडालाई झण्डा बुझाएसँगै संकल्प यात्रा (क्याराभान) समापन नजिक पनि पुगेको छ । अब तीन दिनपछि २९ मंसिरमा पाँचथरको चिवाभञ्ज्याङ पुगेर संकल्प यात्रा सकिनेछ ।
पार्टी अध्यक्ष केपी शर्मा ओली आफैंले नेतृत्व गरिरहेको यात्राको सन्देश केन्द्रीय मूख्यालयबाटै (५ पुसमा) सार्वजनिक गर्ने एमालेको तयारी छ । ‘कति उपलब्धि भयो, के सन्देश दियौं भन्ने कुरा हामी केन्द्रीय कार्यालयबाट सार्वजनिक गर्छौं’ उपमहासचिव पृथ्वीसुब्बा गुरुङ भन्छन्, ‘यात्रा सोचे भन्दा राम्रो भएको छ, जनताको अपार साथ पाएका छौ ।’
एमालेका अरू नेताहरुले पनि दिनहुँजसो सामाजिक सञ्जालमार्फत् यात्रामा जनताको साथ पाइरहेको बताइरहेका छन् । सभामा उपस्थित सहभागी, अन्तरक्रिया र अध्यक्ष ओलीले गरेको अवलोकनका तस्वीर सार्वजनिक गर्न एमाले नेताहरुबीच प्रतिस्पर्धा नै देखिएको छ । ‘यात्रामा सहभागी नेताहरू उत्साहित हुनुमा जनताले दिएको साथ हो । जहाँ गयो, त्यही जनसागर छ’, पोलिटब्यूरो सदस्य पार्वत गुरुङ भन्छन् ।
सबै सभा र अन्तरक्रियामा आफैं सम्बोधन गरिरहेका ओलीले भने यात्राभर एउटै निष्कर्ष भनिरहेका छन्– एमाले निर्विकल्प शक्ति हो । तर देशीविदेशी शक्ति लागेर आफूलाई प्रधानमन्त्रीबाट हटाएपछि विकासको काम ठप्प भएको निष्कर्ष सुनाइरहेका छन् । ‘देशभक्त पार्टी, सुशासनप्रेमी पार्टी, शान्तिप्रेमी पार्टी, विकासप्रेमी पार्टी, जनताको समस्या हेर्ने पार्टी (एमाले) को एकल बहुमतको सरकार नभई देशलाई स्थायी ढंगले बढाउन सकिँदैन’, हरेक भाषणमा ओलीले भनिरहेका छन् ।
गत वर्षको चुनावमा अपेक्षित नतिजा नआएकाले अर्को चुनाव (२०८४ को आमचुनाव) केन्द्रित अभियानकै निरन्तरतामा संकल्प यात्रा निस्किएकाले अध्यक्ष ओलीको अभिव्यक्ति र निष्कर्ष स्वभाविक/राजनीतिक नै हो ।
तर १४ मंसिरमा झुलाघाट पुग्नुअघि एमालेका अरू नेताहरुले गरेको तर्क अनुसार भने यात्राको उद्देश्य एमालेबारे जनतालाई बुझाउनु मात्रै होइन । व्यवस्था र संविधानविरोधी गतिविधिलाई निरुत्साहित गर्नु, राष्ट्रिय एकता थप मजबुत बनाउन, नागरिक निराशालाई उत्साहमा बदल्नु र पहाडी क्षेत्रको विकासमा जोड दिनु यात्राको उद्देश्य हो ।
गत वर्ष सम्पन्न चुनावको नतिजा हेर्दा पनि एमालेको मत बढाउनुलाई मात्रै चाहिँ मध्यपहाडी क्षेत्रमा एमालेले यति धेरै दुःख गर्नु आवश्यक देखिँदैन । किनकि एमाले हिँडेको मध्यपहाडी लोकमार्गले छुने जिल्लाहरुमा एमालेको जग बलियो छ ।

पाँच दलीय गठबन्धनबाट साझा उम्मेदवार हुँदा एमालेले प्रत्यक्षतर्फ राम्रो नतिजा ल्याउन नसकेपनि झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको २५ मध्ये १६ जिल्लामा एमाले पहिलो शक्ति हो । समानुपातिक तर्फको मतलाई आधार मान्दा मध्यपहाडी लोकमार्ग रहेको कोशीका सबै जिल्लामा (पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा र उदयपुर) एमाले पहिलो शक्ति हो ।
