+
+

एनएसएलमा बहुप्रतीक्षित २ खेल, आजै लाग्नेछ प्लेअफ पुग्ने दुई टोलीको टुङ्गो

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० पुष ७ गते ९:१८

७ पुस, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ अन्तर्गत लिग चरणका अन्तिम दुई खेल हुनेछन् । अर्थात आज डबल हेडर । सुपर स्याटरडे । दुई खेल । त्यसैको नतिजापछि प्लेअफ पुग्ने टुई टोलीको टुङ्गो पनि आजै लाग्नेछ ।

सुरुमा बुटवल लुम्बिनी र वीरगंज युनाईटेडबीचको खेल हुनेछ दिउँसो १ बजे । अर्को खेल ललितपुर सिटी र काठमाडौं रेजर्सबीच साँज ५ बजे हुनेछ ।

यी चार मध्ये तीन टिम ललितपुर काठमाडदं र वीरगंज नै प्लेअफको होडमा छन् । अनि यो दुई खेलको नतिजाको परेखाइमा हुने अर्को टिम झापा हुनेछ ।

किनकि झापा हाल लिगको सबै ८ खेल खेलेर १० अंकसहित चौथो स्थानमा छ । अहिलेसम्म पोखरा थण्डर्स र धनगढी एफसीले मात्र प्लेअफमा स्थान बनाएको छ । पोखराले ८ खेलबाट १५ अंक जोडेर शीर्ष स्थानमा छ । समान खेलबाट धनगढी १३ अंकसहित दोस्रोमा छ ।

आजको खेलपछि धनगढीले कुन स्थानमा रहेर प्लेअफ खेल्ने भन्ने पनि टुङ्गो लाग्नेछ ।

त्यसैले लिगको अन्तिम दुई खेललाई निकै महत्वका साथ हेरिएको छ ।

आज खेल्ने तीन र झापा एफसीसहित चार टोली अझै प्लेअफ होडमा छन् । त्यसमा दुई टोली प्लेअफ पुग्नेछ भने दुई टोली बाहिरिनेछ ।

वीरगंजको सम्भावना

आज हुने पहिलो खेलमा वीरगंजले झापा एफसीसँग खेल्दैछ । वीरगंझको ७ खेलबाट ८ अंक छ र सातौं स्थानमा छ ।

वीरगंजलाई प्लेअफमा स्थान बनाउन बुटवलविरुद्धको खेल जित्नैपर्नेछ । यो खेल जितेमा वीरगंजको ११ अंक हुनेछ र अन्तिम खेलअघि वीरगंजले शीर्ष चारमा स्थान सुरक्षित गर्नुपर्नेछ । वीरगंजलाई ललितपुर र काठमाडौंबीच जस्तो नतिजा आए पनि कुनै असर हुने छैन ।

बुटवलसँग पराजित भएमा भने वीरगंजको सम्भावना सकिनेछ । बुटवल ७ खेलबाट ७ अंकसहित अन्तिम स्थानमा छ । बुटवलका लागि यो खेल प्रतिष्ठासँग जोडिएको छ । वीरगंजलाई हराएमा बुटवलले १० अंकसहित लिग सकाउनेछ ।

गणितीय रुपमा शीर्ष चारमा पुग्नका लागि १० अंक पनि पर्याप्त हुन सक्ने स्थिति छ । तर १० अंकमै रहेका ललितपुर सिटी र झापा एफसीसँग बुटवल  पराजित भएकोले समान अंकको स्थिति आए  हेड टु हेडमा पछि पर्नेछ ।

ललितपुर काठमाडौंको सम्भावना

लिगको अन्तिम खेल भ्याली डर्बी हुनेछ । अर्थात ललितपुर र काठमाडौं भिड्नेछन् । साविक विजेता समेत रहेको काठमाडदंले उपाधि रक्षा गर्ने लक्ष्य राखेपनि लिगकै खेल फाइनल जस्तो गरी खेल्नुपर्ने अवस्था आएको छ ।

ललितपुर र काठमाडौं दुवैका लागि यो खेल डु अर डाई जस्तै छ । प्लेअफ पुग्न जित्नैपर्ने अवस्था छ ।

जित्ने टोली शीर्ष चारमा रहेर प्लेअफ पुग्नेछ ।

यदी दिनको पहिलो खेलमा वीरगंज विजयी भएमा काठमाडौँले प्लेअफ पुग्न अन्तिम खेल जित्नैपर्नेछ ।

ललितपुरको लागि भने काठमाडौंसँग बराबरीले पनि प्लेअफमा स्थान सुरक्षित हुनेछ ।

ललितपुर र काठमाडौँ खेल बराबरी भएको अवस्थामा ललितपुरको ११ अंक हुनेछ भने काठमाडौंको झापा समान १० अंक हुनेछ ।

वीरगंज विजयी भएमा र काठमाडौं र ललितपुरले बराबरी खेलेमा ललितपुर र वीरगंज समान ११ अंक जोडेर प्लेअफ पुग्नेछ । काठमाडौं र झापा बाहिरिनेछ ।

काठमाडौंका लागि भने प्लेअफका लागि स्पष्ट जित नै आवश्यक छ ।

झापाको पनि छ सम्भावना

शुक्रबार एफसी चितवन विरुद्धको खेल जितेको भए झापाले प्लेअफमा स्थान पक्का गरिसक्थ्यो । तर चितवनसँग २-० को हारपछि झापाले सिधै प्लेअफमा स्थान बनाउने अवसर गुमायो ।

तर अझै पनि झापाको सम्भावना भने कायम छ । तर त्यसका लागि आजको दुवै खेलको नतिजा झापाकै फेभरमा आउनुपर्नेछ ।

त्यो भने पहिलो खेलमा वीरगंज बुटवल लुम्बिनीसँग पराजित हुनुपर्नेछ । अर्को खेलमा ललितपुर सिटीले काठमाडौं रेजर्सलाई हराउनुपर्नेछ ।

यदी वीरगंज र काठमाडौं दुवै विजयी भए झापा बाहिरिनेछ । पहिलो खेलमा वीरगंज विजयी भएमा  झापा अन्तिम खेलको नतिजा अघि नै बाहिरिनेछ ।

यदी वीरगंज पाजित भएमा झापाको सम्भावना बाँकी रहनेछ । वीरगंज पराजित भएमा अनी काठमाडौंले ललितपुरलाई दुई गोल अन्तरले पराजित गरेमा पनि झापाको सम्भावना हुनेछ ।

त्यसो भएमा ललितपुर र झापाको समान अंक भएपनि गोल अन्तरमा झापाले ललितपुरलाई पछि पार्न सक्छ । यी दुई टोलीले लिग चरणमा गोलरहित बराबरी खेलेका थिए ।

आज मैदानमा नउत्रे पनि झापाको नजर भने दुवै खेलमा हुनेछ ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?