 
																			२७ मंसिर, काठमाडौं । करिब एक वर्षपछि बसेको नेपाली कांग्रेसको शेखर कोइराला–गगन थापा पक्षको बैठकमा नेताहरुले समूहको एकतालाई लिएर चिन्ता गरेका छन् ।
समूह एक ढिक्का नहुँदा सभापति शेरबहादुर देउवाका कदममा प्रतिवाद कमजोर भएको नेताहरुको निष्कर्ष छ । बुधबार काठमाडौंमा राखिएको बैठकमा शेखर–गगन पक्षका पदाधिकारी, केन्द्रीय सदस्य, सांसद, प्रदेश सभापति र १४ औं महाधिवेशनमा विभिन्न पदमा उम्मेदवारी दिएका नेताहरु सहभागी थिए । बैठकमा बोल्ने नेताहरुले समूहभित्रको एकतामाथि चिन्ता व्यक्त गरेका थिए ।
यो बैठक नेता शेखर कोइरालाले मंगलबारकै दिन राखेका थिए । तर परामर्श नगरी एकतर्फी बैठक बोलाइएको भन्दै महामन्त्री गगन थापा रुष्ट भएपछि बुधबारका लागि सारिएको थियो । बैठक प्रारम्भ गर्दै नेता डा. शेखर कोइरालाले गगन र आफूबीच एजेण्डामा मतान्तर नभएको स्पष्टिकरण दिएका थिए ।
समूहका नेताहरुलाई बाहिरका हल्लाको पछि नलाग्न उनले सुझाएका थिए । बैठकमा बोलेकै विषय उनले पत्रकारसँग पनि दोहोर्याए । ‘एजेण्डामा महामन्त्रीजी र मेरोमा एकइन्च पनि फरक छैन, उहाँको उमेर, मेरो उमेर फरक छ । उहाँको सोचाइ, मेरो सोचाइ फरक छ’ उनले भने, ‘उहाँको स्टाइल अफ फङ्सनिङ (काम गर्ने तरिका) र मेरो स्टाइल अफ फङ्सनिङ फरक छ, तर एजेण्डामा फरक छैन ।’
समूहमा संवादको कमी भएको शेखर–गगन दुबैले स्वीकारेका छन् । महामन्त्री थापाले संवाद कम भएकाले असमझदारी बढ्न गएको धारणा राखे । ‘कतिपय विषयमा फरक फरक मत हुन्छन् । कम छलफल गर्दा असमझदारी भएको हो । मूलभूत रुपमा हामी सबै एक ठाउँमा छौं’, बैठकपछि पत्रकारहरुसँग थापाले भने ।
नेता भूपेन्द्रजंग शाहीले सभापति शेरबहादुर देउवालाई विधि अनुसार नचलेको आरोप लगाइरहँदा आफ्नै समूहतिर पनि प्रश्न उठेको बताए । शेखर–गगनलाई उनले प्रश्न गरे, ‘२/२ महिनामा केन्द्रीय समितिको बैठक बस्न नसक्दा देउवाले विधान अनुसार काम गरेनन् भन्छौं । हामी चाहिं बैठक बस्न किन सक्दैनौं ।’
महासमिति बैठक सार्न पाइन्न
शेखर गगन पक्षका नेताहरुले महासमिति बैठक तोकिएकै मिति १६ देखि १९ पुससम्ममा गर्नुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा भेला आयोजना गरेका उनीहरुले जाडो मौसमको बहाना बनाएर महासमिति बैठक सार्न नपाइने बताएका हुन् ।
कांग्रेसले महासमिति बैठक १६ देखि १९ पुसम्म हुने तोकिसकेको छ । तर पछिल्लो समय संस्थापन पक्षले चिसो मौसमको कारण देखाएर सार्न खोजेको चर्चा चलेको छ । शेखर पक्षका नेता जगदिश्वर नरसिंह केसीले भने, ‘ठण्डा हुन्छ, जाडो हुन्छ, हिउँ पर्छ भन्ने कुरा निर्णय गर्ने बेलामा पनि थाहा थियो, कि त्यही बेलामा फागुनमा पुर्याएको भए हुन्थ्यो । अहिले सार्न पाइँदैन, तोकिएकै समयमा हुनुपर्छ ।’

राष्ट्रियसभा चुनावको उम्मेदवार
नेताहरुले ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनको उम्मेदवार चयनमा पनि सभापति देउवालाई खबरदारी गर्नुपर्ने बताए । पटक पटक चुनाव जितेका शीर्ष नेताहरुसमेत राष्ट्रियसभा चुनावमा उम्मेदवारको आकांक्षीका रुपमा चर्चा भएको भन्दै उनीहरुले अहिलेसम्म अवसर नपाएका व्यक्तिलाई राष्ट्रियसभामा लैजानुपर्ने बताए ।