सिन्धुली, सिन्धुपाल्चोक, धादिङ र काभ्रेसहित बागमती पश्चिमका लमजुङ, कास्की, पर्वत, दैलेख र बैतडीमा एमाले पहिलो छ । नुवाकोट, बाग्लुङ, जाजरकोट, अछाम, डोटी र डडेलधुरा गरी ६ जिल्लामा कांग्रेस र तीन जिल्ला (गोरखा, पूर्वी रुकुम र पश्चिम रुकुम) मा माओवादी केन्द्र पहिलो छ ।
प्रत्यक्षतर्फ भने यो क्षेत्रमा एमालेले ३६ मध्ये १० सिट जितेको छ । नयाँ राजनीतिक शक्ति र स्वतन्त्रहरुको प्रभाव कमजोर रहेको यी क्षेत्रमा गठबन्धनविरुद्ध एमालेले जित्नु सजिलो थिएन । त्यसैले यो यात्रालाई आफ्नो आधार क्षेत्र सुरक्षित गर्ने उद्देश्यका रुपमा पनि व्याख्या गर्न सकिन्छ ।
किनकि शहरी क्षेत्रमा नयाँ दलहरुप्रति आकर्षण देखिएको छ । गत चुनावकै नतिजाले पनि राजधानीसहित झापा, मोरङ, चितवन जस्ता शहरी क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अप्रत्यासित मत पाएको छ । मधेशमा जनमत पार्टी र पश्चिम तराईमा नागरिक उन्मुक्ति पार्टीको आकर्षण छ ।
‘मत बढाउन यति दुःख गर्नै पर्दैन । मध्यपहाड हाम्रो बलियो संगठन भएकै क्षेत्र हो’ यात्रामा रहेका एक नेता भन्छन्, ‘हामीले दिने सन्देश रित्तिदै गएको पहाडमा जीवन भर्ने हो, युवाहरुलाई गाउँ फर्काउने हो । भाषण सुनेर मात्रै यात्राको मूल्यांकन गर्नु हुँदैन ।’
गुमेको वैभव
पोलिटब्यूरो सदस्य विशाल भट्टराई पनि पहाडी क्षेत्रको मुख्य समस्या नै निरन्तर घट्दो जनसंख्या भएकाले संकल्प यात्रा अर्थपूर्ण रहेको बताउँछन् । ‘पहाडमा केही हुँदैन, देशमै केही हुँदैन भन्ने भाष्य स्थापित गर्न खोजिँदैछ । तर पहाडमा थुप्रै कुरा गर्न सकिन्छ, समृद्धि संभव छ’, उनी भन्छन् ।
जनमत बलियो रहेको क्षेत्रबारे एमाले नेताहरुले चिन्तासहित संकल्प यात्रा गरेपनि पहाडी क्षेत्रको बदलिदो चित्रबारे भने धेरैको बुझाइमा समानता देखिन्छ । विशेषगरी पहाडको वैभव उजाडिएकोमा उनीहरु चिन्तित छन् ।
हुनपनि २०६४ सालको पहिलो संविधानसभा चुनाव बाहेक सधैं कांग्रेस–एमाले प्रतिस्पर्धी रहने पहाडको वैभव यति बलशाली थियो कि त्यसबारे बुझ्न नेपाल एकीकरणसम्मै पुग्नुपर्छ । गोरखाका राजा पृथ्वीनारायण शाहले थालेको एकीकरण अभियानदेखि निरन्तर पहाडले मुलुकको नेतृत्व गर्दै आएको छ ।
छिमेक भारतसहित दक्षिणी तराई–मधेशसम्म उपनिवेश चलाएका ब्रिटिस शासकविरुद्ध पहाडी भू–भागकै साहरामा सशस्त्र संघर्ष चलेको वृतान्त इतिहासका अनेक पुस्तकमा उल्लेख छ ।
राजा–राणा शासन अवधिमा मुलुकको चिनारी, संस्कृति र शासन प्रणाली पहाड आधारित नै भयो । राणा–राजाविरुद्ध विद्रोहको नेतृत्व गर्ने अधिकांश नेता पहाडकै थिए । प्रजातन्त्रका निम्ति प्राणको आहुती दिने दशरथ चन्द बैतडी र गंगालाल श्रेष्ठ रामेछामका थिए । अरु दुई शहीद शुक्रराज शास्त्री र धर्मभक्त माथेमा काठमाडौंका थिए । चार शहीदसँगै विद्रोहमा लागेका टंकप्रसाद आचार्य नवलपरासीका थिए ।
