+
+

आईपीओमा १० कित्ते नीति हटाउने बेला भएकै छैन

डा‍. रेवतबहादुर कार्की डा‍. रेवतबहादुर कार्की
२०८० मंसिर २९ गते १८:२०

२०७५ चैतमा धितोपत्र बोर्डको नेतृत्वमा रहँदा मेरै पहलमा प्राथमिक सेयर (आईपीओ)मा १० कित्ता दिने नीति अवलम्बन गरिएको हो । सेयर लगानीकर्ताको संख्या बढोस्, पूँजी बजारमा धेरैको पहुँच विस्तार होस् भन्ने असल उद्देश्यले यो काम थालिएको थियो ।

त्यसअघि धेरै विकृतिहरु थिए । ठूला लगानीकर्ताले धेरै पाउने, सानाले थोरै पाउने अवस्था थियो । जस्तैः ५०० कित्ताका लागि आवेदन दिनेले ३० कित्ता पाउँथ्यो भने १०० कित्ता दिनेले १० वा २० कित्ता पाउँथ्यो । एउटा फर्मुला सेट गरिन्थ्यो, त्यो फर्मुलामा रहेर बाँडफाँट हुन्थ्यो । विभिन्न विकृतिमध्ये यो बाँडफाँटमा पनि विकृति देखियो । आफ्नो सर्कलका मान्छेले जुन रकममा आवेदन दिएका छन्, तिनीहरुलाई धेरै पर्नेगरी फर्मुला सेट गरी बाँडफाँट गरिँदोरहेछ ।

यी विकृति हटाउने र लगानीकर्ताको संख्या उल्लेख्य बढाउने उद्देश्य लिएर साना पूँजीलाई पनि ठूलोसरह नै समेट्ने लक्ष्य लियौं । त्यहीं लक्ष्यअनुसार प्रस्ताव तयार गर्न भनियो र निर्देशिकामा समेट्यौं । अहिले धितोपत्र बाँडफाँट निर्देशिकाअनुसार पुगेसम्म सबैलाई १० कित्ताका दरले बाँडफाँट गर्नुपर्दछ ।

गाउँमा खेती गर्ने, गृहिणीहरु, विद्यार्थीले पनि अहिले आईपीओ भरेर लाभ लिन पाएका छन् ।

सबैलाई १० कित्ता नपुग्ने भए गोलाप्रथाबाट पुग्नेलाई १० कित्ता दिइन्छ । यदि धेरै पुग्ने भएमा थप १० कित्ताका दरले सबैलाई समान रुपमा दिनुपर्ने व्यवस्था छ । त्यहीं १० कित्ता पनि धेरैले नपाउने अवस्था छ ।

यद्यपि केही कम्पनीहरु नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक (निफ्रा), जलविद्युत् लगानी तथा विकास कम्पनी, माथिल्लो तामाकोसी जस्ता कम्पनीमा त सबैले आईपीओ पाए । केहीले त २०/३० कित्ता पनि पाए । १० कित्तेका कारण धेरै सर्वसाधारणले लाभ लिइरहेका छन् भने छरिएको पूँजी पनि संकलन भएको छ । त्यसकारण अहिले नै १० कित्ते व्यवस्था परिमार्जन गर्ने बेला भएको छैन ।

१० कित्ताको व्यवस्था सुरु गर्दा पनि मर्चेन्ट बैंकहरु र ठूला लगानीकर्ताले यो व्यवस्था फिर्ता लिन दवाव दिएका थिए ।

१० कित्ताको नीति सफल देखियो । अहिले गाउँगाउँमा पूँजी बजारको पहुँच पुगेको छ । गाउँमा खेती गर्ने, गृहिणीहरु, विद्यार्थीले पनि अहिले आईपीओ भरेर लाभ लिन पाएका छन् । यसले कतिपय विद्यार्थीलाई पकेट खर्च भएको छ भने कतिपय गृहिणीलाई घरखर्चमा समेत मद्दत पुगेको छ । यो अहिले न्यायिक पनि भएको छ । अहिले सबै जिल्लाबाट यो आईपीओ भर्न सकिने अवस्था बनेको छ ।

कतिपयले भन्लान्– १० कित्तालाई १०० बनाउँदा १० हजारको सेयर त हो के फरक पर्छ र ? ठूला लगानीकर्तालाई त्यो सानो रकम भए पनि गाउँमा विद्यार्थी, गृहिणी, आम्दानी नहुनेहरुलाई त त्यो ठूलो रकम हो । विद्यार्थीले खाजा खर्च जोगाएर, गृहिणीले घर खर्च जोगाएर आईपीओ भर्ने गरेका छन् ।

