+
+
१४ किलो सुन छानबिन समितिको निष्कर्ष :

मेकानिक, प्लम्बर र सफाइ कर्मचारीको सहयोगमा १३८ किलो सुन तस्करी

गौरव पोखरेल गौरव पोखरेल
२०८० पुष ८ गते २१:२२
१४ किलो सुन तस्करी छानबिन समितिको प्रतिवेदन बुझ्दै विमानस्थल भन्सार कार्यालयका प्रमुख प्रशासक टोकराज पाण्डे ।

८ पुस, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पाइप लाइन महिनामा कति पटक बिग्रिएला ? कतिपटक मर्मतका लागि प्लम्बरलाई बोलाउनुपर्ला ?

दुई, तीन, चार वा पाँच पटक ! पाइपमा कुनै समस्या आए मर्मतका लागि भनेर ‘आउट सोर्सिङ’ गरेर बोलाइने प्लम्बर शेरबहादुर बस्नेत दैनिक जसो अन्तर्राष्ट्रिय विमानस्थलमै भेटिन्थे । दिनमा मात्र होइन, मध्यराति समेत रेञ्च बोकेर संवेदनशील क्षेत्रमा घुमिरहेका हुन्थे । उनले विमानस्थलको सबै क्षेत्र जान मिल्ने पास पाएका थिए । त्यही पास लिएर छिरेका उनी २२ मंसिरमा मध्यराति यूएईबाट सुन आए नआएको चाल बुझेर बसेका थिए ।

विमानस्थलमा विशिष्ट व्यक्तिका लागि छुट्टयाइएको (कमर्सियल्ली इर्पोन्टेन्ट पर्सन) सीआईपी कक्षमा शौचालय छ । पुरुष शौचालयभित्र अपाङ्गमैत्री क्याबिनको भित्रपट्टी पाइप लाइन देखिने गरी ढोका छ । त्यहीँ सुन राखे नराखेको जाँच गर्ने जिम्मेवारी विमानस्थलका अर्का कर्मचारी रमेश देउलाले दिएका थिए ।

सुन तस्करी गरिरहेको समूहको योजनाअनुसार फ्लाइ दुबईको एफजेड ५७३ नम्बरको विमानबाट १४ किलो सुनसहित चन्द्र घलेले सुन बोकेर विमानस्थलमा आएका थिए । उनले शौचालयमा सुन राख्नुपर्ने थियो । त्यसपछि रमेश देउला र उनको समूहले विमानस्थलबाट बाहिर निकाल्ने तयारी थियो ।

विशेष सूचनाका आधारमा भन्सारको टोलीले विमानस्थलभित्रै सुन समात्यो, चन्द्रले बयानका क्रममा गोरखाका मीनबहादुर घलेको पनि संलग्नता खुलाए । घलेलाई पनि पक्राउ गरेर अनुसन्धान सुरु भयो । त्यसक्रममा सुन प्रकरणमा एसी मेकानिक, प्लम्बर र सफाइ कर्मचारीले विमानस्थलबाट सुन पास गराउन तस्कर समूहलाई सहयोग गरिरहेको खुलेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेका अनुसार, प्लम्बर बस्नेतले पाइप मर्मत गर्ने सानो च्याम्बरको तालाको सेट निकालेर नयाँ बानेश्वरस्थित ‘कि हाउस’बाट नक्कली साँचो बनाएका थिए ।

‘एयरसाइड अफिसका कर्मचारी रमेश देउलाले भने अनुसार बस्नेतले नक्कली चाबी बनाएर ल्याएका रहेछन्’, पाण्डेले भने, ‘एउटा टीडीओका कर्मचारी लेकबहादुर तामाङलाई र अर्का मीनबहादुर घलेलाई दिएको पाइएको छ ।’