जहानीया राणा शासन अन्त्य गर्ने विद्रोहको नेतृत्व शक्ति नेपाली कांग्रेसका संस्थापक बीपी कोइराला र उनका दुई दाजुभाइ (माृतका र गिरिजा) का पुर्खौली सिन्धुली थियो । राणाशासनविरुद्ध सशस्त्र विद्रोहको नेतृत्व गर्ने थीरबम मल्ल, केआई सिंह, जीबी याक्थुम्बा, नारदमुनि थुलुङ, रामप्रसाद राईहरु पहाडकै थिए ।
कांग्रेसको स्वतन्त्रता आन्दोलनले नपुग्ने भनेर समानताको सपनासहित कम्युनिष्ट पार्टी स्थापना गर्ने पुष्पलाल रामेछामका थिए । २०२८ को झापा विद्रोह अथवा २०५२ सालदेखि दश वर्ष चलेको माओवादी सशस्त्र विद्रोहको नेतृत्व पंक्तिमा पहाडी नेताहरू थिए । प्रचण्ड–बाबुराम सहितको नेतृत्वमा चलेको माओवादी विद्रोहको आधारक्षेत्र रुकुम, रोल्पा, गोरखा जस्ता पहाडी र उच्च पहाडी जिल्ला थियो ।

यसरी ठूला विद्रोह र शासनको आधार क्षेत्र पहाड थियो । पहाडको शासन शासनले अन्यायमा परेको भनेर वेदानन्द झा, गजेन्द्रनारायण सिंह र उपेन्द्र यादवहरुले पटकपटक मधेश आन्दोलन गर्नु परेको छ । कतिसम्म भने बहुदलीय लोकतान्त्रिक शासन प्रणालीमा समेत पहाडकै नेताहरुले तराई–मधेश झरेर चुनाव जितेका छन् । सबैतिरबाट पहाडी पृष्ठभूमिकै व्यक्तिहरु मुलुकको शासन सत्तामा रहने र तदनुरुपकै प्रशासनिक संरचना पनि निर्माण गरिदा क्षेत्रीय विभेदको आवाज मधेशबाट उठेको थियो ।
तर तिनै पहाडको जनसंख्या, अर्थतन्त्र र सामाजिक अवस्थिति अहिले नाजुक र निराशाजनक छ ।
अहिले पहाडी क्षेत्रको अवस्था कुन हालतमा पुगेको छ भन्ने बुझ्न जनगणना प्रतिवेदन–२०७८ पर्याप्त छ । यो प्रतिवेदन अनुसार, पहाड छोड्नेहरुको संख्या डरलाग्दो छ । १७ प्रतिशत मात्रै भूगोल ओगट्ने तराई–मधेशमा बस्ने जनसंख्या ५३.६१ प्रतिशत पुगेको छ । जनगणना–२०६८ भन्दा यो तीन प्रतिशतले बढी हो ।
२०६८ को जनगणनाले ६८ प्रतिशत भूगोलमा फैलिएको पहाड क्षेत्रमा ४३.०१ प्रतिशत मानिस बस्ने देखाएको थियो । तर दश वर्षको अवधिमा पहाडको जनसंख्या घटेर ४०.३१ प्रतिशत छ । तुलनात्मक रुपमा हिमाली क्षेत्रको जनसंख्या स्थीर देखिएको छ ।
जनगणना–२०६८ मा ६.७३ प्रतिशत रहेको हिमाली क्षेत्रको जनसंख्या दश वर्षपछि ६.०८ प्रतिशत छ । अर्थात् तराईमा बढेको जनसंख्या त्यहाँको बृद्धिदरका कारणले मात्रै नभएर पहाडमा झरेका हुन् ।
बसाइँ–सराइ सम्बन्धी सार्वजनिक तथ्यले पनि त्यस्तो अनुमान पुष्टि हुन्छ । जनगणना–२०७८ अनुसार, बितेको दश वर्षमा एक जिल्लाबाट अर्को जिल्ला बसाई सर्ने जनसंख्या ३.१ प्रतिशत छ । त्यो भनेको पहाड छोडेर तराई अथवा शहरी क्षेत्र (विदेश समेत) रहेको बुझ्न सकिन्छ ।
यसरी पहाडको जनसंख्या त्यहाँका नागरिक र राजनीतिक नेतृत्वले अनुभव गर्नेगरी घट्दै जानुमा भने रोजगारी, सुविधा र अवसरको खोजी मुख्य कारण हुन् । जनगणनाकै प्रतिवेदनले पनि बसाइँ सर्नुको कारण रोजगारीको अवसर भन्ने जनसंख्या ३०.६ प्रतिशत रहेको देखाउँछ । त्यसबाहेक प्रकोप, अध्ययन, ब्यावसाय, विवाह लगायत कारणले पनि पहाडको आकर्षण थप कमजोर बन्दै गएको छ ।
