+
+

हिंड्डुल गर्न सक्ने भए हास्य कलाकार ‘नक्कली प्रचण्ड’

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ६ गते १२:४६

काठमाडौं । ‘नक्कली प्रचण्ड’ नामले चिनिने हास्य कलाकार घनश्याम गौतम अहिले क्यान्सरको उपचार गराइरहेका छन् । पेटको आन्द्रामा क्यान्सर भएपछि उनी साउनमा भक्तपुर क्यान्सर अस्पताल भर्ना भएका थिए ।

उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ । पाँच महिना लामो उपचारपछि उनी सामान्य हिंड्डुल गर्न सक्ने भएका छन् । अहिले घरबाटै अस्पताल आउने जानेगरी उपचार गराइरहेका छन् ।

किमोथेरापी र रेडिएसन थेरापीपछि भक्तपुरस्थित निवासमै उनी आराम गरिरहेका छन् । ‘अहिले केही सजिलो महसुस गरिरहेको छु,’ मिडिया कुराकानीमा उनले भने, ‘सबैजनाको मायाले क्यान्सरसँग लड्न सक्छु भन्ने हिम्मत बढेको छ ।’

पुसको अन्त्यमा उनको आन्द्राको शल्यक्रिया हुने भएको छ । अभिनय र नाट्य प्रशिक्षणमा सक्रिय गौतम पछिल्लो सात महिनायता कामबाट निष्क्रिय छन् । ‘अब चाँडै निको भएर दर्शकलाई हँसाउन मन छ । तर कहिले पूरा ठीक हुन्छु थाहा छैन ।’ उनले अझै पनि शुभचिन्तकबाट उपचारमा सहयोगको आशा राखेका छन् ।

‘मलाई बचाउन र उपचार गर्न सघाउने साथीभाइ, शुभचिन्तक तथा संघसंस्थाप्रति उच्च सम्मान छ,’ उनले भने, ‘आउँदा दिनमा पनि यहाँहरुको साथ र सहयोगको आशा गर्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?