२७ मंसिर, काठमाडौं । नवलपरासीका हिमाल थापा मगर काठमाडौंको गार्मेन्ट उद्योगमा काम गर्थे । आफ्नो काम र कमाइबाट सन्तुष्ट नभएका उनले दिदी नाता पर्ने एक जना आफन्तसँग बरु विदेश जान पाए हुने भनेका थिए ।
दिदीले उनलाई नवलपरासीकै समीर आले मगरसँग भेट गराइदिइन् । आलेले पोर्चुगलमा डेलिभरी ब्वायमा मासिक १ लाख १६ हजार रुपैयाँसम्म कमाइ हुने तर जानका लागि १२ लाख रुपैयाँ लाग्ने सुनाए । ‘यहाँ जति दुःख गरे पनि कमाइ उस्तै’, थापाले अनलाइनखबरसँग पुरानो कुरा सम्झिए, ‘राम्रो ठाउँमा राम्रै कमाइ होला भनेर विश्वासमा परेँ ।’
त्यसपछि हिमालले समीरलाई सुरुमा ४ लाख रुपैयाँ बुझाए । समीरले युनाइटेड अरब इमिरेट्स (युएई) को दुबई हुँदै पोर्चुगल पठाउने बताएका थिए ।
‘पैसा लिएपछि आज भोलि भन्दै झुलाइरह्यो’ उनले भने, ‘हप्तादिनमै उडाइदिन्छु भनेको उसले दुई महिना बित्दा पनि पठाउन सकेन ।’ त्यसपछि आले एकाएक सम्पर्कविहीन भए ।
समीरले त उनीजस्तै अरु ८ जनासँग ४÷४ लाख रुपैयाँ लिएर भागेछन् । उनीहरु सबैले समीरविरुद्ध उजुरी दिए पनि उनी फेला परेका छैनन् ।
काठमाडौंका जोनसन श्रेष्ठ पनि यसैगरी ठगीमा परे । रोल्पाको गंगादेव गाउँपालिका– ३ घर भएका ३९ वर्ष निमराज डाँगीले पोल्याण्डमा मासिक १ लाख २० हजार रुपैयाँ कमाइ हुने भनेपछि श्रेष्ठले विश्वास गरिहाले ।
उनले पटक पटक गरी १० लाख रुपैयाँ बुझाए । तर महिना दिन बितेपछि डाँगीले आज भोलि भन्दै उडान मिति सार्दै गए । त्यसपछि श्रेष्ठको फोन उठाउन छाडेका डाँगी पछि त सम्पर्कविहीन नै भए ।
लामो समय डाँगी सम्पर्कमा नआएपछि श्रेष्ठले बल्ल आफू ठगीमा परेको थाहा पाए र प्रहरीमा उजुरी दिए । १० मंसिरमा प्रहरीले डाँगीलाई काठमाडौंको गोंगबुबाट पक्राउ गरेको छ ।
सिन्धुपाल्चोकका ४४ वर्षका राजकुमार तामाङले पोर्चुगलमा मासिक १ लाख रुपैयाँ कमाइ हुने भनेपछि लंकबहादुर शाही उनले मागेजति १० लाख रुपैयाँ बुझाउन तयार भए । तामाङलाई एक लाख रुपैयाँ बुझाएर शाही बाँकी पैसा जुटाउनतिर लागे ।
तर पैसा बुझेपछि तामाङ सम्पर्कविहीन भए । लामो समयसम्म पनि सम्पर्कविहीन भएपछि शाहीले प्रहरीमा उजुरी लिएर पुगे । गत मंसिर ११ गतेमात्रै प्रहरीले तामाङलाई पक्राउ गरेको छ ।
प्रहरीमा वैदेशिक रोजगारी ठगीका उजुरीहरु बढ्दो क्रममा छ । प्रहरीमा आएका उजुरी हेर्दा वैदेशिक रोजगारीमा पठाइदिने नाममा हिजोआज व्यक्तिले नै पैसा बुझ्ने र ठगी गर्ने क्रम बढेको देखिएको छ ।
पोर्चुगल, पोल्याण्ड, रोमानिया, माल्टा, क्रोएसिया, क्यानाडा जस्ता देशमा पठाउने भन्दै व्यक्तिले ठगी गर्ने क्रम बढेको प्रहरीको भनाइ छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको तथ्यांक अनुसार पछिल्लो तीन वर्षमा मात्र वैदेशिक रोजगारी ठगीका ५१८ वटा उजुरी परेका छन् । तीमध्ये १८६ जना पक्राउ परेका छन् ।
कतिपय पीडित प्रहरीमा नगई सिधै वैदेशिक रोजगार विभागमा पनि पुगेर उजुरी दिएका छन् ।
अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मी पछिल्लो समय नयाँ मुलुकमा पठाउने भन्दै व्यक्तिले ठगी गर्ने क्रम बढेको छ । ‘पहिले खाडी मुलुकहरुमा म्यावनपारले ठगेका घटना आउँथे’ उनी भन्छन्, ‘अहिले युरोपका मुलुक पठाइदिने भन्दै व्यक्तिले गरेका ठगीका घटनाहरु बढेका छन् ।’
नयाँ गन्तव्यमा आकर्षक कमाइ हुने प्रलोभन देखाउने र ठूलो रकम लिने गरेको पाइएको रेग्मीको भनाइ छ । ‘विशेष गरी पूर्वी युरोपका मुलुकहरुमा राम्रो कमाइ हुने लोभ देखाइन्छ’, उनले भने, ‘पैसा दिनेहरु पनि मागे जति दिन तयार हुन्छन् ।’ ती देशमा जान एकै जनाले १० देखि ३० लाख रुपैयाँसम्म तिर्न तयार भएको पाइएको पनि एसपी रेग्मी बताउँछन् ।
ठगीका घटना विश्लेषण गर्दा अधिकांश ठगी सामाजिक सञ्जालका माध्यमबाट भएका छन् । ‘सामाजिक सञ्जालमा विज्ञापन राख्ने र अनलाइनबाट सम्पर्क गरेर ठगी हुने घटना धेरै छन्’ उनले भने, ‘धेरैजसो मान्छेहरु त्यसरी पनि फसिरहेका छन् ।’
नेपाल वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष राजेन्द्र भण्डारीले अहिले नयाँ गन्तव्यतिर आर्कषण बढेकाले ठगी गर्ने गिरोह पनि सलबलाएको बताउँछन् ।
‘सरकारले श्रमका लागि नयाँ गन्तव्यहरुमा बाटो खुला नगर्दा ठगी गर्ने गिरोहले फाइदा लिइरहेका छन्’ उनले भने, ‘९५ प्रतिशत भन्दा बढी ठगीका घटना वैदेशिक रोजगार व्यवसायी भन्दा बाहिरबाट भएको छ ।’ यस विषयमा सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4