+
+

जब मध्यराति सुनकाण्डका आरोपीले भने – ए.. चन्द्रे समातिइसक्यो !

अध्यागमनको सीआईपी कक्षको अपाङ्गमैत्री शौचालयभित्र लुकाइन्थ्यो सुन

गौरव पोखरेल गौरव पोखरेल
२०८० पुष ५ गते २१:२३
सुन तस्करीका अभियुक्त मीनबहादुर घले र उनी बसेको घर ।

५ पुस, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले २१ मंसिरमा मध्यराति ११ः४० बजे फ्लाई दुबईको विमानमार्फत आएका चन्द्र घलेलाई पक्राउ गर्‍यो ।

भन्सार प्रमुख डा. टोकराज पाण्डेलाई फ्लाई दुबईको एफजेड ५७३ नम्बरको उडानमार्फत आउँदै गरेका गोरखाका घलेले साथमा १४ किलो सुन ल्याउन ल्याउँदै गरेको सूचना थियो ।

अधिकृतहरुका अनुसार, विमानभित्रै नियन्त्रणमा नलिए सुन समात्न गाह्रो हुने सूचना पाएका पाण्डे विमानको ढोका पूर्णरुपमा खुलिनसक्दै त्यहाँ पुगेका थिए ।

सुरुमा फ्लाई दुबईका कर्मचारीले उनीहरुलाई विमानभित्रसम्म जान दिएनन् । तर, पाण्डेले जब आफ्नो परिचय पत्र देखाएर समन्वय गर्न अनुरोध गरे, त्यसपछि चन्द्र घले विमानभित्रै पक्राउ परेको अधिकृतहरु बताउँछन् ।

तस्करी भएको सुन र सुनसहित पक्राउ परेका चन्द्र घले ।

‘त्यसपछि उनलाई लिएर जाँच गर्दा छातीको दायाँ–बायाँ दुवैतिर सुनको बिस्कुट ल्याएको देखियो’, पाण्डेले अनलाइनखबरसँग सुनाए, ‘सुनका ७ वटा विस्कुट बनाएर ज्याकेटभित्र राखेर उनी आएको भेटियो ।’

सुन बरामद भएपछि विमानस्थलको एक कार्यकक्षमा राखेर भन्सारको टोलीले उनीसँग प्रारम्भिक सोधपुछ गर्‍यो । त्यसक्रममा सुनसहित समातिएका घलेले आफूले बालबच्चालाई पाल्न तस्करी गरेको भन्दै बचाउ गरे ।

‘अब मलाई तपाईंहरुले छाड्नुहुन्न, म ढाँट्दिन । मैले बालबच्चाका पाल्न गलत काम गरेँ’, उनको प्रारम्भिक बयान उधृत गर्दै भन्सार स्रोतले भन्यो, ‘मैले यूएईबाट यहाँसम्म सुन ल्याएवापत ७० हजार रुपैयाँ पाउँथे ।’

बयानका क्रममा उनले आफूलाई गोरखाकै मीनबहादुर घलेले यूएई पठाएको पनि बताए । उनको बस्ने डेराबारे जानकारी पाएपछि भन्सारको टोली विमानस्थल प्रहरीको टोली लिएर पक्राउ गर्न त्यहाँसम्म पुगेको स्रोत बताउँछ ।

प्रहरी टोलीले धुम्बाराहीस्थित घर वरिपरि घेरा हालेपछि भन्सारको टोली मीनबहादुर बस्ने कोठासम्म पुगेको अपरेशनमा खटिएका एक अधिकृत बताउँछन् । ‘झण्डै २ बजे प्रहरीसहित भन्सारको टोली पुग्दा भित्र मीनबहादुर निन्द्रामा थिए’, ती अधिकृतले भने, ‘हामी एयपोर्टबाट आएका हौं, तपाईंसँग केही बुझ्नुछ भन्ने वित्तिकै उनले आफैं ए.. चन्द्रे पक्राउ परिसक्यो भने ।’

अधिकृतहरुका अनुसार, त्यो दिन बेलुकी मीनबहादुर अबेरसम्म मादक पदार्थ सेवन गरेर बसेका थिए । ‘राति उनी धेरै बोल्नसक्ने अवस्थामै थिएनन्’, ती अधिकृतले भने, ‘भोलिपल्ट मात्रै विस्तृत बयान भयो ।’

त्यसक्रममा उनले सुनमा भारतीय नागरिकको संलग्नता खुलाएका छन् ।

अध्यागमन जाँच हुनुअगावै गायब हुन्थ्यो सुन

विमानस्थल भन्सार प्रमुख पाण्डेले २२ मंसिरमा दिउँसो पत्रकार सम्मेलन गरेर घलेलाई विमानभित्र नसमातेको भए तस्करीको सुन नसमातिनसक्ने संकेत गरेका थिए ।

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, बयानका क्रममा उनले आफूले ओर्लिनेबित्तिकै शौचालयमा सुन राख्ने गरेको बताएका थिए । त्यसलाई संकेत गर्दै पाण्डेले विमानबाटै पक्राउ गरिएको बताएको अधिकृतहरु बताउँछन् ।

‘सुन भन्सारसम्म आउनुअघि नै व्यवस्थापन हुन्छ भन्ने सूचना भएकैले विमानभित्रै पक्राउ गरिएको थियो’, ती अधिकृतले भने । विमान अवतरण भएर अध्यागमन कक्षमा प्रवेश गर्नुअघि कमर्सियल्ली इन्पोर्टेन्ट पर्सन (सीआईपी) कक्षको शौचालयमा गएर आफूले सुन राख्ने गरेको उनले बयानमा खुलाएका थिए ।

