
काठमाडौं । प्रोजेक्ट सारंगीले काठमाडौं उपत्यकाका सात नगरपालिकाका विभिन्न विद्यालयमा सारंगी वादन तथा तालिम कार्यक्रम गरेको छ । शनिबार ललितपुरको पाटन संग्रहालयमा आयोजित ‘सूर्य नेपाल गाथा, सारंगीको कथा’को समापन कार्यक्रममा ७० जना विद्यार्थीहरुको सामूहिक सारंगी वादन र लोकप्रिय सांगीतिक ब्याण्ड कुटुम्बले प्रस्तुति दिए ।
दर्शकहरुको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा विद्यार्थीहरुले प्रस्तुत गरेको सारंगीको धुनले सबैलाई मन्त्रमुग्ध बनायो । कार्यक्रममा बागमती प्रदेशका उद्योग वाणिज्य भूमित तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले परम्परागत लोकबाजाको संरक्षणमा प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताए ।
‘सारंगीको लोकधुनको झंकारले मन्त्रमुग्ध बनायो । परम्परागत लोकबाजाहरु, सांस्कृतिक सम्पदाको संरक्षण र सम्वर्द्धन गर्न बागमती सरकार पनि तयार छ,’ उनले भने ।
गत असारबाट सुरु भएको यो परियोजनामा हरेक नगरपालिकाको एक सामुदायिक विद्यालयलाई चयन गरी विद्यार्थीहरुलाई सारंगी परिचयात्मक कार्यशाला र तीनमहिने आधारभूत तालिम दिइएको प्रोजेक्ट फाउन्डेसनका अध्यक्ष किरण नेपालीले जानकारी दिए । ‘यस परियोजनाले परम्परागत संगीतप्रति गर्व र सम्मान उत्पन्न गर्दै सारंगीलाई अर्को पुस्तामा हस्तान्तरण गर्न सहयोग पुर्याउने विश्वास लिएका छौं,’ उनले भने ।
परियोजना संयोजक एवं प्रोजेक्ट सारंगी फाउन्डेसनका सञ्चालक सुजन बज्राचार्यले नेपालमा नयाँ युवा सारंगी वादक जन्माउन पाउँदा गर्व महसुस भएको बताए ।
यस परियोजनामा ललितपुर महानगरपालिका नखिपोटको महालक्ष्मी माध्यमिक विद्यालय, महालक्ष्मी नगरपालिका लुभुको श्री महालक्ष्मी माध्यमिक विद्यालय, कीर्तिपुर नगरपालिकाको गोरखनाथ माध्यमिक विद्यालय, दक्षिणकाली नगरपालिकाको चम्पादेवी माध्यमिक विद्यालय, मध्यपुरथिमि नगरपालिकाको गणेश माध्यमिक विद्यालय, सूर्यविनायक नगरपालिकाको श्री गणेश माध्यमिक विद्यालय र चाँगुनारायण नगरपालिकाको श्रीकृष्ण माध्यमिक विद्यालयलाई समावेश गरिएको थियो ।
प्रतिक्रिया 4