+
+

मध्यपहाडमा ‘कमरेड केपी’को ‘चर्तिकला’

हरि ज्ञवाली हरि ज्ञवाली
२०८० पुष २ गते ८:२५

नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओली (केपी ओली) ले ‘समृद्धिका लागि संकल्प यात्रा’ भन्दै मङ्सिर १४ गतेदेखि तीन साता लामो पुष्पलाल  (मध्य पहाडी) लोकमार्ग केन्द्रित अभियान सक्रियतापूर्वक सकेका छन् ।

उमेर र शारीरिक अवस्थाले त्यति साथ नदिँदा-नदिँदै पनि ‘कमरेड केपी’ ले वृद्ध-वृद्धाहरूसँग सामिप्यता जोडे । कहिले मजदुर र किसानसँग अन्तरक्रिया गरी दोस्ती बढाए त कहिले कलेज तथा विद्यालयका विद्यार्थीहरूसँग मुलुकको भावी आवश्यकताका बारेमा छलफल गरे ।

कलाकारसँगै सारङ्गी रेटे र मादल पनि बजाए । कतै कृषि वैज्ञानिकहरूसँग संवाद गरे त कतै विकास कार्यहरूको अवलोकन र नमूना काम गरिरहेका उद्यमीहरूसँग भेटघाट गरे । ऐतिहासिक, धार्मिक र साँस्कृतिक स्थलहरूको अवलोकन पनि गरे । जनताका अनुभूति, समस्या, गुनासा र सुझावहरू सुने । उनले मध्यपहाडी क्षेत्रको यात्राका क्रममा राकम कर्णालीलाई नयाँ सहर बनाउने घोषणा गरे । मध्यपहाडमा निर्माण भइरहेका दसवटा नयाँ शहरहरूको अवलोकन गरे ।

उनी खेलाडीसँग मैदानमा खेल्न पनि सकेकै छन् । नवविवाहित दम्पतीलाई बधाई दिन पनि पुगेकै छन् । बालबालिकालाई काखमा राखेर स्नेह दिन पनि भ्याएकै छन् ।

घरमा आराम गर्नुपर्ने उमेरमा उनले यी सब किन र केका लागि गरिरहेका छन् ? उनमा त्यो सक्रियता, आत्मबल, दृढता र आत्मविश्वास कहाँबाट र कसरी बढेको छ ? आश्चर्यजनक र रहस्यमय छ ।

केपी ओलीले यी सब ‘चर्तिकला’ फगत रमाइलो र देखाउनका लागि गरिरहेका छन् वा उनीभित्र साँच्चिकै मुलुक-विकासको योजना र सङ्कल्प छ ? यसको अनुसन्धान र विश्लेषण हुनुपर्छ ।

‘कमरेड केपी’ले आफू पहिलोपटक प्रधानमन्त्री बनेदेखि नै मुलुकको समृद्धि र विकासका तमाम सपनाहरू नागरिकलाई देखाइरहेका छन् । उट्पट्याङ् पारामा भए पनि उनले मुलुकमा रेल कुदाउने, पानीजहाज दौडाउने, हावाबाट बिजुली निकाल्ने, घरघरमा ग्यासको पाइप पुर्‍याउने र जस्ता तमाम योजना पनि सुझाए । अहिले ती सपना राष्ट्रको दीर्घकालीन अपरिहार्य आवश्यकता हुँदैछन् ।

तर बिडम्बना, हाम्रो मुलुकमा राजनीतिक पार्टी र नेतृत्वप्रति वितृष्णा जगाउने काम एउटा कोणबाट सधैँजसो भइरहेको हुन्छ । गरेका राम्रा काम केही नदेख्ने, सबै कुरा खराब मात्र देख्ने, जे भने पनि मजाक उडाएर खेदो खन्ने काम भइरहन्छ । जे भने-गरे पनि नकारात्मक ढंगले व्याख्या गर्ने र समाजमा निराशा फैलाउने काम एउटा समूहले सदैव गरिरहेको हुन्छ ।

केही पात्रहरूले जनताका गुनासा र निराशालाई संघीय लोकतान्त्रिक गणतन्त्रकै विरूद्धमा प्रयोग गर्ने प्रयास गरिरहेका छन् । नेपालका राजनीतिक पार्टी र तिनका नेतृत्वप्रति अनेकौँ प्रश्न उठाइएका छन् । पुराना पार्टीहरूको असफलता भन्ने भाष्य निर्माण गर्दै आफूसँग सबै समस्याको समाधान रहेको भ्रम छरिरहेका छन् ।

यस्तो परिस्थितिमा आˆनो पार्टी प्रचारका लागि नै सही समृद्धिका लागि संकल्प यात्राको नाममा ओलीको नेतृत्वमा मध्यपहाडी लोकमार्ग केन्द्रित यो अभियान महत्वपूर्ण र अर्थपूर्ण मान्न सकिन्छ ।

आजभोलि हाम्रा पहाडका समस्याहरू केके हुन् ? पहाडमा किन पूर्वाधार र उत्पादनको विषय जोडिन सकेको छैन ? पहाडबाट मानिस पलायन हुनुपर्ने वाध्यता केके हुन् ? पहाडमा विकास र समृद्धिको ढाँचा कसरी निर्माण गर्न सकिन्छ ? विकास र पूर्वाधार निर्माणको ढाँचामा पहाडलाई विकास र समृद्धिको नमुना कसरी बनाउन सकिन्छ ? भन्ने तमाम समस्याको पहिचानमा संकल्प यात्रा कोसेढुंगा सावित भएको छ । यो सकारात्मक पक्ष हो ।

मुलुक आफैं समृद्ध बन्दैन । मुलुकलाई समृद्ध बनाउनुपर्छ । मुलुकलाई समृद्ध बनाउन सही दृष्टिकोण, सार्थक योजना र दह्रो अठोट आवश्यक हुन्छ । दृष्टिकोण, योजना र अठोट व्यक्तिले नै दिने हो । आजको सन्दर्भमा यी सब दिने उपयुक्त पात्र ‘कमरेड केपी’ हुन् वा होइनन् ? त्यो गर्न उनले सक्छन् वा सक्दैनन् ? त्यो बेग्लै विश्लेषणको पाटो हो ।

त्यसो त देश दुई-चार वर्षमै वा एकैपल्ट कायापलट भइहाल्ने विषय होइन । यो एउटा दृढ अठोट हो, निरन्तर प्रक्रिया हो । असल नेतृत्वले सपना देखाउनुपर्छ, आशा जगाइरहनुपर्छ । केपी ओलीले मुलुकको विकास र समृद्धिको एउटा आशा जगाएका छन् । त्यसलाई सकारात्मकरुपमा ग्रहण गरिनुपर्दछ ।

यसर्थ, नेपालको विकास र समृद्धिको यात्रामा केपी ओली महाथिर, लि कुआन यू, इतो हिरोबुमी मेइजी नै त बन्न नसक्लान् । तर, समकालीन नेपाली राजनीतिक नेतामा ‘भिजनरी’ भने देखिएका छन् । उनले गफै गरेको भए पनि देशमा केही गर्ने हुटहुटी र संकल्प भेटिन्छ । स्पष्ट अडान र दह्रो अठोट पाइन्छ ।

लेखकको बारेमा
हरि ज्ञवाली

रुपन्देहीका शैक्षिक अगुवा विभिन्न विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?