महामन्त्री गगन थापाले गत वर्ष भएका निर्वाचनमा उम्मेदवार छनोट कुनै मापदण्डमा आधारित नहुँदा अन्यायपूर्ण र विभेदपूर्ण भएको भन्दै ११ माघको राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार छनोट निश्चित मापदण्डका आधारमा बनाउनुपर्ने बताए ।
यसपटक अगाडिको चुनावमा मौका नपाएका व्यक्तिलाई राष्ट्रियसभामा उम्मेदवार बनाउनुपर्ने र न्यायपूर्ण पनि हुनुपर्ने थापाले बताए । ‘सभापति सिंगो कांग्रेसको बन्न सक्नुहुन्छ कि सक्नुहुन्न ? सभापतिलाई सिंगो कांग्रेसको सभापति बनाउने हो, त्यसका लागि हामीले यहाँलाई दबाब दिनुपर्छ’ उनले भने ।
नेता गुरुराज घिमिरेले पटक पटक अवसर पाएका र निर्वाचनमा पराजित भएकालाई राष्ट्रिय सभामा उम्मेदवार बनाउन नहुने बताए । केन्द्रीय सदस्यद्वय अर्जुननरसिंह केसी र डा. गोविन्दराज पोखरेलले सुशासनका मुद्दालाई प्राथमिकताका साथ उठाएका थिए । उनीहरुले शेखर–गगन समूहले सुशासनका मुद्दामा अरु भन्दा अघि बढेर बोल्नुपर्ने धारणा राखेका थिए ।
मुख्यमन्त्रीको अभिव्यक्तिको विरोध
शेखर–गगन पक्षको बैठकमा कोशीका मुख्यमन्त्री केदार कार्कीले दिएको अभिव्यक्तिको नेताहरुले आलोचना गरेका थिए । गत हप्ता पार्टीको ओखलढुंगा जिल्ला अधिवेशनमा मुख्यमन्त्री कार्कीले पार्टीकै नेताहरुलाई आफू मुख्यमन्त्री भएको चित्त नबुझेको धारणा राखेका थिए । उनले महामन्त्रीहरुमा परिपक्वता नदेखिएको टिप्पणी गरेका थिए ।
कार्कीको आलोचना गर्दै नेता गुरुराज घिमिरेले बैठकमा भने, ‘आफू मुख्यमन्त्री भएको दुई महिनासम्म मन्त्रिपरिषद बनाउन नसक्ने ? हामीलाई सुशासन सिकाउन सुहाउँछ ? मुख्यमन्त्री बनाएको महामन्त्रीलाई गाली गर्न हो ?’
केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले नेता शेखर कोइराला उपस्थित कार्यक्रममा मुमख्यमन्त्री कार्कीले दिएको अभिव्यक्ति गम्भीर भएको बताएका थिए ।
नेताहरुले संसदीय दलको नेताका लागि भएको चुनावको पनि शेखर गगन पक्षको चुनावमा समीक्षा हुनुपर्ने धारणा राखेका थिए । सांसद सुनिल शर्माले संसदीय दलको नेतामा गगन थापाले पाएको मत कम भएको भन्दै यसमा सबैभन्दा बढी जिम्मेवारी शेखर कोइरालाको भएको बताएका थिए ।
‘७० प्रतिशत शेखर दाइले जिम्मेवारी लिनुपर्छ । २० प्रतिशत गगनजीले जिम्मेवारी लिनुपर्दछ । अरु दश प्रतिशत हामी सांसदले जिम्मेवार हौं’, उनले भने ।
बैठकमा महामन्त्री थापाले संसदीय दलको नेता परिवर्तन गर्न प्रयास गर्नुपर्ने बताए । संसदीय दलको नेता परिवर्तन गर्न नसके २०८२ सालमा १५ औं महाधिवेशन हुन नसक्ने र त्यसले २०८४ को चुनाव प्रभावित हुन सक्ने उनको विश्लेषण छ ।
‘हामी एकतावद्ध भएर संसदीय दलको नेता फेर्न लागौं, देउवा नै प्रधानमन्त्री हुने अवस्था भयो भने २०८२ मा महाधिवेशन हुन सक्दैन’, महामन्त्री थापाको भनाइ उधृत गर्दै सहभागी एक नेताले भने, ‘समूह एकताबद्ध बनाएर देउवासँग भिडौं, हाम्रो समूहमा नभिडौं ।’
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4