मीनबहादुर तिनै व्यक्ति हुन्, जसले चन्द्र घलेलाई सुन लिन यूएई पठाएका थिए । भन्सारले बनाएको छानबिन समितिका संयोजक प्रमुख भन्सार अधिकृत मणिराम पौडेलका अनुसार, भारतीय नागरिक अंकित अग्रवाल र गुरु भन्ने व्यक्तिसँग सम्पर्क गरेर उनले सुन तस्करीको काम गरिरहेका थिए । ‘अग्रवालले दुबईबाट सुन पठाउँथे भने गुरुले भारतको मुम्बईमा सुन लैजान्थे’, उनले भने ।

मीनबहादुर र चन्द्रले भरियाको काम गरेका थिए । उनीहरुको समूहले सुन ल्याउँदैछन् भन्ने जानकारी प्लम्बर बस्नेतलाई हुन्थ्यो । दुबईबाट ल्याएको सुन अध्यागमन जाँचमा छिर्नुअघि नै शौचालयमा गएर नक्कली चाबीको सहयोगमा सुन थन्क्याउथे । त्यसरी लुकाइएको सुन कहिले प्लम्बर बस्नेत त कहिले सरसफाइ कर्मचारी लेकबहादुर तामाङले अनुकुलता हेरेर निकाल्ने गरेका थिए ।

शव निकाल्ने स्थानबाट बाहिरिन्थ्यो सुन

प्लम्बर बस्नेत र सफाइ कर्मचारी तामाङले शौचालयबाट निकालेको सुन भीआईपी कक्ष हुँदै माथिल्लो तलामा रहेको शौचालयमा गएर नेपाल नागरिक उड्डयन प्राधिकरणका अर्का कर्मचारी राधाकृष्ण श्रेष्ठलाई बुझाउन्थे । श्रेष्ठले रेडिसन लाउन्जको भान्साको छेउमा रहेको आपतकालीन ढोका खोलेर सुन बाहिर निकाल्ने गरेका थिए ।

प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेका अनुसार, यो ढोका विदेशबाट ल्याइने शव निकाल्न प्रयोग हुने गरेको थियो । तर त्यहाँबाट तस्करीको सुन पास गराउने गरेको पाइएको भन्दै उनले भने, ‘यसमा एसी प्राविधिक अनिल श्रेष्ठले सहयोग गर्ने गरेको देखिन्छ ।’

छानबिन समितिका अनुसार सुन तस्करीमा विमानस्थलका कर्मचारीलाई काममा लगाउने प्रमुख जिम्मेवारी कार्यालय सहयोगी रमेश देउलाले नै गरेको देखिन्छ ।

झण्डै ७ वर्षअघि अवकाश पाएका उनलाई नागरिक उड्डयन प्राधिकरणले करारमा राखेको थियो । यसरी विमानस्थलबाट बाहिर निकालेको सुन डिबी गुरुङले भनेको स्थान र मानिसलाई दिने गरेको देउलाले बयान दिएका छन् ।

तस्करीमा संलग्न भएवापतको पैसा समेत गुरुङले देउलालाई नै दिने गरेका थिए । उनले अन्यलाई पैसा बाँड्ने गरेका थिए । गुरुङ भने हालसम्म फरार छन् ।

विमानस्थल भन्सारका अनुसार, चन्द्र र मीनबहादुरभन्दा माथिको तहमा बसेर सुन तस्करीको गुरुङले व्यवस्थापन गर्दै आएका थिए । त्यसरी आएको सुन गुरुङको बानियाँटारस्थित घरमा समेत पुर्‍याइने गरेको थियो । उनले भनेअनुसार, श्रीमती विना गुरुङले दुई पटक घरमा सुन बुझेको छानबिन समितिसमक्ष भनेकी छन् ।

छानबिन समितिका अनुसार यो गिरोहले पटकपटक गरेर जम्मा १३८ केजी सुन ल्याएर बाहिर लगिसकेको देखिन्छ । यसरी सुन ल्याउन चन्द्र घले जस्तै भरियाका रुपमा स्याङ्जाका कृष्णकुमार श्रेष्ठको पनि संलग्नता देखिएको भन्सारले जनाएको छ ।

