+
+

बेसार क्यान्सर प्रतिरोधी हुन्छ ?

रेणु त्वानाबासु रेणु त्वानाबासु
२०८० मंसिर २९ गते १३:२२

काठमाडौं । बेसारले तरकारीलाई हेर्दा आकर्षक देखाउने मात्र नभई यो स्वास्थ्यका लागि पनि उत्तिकै लाभदायक छ । बेसारमा शरीरलाई आवश्यक क्यालोरी, भिटामिन ए, क्याल्सियम, फस्फोरस र आइरन तत्व प्रशस्त मात्रामा पाइन्छ । बेसारमाथि संसारभर विभिन्न अध्ययन-अनुसन्धान भएका छन् ।

कर्कुमिन बेसारमा पाइने एक औषधीय तत्व हो । क्यान्सरका बिरामीका लागि यो उपयोगी र प्रभावकारी मानिन्छ । क्यान्सररोग विशेषज्ञ प्रा. डा. विवेक अचार्य भन्छन्, ‘बेसारकै कारण क्यान्सर नलागेको भनेर कुनै तथ्य वा अनुसन्धान त गरिएको छैन, तर यसमा पाइने कुर्कुमिन तत्वमा एन्टिअक्सिडेन्ट र एन्टिइन्फ्ल्यामेटरी गुण हुन्छ । यसले शरीरमा क्यान्सरका कोष मार्ने र अरू बढ्नबाट जोगाउने काम भने गर्छ ।’

तर बजारमा पाइने धुलो बेसारमा कुर्कुमिन तत्व नै निकालिएको हुन्छ । जसले बेसार खाए नखाएको केही फरक पार्दैन । त्यसैले सम्भव भए घरमै उत्पादन गरेर त्यसलाई धुलो बनाएर बेसार खान सके कर्कुमिन तत्व परिपूर्ति गर्न सकिन्छ ।

बिहान वा बेलुका आधा–आधा चम्चा गरी वा एकैपटक सानो एक चम्चा दैनिक बेसार खाँदा स्वास्थ्यका लागि फाइदाजनक हुने डा. आचार्य बताउँछन् ।

आयुर्वेदिक चिकित्सक डा. पुनेश्वर केशरी बेसारमा एन्टिअक्सिडेट, एन्टिइन्फ्लेमेटरी, एन्टिव्याक्टेरियल, एन्टिभाइरस, एन्टि फंगल, इम्युनोमोडुलेसन गुण प्रचूर मात्रामा पाइने भएकाले यसले शरीरभित्र रहेको कोषिकालाई संक्रमणबाट जोगाउने र रोगप्रतिरोधात्मक क्षमता बढाउने बताउँछन् । यसले क्यान्सरका कोष मार्ने र अरू बढ्नबाट जोगाउने गर्छ ।

‘बेसारमा पाइने सक्रिय तत्व कर्कुमिन बोसो र तेलमा सजिलै घुल्छ । तर यो पानीमा अघुलनशील हुन्छ,’ डा. केशरी भन्छन्, ‘त्यसैले बेसारको प्रयोग गर्ने हो भने बोसोयुक्त खानेकुरा जस्तै दूधमा मिसाएर खान सकिन्छ । यसरी खाँदा बेसारमा पाइने तत्व शरीरमा सजिलै सोस्छ । तर पानीमा बेसार मिसाएर खाँदा दुधमा जतिको प्रभावकारी हुँदैन ।’

बेसारको प्रयोग शरीरको बाह्य र आन्तरिक दुवैमा प्रयोग गरिन्छ । बाह्य प्रयोग जस्तै छालामा बेसारको लेप लगाउँदा छालामा हुने एलर्जी, घाउ, खटिरा, डण्डीफोरबाट जोगाउन मद्दत गर्छ । त्यस्तै बेसारमा केही जडिबुटी मिसाएर छालामा लेप लगाउँदा छाला मुलायम, नरम र चम्किलो बनाउँछ ।

कहिले र कति खाने ?

बेसार दैनिक रुपमा बिहान बेलुका पिउन सकिन्छ । प्राय:जसो दूधमा घुल्ने भएको कारण खाना खाइसकेपछि दूधमा बेसार राखेर खानु एकदम लाभदायक हुन्छ । यसलाई गोल्डेल मिल्क पनि भनिन्छ । कोरोना महामारीको समयमा गोल्डेन मिल्क अर्थात् बेसार हालेको दूध अत्यधिक प्रयोग भएको थियो ।

चिकित्सकहरुका अनुसार एक दिनमा बेसार १२ ग्रामसम्म खान सकिन्छ । योभन्दा बढी खानु हुँदैन । यसले फाइदाको सट्टा बेफाइदा गर्न सक्छ । दूधमा दुईदेखि चार ग्रामसम्म मिसाएर खान सकिन्छ ।

अमला र बेसारको पाउडर बराबर मात्रामा दूधमा मिसाएर खाँदा मधुमेहका बिरामीलाई राम्रो लाभ मिलेको अनुसन्धानले देखाएको चिकित्सक बताउँछन् । खाना खाइसकेपछि बिहान-बेलुका ६-६ ग्राम खाँदा टाइप टु मधुमेहबाट जोगाउन भन्ने मद्दत गर्छ ।

बेसार कस्तो अवस्थामा खानुहुँदैन ?