बसाइँ–सराइसम्बन्धी अर्को तथ्यले पनि नागरिकहरु सुविधाको खोजीमा ठाउँ छोडिरेहेको पुष्टि हुन्छ । तथ्याङ्क अनुसार, बितेको दश वर्षमा १०.८ प्रतिशत मानिस एउटा पालिकाबाट अर्कोमा सरेका छन् । अर्थात् नयाँ बजारका रुपमा विकास भएका ठाउँ नागरिकको रोजाइ छ ।
अर्कातिर देशकै समस्या बनिरहेको विदेश जाने समस्याले पनि पहाडलाई नै धेरै पिरोलेको छ । सरकारी प्रतिवेदनहरुका अनुसार, कुल जनसंख्याको अनुपातमा पहाडबाट धेरै मानिस विदेश गएका छन् ।
जनगणनाकै प्रतिवेदन अनुसार, पहाडबाट विदेश जाने संख्या ९ लाख ९० हजार बढी छ । यो भनेको विदेश जाने कुल संख्याको ४५.२३ प्रतिशत हो । अर्थात् तराई र हिमाली क्षेत्र भन्दा यो उच्च संख्या हो । ‘मुख्य कुरा मान्छे नै हो । तर देखिने गरी पहाडमा विकास भएको पनि छ । तर त्यसैलाई कारण देखाएर मान्छेहरुले पहाड छोडिरहेका छन्’, पोलिटब्यूरो सदस्य भट्टराई भन्छन् ।
एमालेले संकल्प अभियान सञ्चालन गरेको मध्यपहाडी लोकमार्गमा पर्ने जिल्लाहरु त अधिकांश ऋणात्मक जनसंख्याको अवस्थामा छन् । जनसंख्या बृद्धिदर बढी ऋणात्मक रहेको रामेछाम (–१.६७ प्रतिशत), खोटाङ (–१.५६ प्रतिशत), मनाङ (–१.३९ प्रतिशत), भोजपुर (–१.३९ प्रतिशत) र तेह्रथुम (–१.३० प्रतिशत) मध्ये मनाङ बाहेक अरुमा एमाले अभियान पुग्दैछ ।
मध्य पहाडी लोकमार्गमा पर्ने बैतडी, अछाम, सिन्धुपाल्चोक, धनकुटा, गोरखा, बाग्लुङ, लमजुङ, कास्की, ओखलढुंगा, काभ्रे, दैलेख, डोटी, धादिङ, डडेलधुरा र पर्वतको जनसंख्या बृद्धिदर ऋणात्मक छ । यो लोकमार्गमा पर्ने सुर्खेत, कास्की, मकवानपुर, पश्चिम रुकुम, पूर्वी रुकुम, जाजरकोट र सिन्धुली मात्रै जनसंख्या बृद्धिदर सकारात्मक रहेको जिल्ला हो ।
संयोग, एमालेले संकल्प यात्रा सुरु गरेको बैतडी र सकिने पाँचथर दुवैको जनसांख्यिक प्रतिवेदन निराशाजनक छ । बैतडीको जनसंख्या बृद्धिदर –०.३४ प्रतिशत भने पाँचथरको जनसंख्या –१.०२ प्रतिशत छ । तर यी दुवै जिल्लामा एमालेले जितेको छ ।
यही मध्यपहाडको निराशाजनक तथ्य बदल्ने समेत उद्देश्य लिएर एमालेले यसपटक हिँडेको रुटको निर्माण थालनी भने १६ वर्ष अगाडि भएको थियो । आर्थिक वर्ष २०६४/०६५ सालदेखि सुरु भएको १८७९ किलोमिटर यो लोकमार्गको उद्देश्य नै पहाडको समृद्धि हो । लोकमार्ग केन्द्रित १० वटा आधुनिक शहर निर्माण गर्ने लक्ष्य लिएको सरकारले लगभग ६० वटा बजार (नयाँ/पुराना) को प्रवद्र्धन गर्ने भनिरहेको छ ।
तर धेरैजसो समय सरकारमै रहेको एमालेले अभियानका क्रममा फेरिपनि आफ्नो नेतृत्वमा सरकार नबने यो मध्यपहाडी लोकमार्गमा समृद्धि नआउने सन्देश दिएको छ ।
तस्वीरहरु : फेसबुक पेज बालकोटबाट
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4