घलेको मोबाइलमा रहेको ह्वाट्स एपको म्यासेजमा भएको कुराकानीका आधारमा उनको संलग्नता खुलेको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । ‘टिकट र दुबईको भिसा कपी पठाएको आधारमा अनुसन्धान गर्दै जाँदा २०२२–२३ मा ५२ पटक आउजाउ गरेको देखिन्छ’, प्रमुख भन्सार प्रशासक पाण्डे भन्छन्, ‘उनले पनि सुन ल्याएर पाइप मर्मत गर्ने स्थानमा राख्ने गरेको स्वीकारेका छन् ।’

सीसी टीभी फुटेज गायब

सुन प्रकरणको छानबिनका लागि भन्सार अधिकृत मणिराम पौडेल नेतृत्वको टोलीले तीन महिनाको क्लोज सर्किट (सीसी) क्यामरा फुटेज मागेको थियो । तर ‘व्याकअपको सीमितता’ भन्दै विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा २१ दिनसम्मको मात्रै रेकर्ड उपलब्ध भएको समितिका अधिकारीहरु बताउँछन् ।

समितिले विमानस्थलको भीआईपी कक्षमा जाने सिँढीको सीसीटीभी फुटेज पनि मागेको थियो । तर, त्यहाँको सीसीक्यामरा नै ‘आउट अफ सर्भिस’ रहेको जानकारी समितिलाई दिइएको छ ।

जबकि, सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका लेकबहादुर तामाङले भीआईपी कक्ष हुँदै माथिल्लो तलाको शौचालयमा गएर राधाकृष्ण श्रेष्ठलाई ‘सामान’ बुझाउने गरेको बयान दिएका थिए ।

भन्सारका प्रमुख प्रशासक पाण्डे सुन प्रकरणको अनुसन्धान अझै जारी रहने बताउँछन् । ‘तत्काललाई छानबिन समितिले प्रतिवेदन बुझाएको छ, तर अनुसन्धानका लागि समय अझै बाँकी छ’, उनले भने, ‘डिजिटल फरेन्सिक ल्याबको रिपोर्ट प्राप्त हुन समय लाग्ने देखिएको छ भने केही संलग्नलाई खोज्नुपर्ने छ ।’

भन्सारले यो प्रकरणको अनुसन्धानका लागि सीआईबीको समेत सहयोग गरेको थियो । त्यसका आधारमा ब्यूरोले प्राविधिक सहयोगसमेत गरेको थियो ।

संयुक्त समन्वय कक्ष राख्न सिफारिस

छानबिन समितिले विमानस्थलभित्र अध्यागमन, भन्सार र प्रहरीबीच समन्वय अभाव हुँदासमेत तस्करी नियन्त्रणमा समस्या भएको औंल्याएको छ । त्यसैले सूचना आदनप्रदान र समन्वयका लागि एउटा संयुक्त समन्वय कक्ष स्थापना गर्न पहल गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

कक्षमार्फत अध्यागमन कार्यालयले पटकपटक दुबई, सिंगापुर, हङकङ, थाइल्याण्ड लगायतका देशमा आवागमन गरिरहेका यात्रुको सूचना भन्सार र प्रहरीलाई दिने व्यवस्थापन मिलाउनुपर्ने भनिएको छ ।

भन्सार विमागले त्यस्ता देशमा आवागमन गरिररहेका यात्रुले त्यहाँका भन्सारमा घोषण गरेका विवरण अग्रिम रुपमा प्राप्त गर्न आवश्यक व्यवस्था मिलाउनुपर्ने पनि समितिको सुझाव छ ।

‘विमानस्थलले यात्रुको् सूची अनिवार्यरुपमा प्रहरी र भन्सारलाई पठाउने व्यवस्था मिलाउनुपर्ने सुझाव समेत दिएका छौं’ समिति संयोजक पौडेलले भने, ‘नेपाल आयमन निगम र सिनामंगल चोकस्थित गेटमा वाक थ्रु मेटल डिटेक्टर तत्काल राख्नुपर्ने पनि औंल्याएका छौं ।’

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?