१० कित्ताको व्यवस्था सुरु गर्दा पनि मर्चेन्ट बैंकहरु र ठूला लगानीकर्ता आएर फिर्ता लिन दवाव दिएका थिए । मुद्दा हाल्ने, आन्दोलन गर्नेजस्ता चेतावनी दिए । कारोबार गर्न मिल्दैन, प्राविधिक रुपमा अव्यवहारिक भयो भन्थे । तर कसैले पनि यसविरुद्ध मुद्दा हाल्ने आँट गरेनन् । मर्चेन्ट बैंकहरुले पनि यो १० कित्ताको प्रावधान मन पराएका थिएनन् । मर्चेन्ट बैंक र ठूला लगानीकर्ताको मिलेमतो थियो, किनकि त्यतिबेलाको बाँडफाँट प्रावधानअनुसार दुवै पक्षले फाइदा लिइरहेका थिए ।

हो, यो १० कित्ते व्यवस्थाका पनि केही खराब पक्ष होलान् । पहिले गाउँमा गएर कतिपयले धेरैको बैंक खाता र डिम्याट खाता खोलिदिने र आईपीओ भरिदिने तर लाभ आफूले लिने जस्ता विकृति पनि देखिएका थिए । अहिले पनि अरुका नाममा आईपीओ भरिदिने विकृति हुन सक्छ ।

ती खराब पक्ष त नियामक निकायले हेर्नुपर्‍यो नि । दुरुपयोग रोक्ने काम धितोपत्र बोर्ड, नेप्से, सीडीएससीको हो । तर नियमन नगरी यो व्यवस्था नै हटाउनु भएन । कतिपयलाई सेयरसम्बन्धी जानकारी, ज्ञान नभएको हुन सक्छ । तर सेयरसम्बन्धी ज्ञान भएन भन्दैमा आईपीओ भर्नै नदिने त ? पूँजी बजारसम्बन्धी सचेतना जगाउनुपर्ने दायित्व पनि त धितोपत्र बोर्डकै हो । पूँजी बजारबारे सचेतना जगाउने, जागरुक बनाउने, यसमा जोखिम पनि हुन्छ है भनेर बुझाउने काम त नियामक निकाय बोर्ड र राज्यको पनि हो ।

आईपीओ भरेर हुने साना लगानीकर्ताको जोखिम ठूलाले ब्यहोर्दिनु पर्दैन । १० कित्ताको व्यवस्थाविरुद्ध ठूला लगानीकर्ता लाग्नुको मुख्य कारण आफ्नो फाइदा खोसियो भन्नेमा मात्रै हो । यसको मतलब, सधैं १० कित्ताको व्यवस्था उपयुक्त हुन्छ भन्ने पनि छैन । पुनरावलोकन गर्न सकिन्छ । नेपालको पूँजीबजार धेरै तल छ । विस्तारै बुक बिल्डिङ वा ओपन प्राइस सिस्टमको विकास भएपछि मात्रै १० कित्ते व्यवस्था परिमार्जन गर्न सकिन्छ ।

हिजोसम्म घाटामा रहेका कम्पनीले अहिले नाफा देखाएर एकाएक प्रिमियममा आईपीओ जारी गर्न पाउनेगरी नीतिगत चलखेल भएकाले विकृति आएको हो ।

 

भारत लगायत विश्वका विकसित मुलुकको पूँजी बजारमा यहीं ओपन प्राइस सिस्टमबाटै सेयर निष्कासन हुने गरेको छ । तर नेपालमा अहिले बुक बिल्डिङको अभ्यास सुरु भएको छ, यस पद्दतीले पूर्णता पाइसकेको छैन । ओपन प्राइस सिस्टम वा बुक बिल्डिङबाट नै सबै सेयर निष्कासन हुन थालेपछि १० कित्ते प्रावधान हटाए हुन्छ । जब सबै प्राथमिक सेयरमा बोलकबोलबाट मूल्य तोक्न थालिन्छ, त्यसपछि १० कित्ता हटाउन मिल्छ । बोलकबोल पद्दतीमा आफ्नो इच्छाअनुसार मूल्य तिर्ने हो, तर अहिले त १ सय रुपैयाँ भनेर तोकिएको छ । त्यसकारण पहिले आईपीओको बिक्रीमा वैज्ञानिक पद्दती विकास गरौं अनि मात्रै १० कित्तेबारे सोचौंला ।

