+
+

रुपन्देहीको तिलोत्तमामा स्केट बोर्ड प्रतियोगिता र स्केट जात्रा सुरु

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ५ गते १९:०८

५ पुस, बुटवल । रुपन्देहीको तिलोत्तमामा पाँचौ दक्षिण एसियाली स्केट बोर्ड प्रतियोगिता तथा स्केट जात्रा सुरु भएको छ ।

प्रतियोगितामा दक्षिण एसियाका नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान, पाकिस्तान र माल्दिभ्स तथा आमन्त्रित राष्ट्रमा म्यानमार र थाइल्यान्ड गरी ९ देश सहभागी रहेका स्केट एड नेपालका अध्यक्ष जागृत पहाडीले बताए ।

बिहीबार, शुक्रबार र शनिबार गरी तीन दिनसम्म चल्ने प्रतियोगितामा पहिलो दिन छनोट चरणका खेल हुनेछन् । छनोट चरणबाट प्रत्येक राष्ट्रका १६ खेलाडी सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

प्रतियोगितामा पुरुष/महिलामा गेम्स अफ स्केटबोर्ड र वेस्ट रन स्पर्धामा प्रतिस्पर्धा हुनेछ भने दुवैको स्पर्धा प्रदर्शनका आधारमा शीर्ष तीन स्थान हात पार्ने खेलाडीको टुङ्गो लगाइने आयोजकले जनाएका छन् ।

पुरुष– महिलामा गेम्स अफ स्केटबोर्ड र वेस्ट रन स्पर्धामा प्रतिस्पर्धा हुनेछ । दुवैको स्पर्धा प्रदर्शनका आधारमा शीर्ष तीन स्थान हात पार्ने खेलाडीको टुंगो लगाइने छ । पुरुष/महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १ हजार अमेरिकी डलर, ५ सय अमेरिकी डलर र २ सय ५० अमेरिकी डलर नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिता रुपन्देहीको तिलोत्तमा ४ स्थित स्केट पार्कमा भइरहेको छ ।

नेपाल स्केट बोर्ड तथा स्केट बोर्डिङ संघ र स्केट एड नेपालको संयुक्त आयोजनामा सुरु भएको जात्राको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले उद्घाटन गरेका हुन ।

डा. लामाले खेलकुदले युवाको दैनिक जीवनमा धेरै सकारात्मक भूमिका खेल्ने बताए । उनले विदेशमा लोकप्रिय रहेको स्केट खेल नेपालमा पनि सुरुवात भएकामा खुशी व्यक्त गरे ।

लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले स्केट खेलको विकासका लागि प्रदेश सरकार सहकार्य गर्न तयार रहेको बताए । उनले खेलकुदको दायरा फराकिलो भएको बताउँदै खेलकुद स्वास्थ्य, व्यवसाय र पर्यटन पनि रहेको बताए ।

तिलोत्तमा नगरपालिका कार्यपलिका सदस्य सुरेन्द्र श्रीले विकास निर्माणसँगै खेलकुदको माध्यमबाट पहिचान बनाउने गरी लागि परेको बताए ।

नेपाल स्केटबोर्ड तथा स्केट बोर्डिङ संघ अध्यक्ष अच्युत खनालले यो जात्राले स्केट खेलमा नयाँ आयाम थप्ने बताए । उनले स्केट खेलको विकास नेपालमा पनि शुरुवात भएको बताउँदै आगामी दिनमा सातवटै प्रदेशमा पुर्‍याइने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?