+
+

जगदम्बा स्टिलसहित ३ उत्पादनमूलक कम्पनी आईपीओ निष्कासन प्रक्रियामा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १० गते ९:२८

१० पुस, काठमाडौं । सर्वोत्तम सिमेन्टपछि अरू ३ उत्पादनमूलक कम्पनीले आईपीओ जारी गर्न धितोपत्र बोर्डमा प्रक्रिया अघि बढाएका छन् । जगदम्बा स्टिलसहित उत्पादनमूलक ३ कम्पनी प्राथमिक सेयर (आईपीओ) निष्कासनको प्रक्रियामा रहेका हुन् ।

जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स र एसवाई प्यानल नेपाल आईपीओ निष्कासनका लागि केही महिनादेखि नै बोर्डको पाइपलाइनमा छन् । यी ३ बाहेक यसै समूहको सर्वोत्तम सिमेन्टको प्रक्रिया भने पूरा भएको छ ।

सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ प्रक्रियामार्फत संस्थागत लगानीकर्तालाई आईपीओ जारी गरिसकेको छ भने सर्वसाधारणका लागि जारी गर्न धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेको छ । कम्पनीले ३६ लाख कित्ता सेयर प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले सर्वसाधारणलाई जारी गर्दैछ । यसको सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा ग्लोबल आईएमई क्यापिटल छ ।

आवेदन दिएर प्रक्रियामा रहेकामध्ये जगदम्बा स्टिलले प्रतिकित्ता ३ सय रुपैयाँमा प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न खोजेको छ । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा २ सय रुपैयाँ प्रिमियम थप गर्दै आईपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिएको हो । स्थानीयबासी र सर्वसाधारणका लागि कुल २ करोड ७० हजार कित्ता आईपीओ निष्कासनका लागि कम्पनीले आवेदन दिएको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल छ ।

त्यस्तै रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ पद्दतीमार्फत आईपीओ निष्कासनका लागि आवेदन दिएको छ । सो कम्पनीले पहिले संस्थागत लगानीकर्ताका लागि ७ लाख ७० हजार ६४० कित्ता सेयर निष्कासनका लागि आवेदन दिएको हो । संस्थागत लगानीकर्तालाई निष्कासन भइसकेपछि मात्रै सर्वसाधारणलाई जारी हुनेछ । सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

अर्को एसवाई प्यानल नेपालले भने अंकित मूल्यमा ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर निष्कासनका लागि आवेदन दिएको छ । यस कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा हिमालयन क्यापिटल रहेको छ । पछिल्लो समय धितोपत्र बोर्डले आईपीओ निष्कासनका लागि स्वीकृति दिने काम रोकेपछि यी कम्पनी प्रभावित भएका छन् । हाल नेपाल स्टक एक्स्चेन्जमा जम्मा ८ वटा उत्पादनमूलक कम्पनी मात्रै सूचीकृत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?