फिक्स्ड प्राइस सिस्टम रहेसम्म १० कित्ते प्रावधान हटाउन हुँदैन । फेरि अहिले १० कित्ता आईपीओ भर्नलाई गाह्रो पनि छैन । सबैजसो स्थानीय तहमा बैंकका शाखा पुगिसकेका छन् । कसैलाई डिम्याट खाता खोल्न पनि असहज भएन । आईपीओ भरेपछि आफ्नै बैंक खातामा पैसा ब्लक भएर बस्छ । एक सातामै बाँडफाँट हुने भएकाले ५/७ दिन मात्रै खातामा पैसा ब्लक हुन्छ । बाँडफाँट भएपछि सेयर नपरेको खण्डमा पैसा फुकुवा भइहाल्छ ।

बजारमा अहिले १० कित्ताका कारण खराब कम्पनी पनि आईपीओ जारी गर्न आए, आईपीओ बिक्ने निश्चित हुँदा खराब कम्पनीलाई मौका मिल्यो, अन्डरराइटिङ गर्नेले पनि राम्ररी मूल्याङ्कन गरेनन् भन्नेहरु पनि छन् । तर यो त धितोपत्र बोर्डले हेर्ने विषय हो ।

हिजोसम्म घाटामा रहेका कम्पनीले अहिले नाफा देखाएर एकाएक प्रिमियममा आईपीओ जारी गर्न पाउनेगरी नीतिगत चलखेल भएकाले विकृति आएको हो । त्यस्ता खराब कम्पनीलाई सरासर आईपीओ स्वीकृति दिनुले त बोर्डको माथिल्लो तहमा बसेकाहरुमाथि नै नैतिकताको प्रश्न उठ्छ । यदि नीति नै कमजोर छन् भने तिनलाई राम्रो बनाउन सकिन्छ ।

तर अहिले दोष १० कित्ते प्रावधानलाई दिन खोजिएको छ । १०–१० कित्ताका कारण खराब कम्पनीको पनि सबै आईपीओ बिक्छ भन्ने त होइन नि । भोलि १० कित्तालाई परिमार्जन गरेर १०० पुर्‍याए पनि खराब कम्पनीलाई त बाटो बन्द हुँदैन । १०० कित्ता पुर्‍याए पनि आईपीओ बिक्री हुन्छ । आईपीओ भर्ने ठूला लगानीकर्ताले भरिहाल्छन्, बजारमा मूल्य बढाइहाल्छन् ।

त्यसपछि फेरि १ सय कित्तालाई दोष दिने ? त्यसकारण कित्तामा समस्या नै होइन, सबै यो नियामकको कमजोरी हो, नीतिगत व्यवस्थाको कमजोरी हो । खराब कम्पनीलाई पूँजी बजारमा आउन नदिन नीतिगत व्यवस्था नै बलियो बनाउनुपर्छ । राम्रा कम्पनीलाई मात्रै प्रोत्साहन दिनेगरी व्यवस्था गर्नु धितोपत्र बोर्डको काम हो । हुन त यहाँ बैंक तथा वित्तीय संस्थाबाहेक अरु धेरै कम्पनीका नियामक निकाय नभएकाले धितोपत्र बोर्डलाई पनि काम गर्न अप्ठेरो छ ।

अहिले जलविद्युत् कम्पनी, उत्पादनमूलक कम्पनीहरुका पनि प्रभावकारी नियामक निकाय छैनन् । तिनका नियामक नहुँदा यसको भार बोर्डलाई परेको छ । तर आईपीओका लागि कस्ता कम्पनीलाई स्वीकृति दिने, कस्तालाई नदिने भन्ने शर्त तथा भएका व्यवस्थालाई परिमार्जन गरेर भए पनि व्यवस्थित गर्नुपर्छ । खराब कम्पनीलाई आईपीओमा जान रोक्ने नीतिगत व्यवस्था र संयन्त्रलाई प्रभावकारी बनाउनुपर्छ ।

(कार्की धितोपत्र बोर्डका पूर्वअध्यक्ष हुन् । कार्कीसँग अनलाइनखबरका कमल नेपालले गरेको कुराकानीमा आधारित विचारको सम्पादित अंश)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?