कहिलेकाहीं यति गुणकारी बेसारले नकारात्मक असर पनि गर्न सक्ने चिकित्सक आयुर्वेदिक चिकित्सक डा. केशरी बताउँछन् । एलोप्याथिक औषधि अर्थात् रगत पातलो गर्ने औषधि सेवन गरिरहेको छ भने बेसारको प्रयोग उपयुक्त हुँदैन । यसले झन् रगतलाई पातलो बनाएर रक्तस्राब गराउने सम्भावना हुन्छ । त्यस्तै कुनै रोगको शल्यक्रिया गरेको छ भने त्यस्तो अवस्थामा पनि बेसार प्रयोग नगरेको राम्रो हुन्छ । हेमोफेलियाको समस्या अर्थात् कुनै घाउचोटपटक लाग्दा लामो समय रगत बग्ने समस्या भएका व्यक्तिले बेसार औषधिको रुपमा प्रयोग गर्नु हुँदैन ।

त्यस्तै अन्य रगत बग्ने खालका रोग छ भने पनि बेसार सेवन गर्नु हुँदैन । यसले फाइदाको सट्टा जटिलता निम्त्याउन सक्छ । बेसारले इम्युनोमोडुलेसन रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ ।

बेसारको शुद्धता कसरी छुट्याउन सकिन्छ ?

बेसार शरीरको लागि स्वास्थ्यवर्द्धक मानिन्छ । हामीले दैनिक प्रयोग गरिरहेको बेसार कति शुद्ध छ त ? त्यसमा पनि निर्भर गर्छ । किनकि अहिले बजारमा पाइने बेसारमा विभिन्न केमिकल वा पाउडर मिसाएर हुन्छन् । त्यसैले दैनिक भान्सामा प्रयोग गर्दै आएको बेसार कति शुद्ध छ कि छैन भनेर जाँच गर्न आवश्यक हुन्छ । बेसारको शुद्धता घरमै जाँच गर्न सकिने आयुर्वेदिक चिकित्सक केशरी बताउँछन् ।

जाँच गर्ने तरिका

एउटा गिलासमा सफा पानी हाल्ने, त्यसमा बजारबाट किनेर ल्याएको बेसारको पाउडर हाल्ने र घोल्ने र त्यसपछि एकछिन यत्तिकै छोड्ने ।

बेसारमा केही मिसावट भएको अवस्थामा गिलासको पानीमा केही पाउडर थिग्रिएको हुन्छ । जसको मतलब बेसारमा मिसावट भएको छ भन्ने बुझिन्छ । मिसावट छैन भने पानीमा घुल्छ र माथि तैरिएको छ । त्यस्तै शुद्धता नाप्ने तरिका भने हाइड्रोक्लोरिक एसिड हुन्छ । हाइड्रोक्लोरिक एसिडमा बेसारको पाउडरलाई मिसाउने । त्यसलाई राम्रोसँगै मिसाउने, त्यसमा पर्याप्त फिंज आउँछ । त्यस्तै बेसारको रंग गुलाबी वा बैजनी भयो भने मिसावट भएको हुन सक्छ ।

हरेक छाकमा प्रयोग हुने बेसार शुद्ध हुन्छ भन्ने छैन । बजारबाट खरिद गरेर प्रयोग गरिने बेसारमा मेटानिल येलो नामक रसायन मिसाइन्छ । जबकि यो क्यान्सर जस्तो भयानक रोगको कारण समेत बन्न सक्छ ।

बेसारबाट करक्युमिन तत्व निकालेर क्यान्सरको लागि उपयोग छ कि छैन भनेर प्रयोगात्मक अध्ययन भएको छ,’ डा. पुनेश्वर केशरी भन्छन्, ‘अहिलेसम्म क्यान्सरका बिरामीमा भने अध्ययन गरिएको छैन ।’

यी कुरामा फाइदा गर्छ

बेसार क्यान्सर र यसको मुख्य घटक कर्कुमिनको मद्दतले बाल्यकालको ल्युकेमिया अर्थात् ब्लड क्यान्सरको सुरुवाती चरणलाई रोक्छ । कलेजो डिटोक्सिफाई (शरीरभित्रका विषाक्त पदार्थ निकाल्ने काम) गर्न मद्दत गर्छ, जसले सिरोसिस र जन्डिसको जोखिम कम गर्छ । यसले शरीरका सबै अंग स्वस्थ र विषमुक्त रहन्छन् ।

