+
+

तिलोत्तमामा एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको काम पूरा

फागुन पहिलो हप्ता राष्ट्रियस्तरका टुर्नामेन्ट गर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २८ गते १८:४६

२८ मंसिर, बुटवल । रुपन्देहीको तिलोत्तमामा निजी क्षेत्रको लगानीमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानको पहिलो चरणको काम पूरा भएको छ ।

एक्स्ट्राटेक ओभल प्रालिको लगानीमा तिलोत्तमा नगरपालिका वडा नं. १७  पूर्व दरखसवामा गत जेठ २९ गते रंगशालाको शिलान्याश भएको थियो । शिलान्यास भएको ६ महिनामै खेल मैदान निर्माणको काम पूरा भएको हो ।

जेठमा शिलान्याश भएपनि वर्षा यामका कारण असोज तेस्रो साताबाट काम सुरू भएको थियो । काम शुरु भएको दुई महिनामै करिब ५ बिघा मैदानमा ३ हजार टिप्पर माटो हालेर मैदान सम्याई पीच र दुबो लगाउने काम समेत सम्पन्न भएको प्रालिका प्रबन्ध निर्देशक विनोद कुँवरले बताए । मैदानको वरिपरि पक्की नाली निर्माण र तार जाली लगाउने काम पनि सम्पन्न भएको कुंवरले बताए ।

यही हप्ता साइड स्क्रिनको काम सकिने र फागुन १ गतेबाट मैदानमा राष्ट्रियस्तरका टुर्नामेन्ट आयोजना गर्न सकिने प्रबन्ध निर्देशक कुंवरले बताए ।

‘२०८१ बैसाख १ गते खेल मैदान उद्घाटन गर्ने लक्ष्य थियो तर दुई महिना अगाडि नै काम पूरा भई फागुनमा खेल खेलाउन सक्ने भयौं,’ कुंवरले भने, ‘रंगशाला शिलान्याश हुंदा कतिपयलाई बन्छ भन्ने विश्वास थिएन, त्यसलाई विश्वासमा बदल्न पनि दिनरात नभनी काम ग¥यौं र सफल भयौं ।’

अष्ट्रेलियामा व्यवसाय गर्दै आएका विनोद र उनकी पत्नी सुदिक्षाको कूल ६० करोड लागतमा  ५ बिघा क्षेत्रफलमा रंगशाला बन्दैछ । जग्गा वाहेक रंगशालाका पुर्वाधार निर्माणमा ४० करोड खर्च हुने कुंवरले बताए ।

पहिलो वर्ष  पाँच हजार जना दर्शक क्षमताको प्यारापिट निर्माण हुने र हरेक वर्ष ५ हजार जना क्षमताको थप्दै ५ वर्षमा २५ हजार दर्शक अटाउने प्यारापिट निर्माण गरिने कुंवरले बताए । रंगशाला बनाउने एउटा पाटो हो तर हाम्रो मुख्य उद्देश्य एकेडेमीबाट डिप्लोमा इन क्रिकेट कोर्ष पढाएर अन्तर्राष्ट्रियस्तरमा खेल्ने नेपाली खेलाडी उत्पादन गर्ने हो ‘कुंवरले भने–‘डिप्लोमा तहको क्रिकेटको पढाइ सुरू गर्न आवश्यक कानुनी व्यवस्था मिलाइदिन सरकारसंग  हाम्रो विशेष आग्रह छ ।’

माघबाट  दोस्रो चरणका काम अन्तर्गत पेभेलियन,चेन्जिङ रुम, क्यान्टिन र टेक्निकल टिमका लागि रुमहरु निर्माणको काम शुरु गर्ने योजना रहेको रंगशालाका ब्राण्ड एम्बेसडर शक्ति गौचनले बताए ।

चैतबाट प्रशिक्षण गराउने सानो मैदानको काम शुरु हुने गौचनले बताए । त्यस लगत्तै मिडिया सेन्टरको काम हुने उनले बताए ।

यो क्रिकेट रंगशलामा होस्टलसहितको एकेडेमी र ट्रेनिङ सेन्टर पनि बन्ने छ । उक्त एकेडेमी र सेन्टरको जिम्मेवारी शक्ति गौचनलाई दिएकोछ । रंगशाला कम्पाउन्डमा चार तलाको भवन बनाई एक सय ५० जनालाई एकेडेमीमा राखेर प्रशिक्षण दिइने छ ।

यूएईमा लामो समय बसेर अवुधावीको शेख जायेद अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा क्युरेटरको जिम्मेवारी लिएका माधव पाठकले एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको क्युरेटरको भुमिकामा छन् ।

क्रिकेट मैदान निर्माणको हालसम्मको प्रगति जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले निजी लगानीमा बनेपनि यो रंगशाला प्रदेशकै सम्पत्ति भएको बताए ।

उनले माघ मसान्त सम्म मैदान तयार भएमा फागुनमा प्रदेश खेलकुद परिषदले प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता यही मैदानमा आयोजना गर्ने प्रतिवद्धता जनाए । सो अवसरमा नेपाल क्रिकेट संघ क्यानका पुर्व कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल, क्रिकेट संघ रुपन्देहीका अध्यक्ष हरि थापा लगायतले एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको निर्माणले रुपन्देहीमा क्रिकेट खेलाडी उत्पादन, राष्ट्रिय–अन्तराष्ट्रिय प्रतियोगिता सञ्चालनमार्फत आर्थिक विकास र पर्यटनमा ठूलो योगदान पुग्ने औंल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?