
अमेजन कम्पनीका संस्थापक जेफ बेजोसले सन् २०२१ मा कम्पनीको प्रमुख कार्यकारी अधिकृतको पदबाट राजीनामा दिएका थिए । त्यसपछि उनी आफ्नो रकेट कम्पनीको देखभाल लगायतका अन्य काममा केन्द्रित छन् ।
विश्वका सर्वाधिक धनाढ्य रहेको बेलामा आफैले स्थापना गरेको अमेजन कम्पनीको नेतृत्वबाट विदा लिने बेजोसको निर्णयलाई आश्चर्यजनक मानिएको थियो । हालैको एक अन्तरवार्तामा बेजोसले अमेजनको सिइओबाट राजीनामा दिनुको कारण खोलेका छन् ।
लेक्स फ्रिडम्यान पडकास्टको पछिल्लो अंकमा अन्तरवार्ता दिँदै उनले आफु आफ्नो ब्लु ओरिजिन नामक रकेट कम्पनीमा केन्द्रित हुन चाहेकाले अमेजनको नेतृत्वबाट राजीनामा दिएको खुलासा गरेका छन् ।
उनले भने, ‘मैले प्रमुख कार्यकारी अधिकृतको भूमिकाबाट विदा लिएँ र यसको गर्नुको प्राथमिक कारण चाहीँ थप उर्जा तथा महत्वको भावना सहित ब्लु ओरिजिन कम्पनीमा समय बिताउन सकियोस् भन्नका लागि थियो ।’
त्यसबेला रकेट कम्पनीको काम निकै तिव्र गतिमा अगाडि बढाउनु आवश्यक देखिएको र अमेजनमै बसेर त्यसो गर्न आफूसँग समय नपुग्ने हुनाले आफूले अमेजनको सिइओ पद छाडेको उनले बताए ।
बेजोसले भनेका छन्, ‘जतिबेला म अमेजनको सिइओ थिएँ त्यतिबेला मेरो दृष्टिकोण के थियो भने यदि म कुनै सार्वजनिक कम्पनीको सीईओ छु भने त्यसमा मैले पूरै ध्यान केन्द्रितत गर्नुपर्छ । मैले विषयलाई यसरी हेर्दछु।’
अमेजनमा रहँदा आफ्ना लागि अमेजन नै निकै महत्वपूर्ण रहेको र अमेजनका सबै सरोकारवालाप्रति दायित्वबोध गरेको भन्दै उनले आफूले अहिले पनि निकै कठिन परिश्रम गरिरहेको, काममा आनन्द लिइरहेको भएता पनि केही दु:खद् दिनहरु प्नि रहेको बताए ।
बेजोसका अनुसार गत महिना उनी बुवाआमाको नजिक हुन आफ्नो मियामीस्थित बाल्यकालको घरमा पुगेका थिए र ब्लु ओरिजिनको केप क्यानाभेरल अपरेसनस्थलमा पनि पुगेका थिए ।
उनी भन्छन्, ‘मेरो अधिकांश समय ब्लु ओरिजिनमा बित्ने गरेको छ । पछिल्ला केही वर्षयता म यहाँ गहन रुपमा सहभागी भएको छ । समग्रमा मैले यसलाई प्रेम गर्दछुु । तथापि विभिन्न विषयमा निरासाहरु पनि नभएका होइनन् ।’
बेजोसले सन् २००० मा ब्लु ओरिजिन कम्पनीको स्थापना गरेका थिए । उनको अन्तरिक्ष कम्पनीले एलन मस्कको स्पेस एक्स र रिचार्ड ब्रान्सनको भर्जिन ग्यालाक्टिक कम्पनीसँग प्रतिस्पर्धा गरिरहेको छ ।
ब्लु ओरिजिनले न्यू शेर्फड, न्यु ग्लेन र ब्लु मून नामक तीनवटा स्पेस भेहिकलको विकास गरेको छ । न्यु शेर्फड रकेट आगामी हप्ता अन्तरिक्षमा प्रक्षेपण गर्ने योजना छ ।
प्रतिक्रिया 4