‘त्यहाँ शौचालयको डस्टबिनमा उनले सुन राख्ने गरेको बयान दिएका छन्’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘त्यो सुन सरसफाइ कर्मचारीले बाहिर ल्याउन गरेको खुलेको छ ।’

भन्सारले सुन ल्याउने कार्यमा संलग्न रहेको आशंकामा विमानस्थलका सरसफाई सुपरभाइजर सुशीला पाण्डे, सरसफाइ कर्मचारी कपिल ओझा, गणेश चेपाङ, विमानस्थल नागरिक उड्डयन कार्यालयका सहयोगी लेखबहादुर तामाङ, अनिल श्रेष्ठलाई पक्राउ गरेको छ । त्यस्तै, एयर साइड अफिसमा कार्यरत रमेश देउला, प्लम्बर शेरबहादुर बस्नेत र एसी प्राविधिक राधाकृष्ण श्रेष्ठ पनि पक्राउ परेका छन् । अर्का एक जना कर्मचारी फरार छन् ।

‘भन्सारका कर्मचारी र सुरुमा पक्राउ परेका दुई जनासहित हिरासतमा हुनेको संख्या १० पुगेको छ’, भन्सार प्रमुख प्रशासक पाण्डेले भने । भन्सार स्रोतका अनुसार, सुन तस्करी गर्ने गिरोहले विमानस्थलमा कार्यरत सामान्य कर्मचारीलाई प्रयोग गरेर सुन बाहिर निकाल्ने गरेका थिए ।

‘पैसा पनि धेरै दिएको देखिँदैन, १५/२० हजार दिएर उनीहरुलाई प्रयोग गरेको देखिन्छ’, भन्सारका एक अधिकृतले भने, ‘प्लम्बर शेरबहादुरले शौचालयमा गएर सुन राखे नराखेको हेर्ने गरेको प्रारम्भिक जाँचमा देखिएको छ ।’

उनीहरुले बयानका क्रममा ती विषयहरु अस्वीकार गरेपनि मोबाइलका विवरण लगायतबाट संलग्नता पुष्टि हुने भन्सारका अधिकृतहरु बताउँछन् । सीआईपी कक्षको पुरुष शौचालयतर्फ अपाङ्गमैत्री शौचालय पनि छ, त्यहाँ एउटा छुट्टै ढोका छ, जहाँ पाइपलाइनहरु भेटिन्छ ।

सीआईपी कक्षको अपांगमैत्री शौचालय र पाइपलाइन ।

‘त्यही सुन लुकाएर निकाल्ने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘प्लम्बर भएकाले उनलाई त्यहाँ जान सजिलो थियो ।’

कहिले सुन शौचालयको डस्टविनमै राख्ने गरेको समेत बयानमा खुलेको छ । महिला र पुरुष शौचालयको बीचमा रहेको स्टोर रुम पनि तस्करले सुन लुकाउन प्रयोग गरेको हुनसक्ने अधिकृतहरुको आशंका छ ।

‘यसमा अझै विस्तृतमा अनुसन्धान भइरहेको छ, केही नयाँ तथ्यहरु भेटिनसक्छन्’, अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । त्यसरी भएको सुन बाहिर निकाल्न सरसफाइ कर्मचारी लेकबहादुर तामाङ, राधाकृष्ण श्रेष्ठ, रमेश देउला लगायत प्रयोग भएको हुनसक्ने देखिएको अधिकृतहरु बताउँछन् ।

त्यसरीबाहिर निस्किएको सुन मीनबहादुरसम्म पुगेर उनले भारतीय नागरिकको जिम्मा लगाउने गरेको अधिकृतहरुको भनाइ छ । यसवापत मीनबहादुरले एक लाख रुपैयाँ पाउने गरेको खुलेको छ ।

मुम्बई जान्थ्यो सुन

भन्सार कार्यालय स्रोतका अनुसार, यूएईबाट अंकित अग्रवालले सुन पठाउने गरेका थिए । यसका मालिक भने मुम्बई निवासी गुरु नामक व्यक्ति भएको भन्सार स्रोतको निष्कर्ष छ । उनको पूरा नाम भन्सारले खुलाउन सकेको छैन ।

‘उनले भारतमै बसेर कारोबार गर्ने गरेको खुलेको छ’, भन्सारका एक अधिकृत भन्छन्, ‘चन्द्र घलेमात्रै वर्षमा ५ पटक दुबई गएको देखिएकाले यो गिरोहले पहिल्यैदेखि सुन ल्याएको हुनसक्ने देखिएको छ ।’

विमानस्थल भन्सार कार्यालयले सुन प्रकरणको अनुसन्धानका लागि प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको संयोजकत्वमा समिति बनाएको थियो । समितिमा नेपाल प्रहरीका डीएसपी सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, भन्सार अधिकृत डिल्लुप्रसाद शर्मा, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुंगाना सदस्य छन् ।

समितिलाई सुरुमा ५ दिन म्याद दिइएको थियो, फेरि थप भएको म्याद शुक्रबार सकिँदैछ । विमानस्थल भन्सार प्रमुख पाण्डे भन्छन्, ‘२५ दिनभित्र अनुसन्धान सकेर अदालतमा मुद्दा दायर गर्नुपर्ने हो, त्यही अनुसार अनुसन्धान गरिरहेका छौं ।’

भन्सारको अनुरोधपछि पक्राउ परेकाहरुबारे प्राविधिक अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पनि सहयोग गरेको छ ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?