यसले पाचन, ग्यास र ब्लोटिङ जस्ता कारकहरू घटाएर वजन घटाउन, फ्याट मेटाबोलिज्म सक्रिय गर्न मद्दत गर्छ । यसमा एन्टिइन्फ्लेमेटरी र एन्टिसेप्टिक गुणका साथै एन्टिब्याक्टेरियल गुण हुन्छन् । तसर्थ, बेसारले सबै प्रकारका रोगको उपचारको रूपमा काम गर्छ ।

बेसारमा बलियो एन्टिअक्सिडेन्ट गतिविधिको लागि प्रतिरक्षालाई बलियो बनाउँछ, जसले प्रणालीमा फ्री रेडिकल आक्रमणहरू लड्छ । यसको बलियो एन्टिइन्फ्लेमेटरी गुणहरू रुमेटोइड गठियाको विकासको विरूद्ध पनि प्रभावकारी छन् । बेसारको गोली पूरकको रूपमा लिइयो भने यसले जोर्नी दुखाइ कम गर्न मद्दत गर्छ ।

होमोसिस्टिन स्तरलाई नियमन गर्छ र कोलेस्टेरोलको स्तर नियन्त्रण गर्छ । यसले हृदयघातबाट बच्न पनि मद्दत गर्छ । इन्सुलिनको स्तरलाई नियमन गर्छ र यसैले मधुमेह नियन्त्रणमा सीमित प्रभाव पार्छ ।

इम्री डे हेल्थ न्युज पोर्टलमा बेसारबारेको पछिल्लो अनुसन्धानमा पाचन समस्यासहित सबै प्रकारका स्वास्थ्य समस्याको उपचारको रूपमा बेसारको एसियामा लामो इतिहास छ । भर्खरै गरिएको एक अध्ययनले चम्किलो–पहेंलो मसला र यसको सक्रिय घटक, कर्कुमिन, ओभर–द–काउन्टर औषधि ओमेप्राजोल (प्रिलोसेक) जत्तिकै अपचसँग लड्न राम्रो हुन सक्छ ।

बीएमजे इभिडेन्स बेस्ड मेडिसिनमा प्रकाशित अध्ययनअनुसार वैज्ञानिकहरूले अनियमित रूपमा अपच भएका १५१ वयस्कलाई तीनमध्ये एउटा आहार दिएका थिए । सहभागीहरूले कर्कुमिनको दुई २५० मिलिग्राम (एमजी) क्याप्सुल लिएका थिए । दैनिक चारपटक २० मिलिग्राम गोली दैनिक वा दुवै उपचार संयुक्त गरेको थियो । अन्वेषकहरूले अध्ययनको सुरुमा २८ र ५६ दिन, पछि फेरि पखाला, वाकवाकी, र पेट दुखाइ जस्ता अपच लक्षणहरूको गम्भीरताबारे सहभागीहरूलाई प्रश्न गरे ।

अध्ययन परिणामअनुसार सहभागीहरूले सबै तीन उपचार समूहहरूमा लक्षणमा गिरावट भएको अनुभव सुनाए ।

के यो अपचको लागि कर्कुमिन पूरक लिन सुरक्षित छ ?

अध्ययनले कर्कुमिन वा ओमेप्राजोल (पेटको एसिड कम गर्ने औषधि)सँग कुनै गम्भीर साइड इफेक्ट पहिचान नगरेको भए पनि प्रयोगशाला परीक्षणहरूले धेरै तौल भएका केही व्यक्तिलाई कर्कुमिन लिंदा कलेजोको काम बिग्रिने सम्भावना देखाएको थियो ।

यसबाहेक पूरकहरूमा कर्कुमिनको गुणस्तर र मात्रा फरक हुन सक्छ । इकान स्कुल अफ मेडिसिनका ग्यास्ट्रोएन्टेरोलोजिस्ट सहायक प्राध्यापक युयिङ लुओ भन्छन्, ‘बेसार आफैंमा कलेजोमा चोटपटक लाग्ने घटनासँग जोडिएको छ, जब कालो मिर्च जस्ता अन्य पदार्थसँग मिसाइन्छ, यसले रगतमा कर्कुमिनको स्तर बढाउँछ ।

‘अध्ययनमा सहभागीले कुल दुई ग्राम कर्कुमिन दैनिक खाए र साइड इफेक्ट अनुभव गरेनन् । यो दैनिक ६ ग्रामसम्मको खुराकमा कलेजोको समस्यासँग सम्बन्धित छैन,’ डा लुओ भन्छन् । तर कुनै पनि सप्लिमेन्टको लेबल ध्यानपूर्वक पढ्न र आफ्नो चिकित्सकसँग परामर्श लिनु जरुरी हुने उनी सुझाउँछिन् ।

लेखकको बारेमा
रेणु त्वानाबासु

अनलाइनखबरकी संवाददाता त्वानाबासु समाज र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?