+
+

पोखरालाई हराउँदै ललितपुर एनएसएलको फाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १२ गते २०:०८

१२ पुस, काठमाडौं । पोखरा थन्डर्सलाई २-१ ले हराउँदै ललितपुर सिटी नेपाल सुपर लिग एनएसएलको फाइनलमा पुगेको छ ।

दशरथ रंगशालामा भएको दोस्रो क्वालिफायरको ३३ औं मिनेटमा निखिल कदम रातो कार्ड (दोहोरो पहेँलो कार्ड) पाउँदै बाहिरिएपछि १० खेलाडीमा सिमित भए पनि ललितपुरले पोखरालाई अतिरिक्त समयमा हरायो ।

पोखरालाई जिताउन ९९ औं मिनेटमा कुशल देउवाले निर्णायक गोल गरेका थिए । ओमालाजा करिमले हानेको फ्रिकिकमा कप्तान अनन्त तामाङले बक्सका हेड गरेका थिए । त्यो बल पोखराका खेलाडीले भेटे पनि क्लियर गर्न सकेनन् । जसलाई ६ यार्ड बक्स भित्रै कुशलले भेट्टाए र बललाई जाली चुमाए ।

निर्धारित ९० मिनेटमा दुवै टिमबाट १-१ गोल भएपछि खेल अतिरिक्त समयमा थकेलिएको थियो ।

खेलमा पहिलो अग्रता पनि ललितपुरले नै लिएको थियो । ४५ ‍औं मिनेटमा इमोह इजेकेलले गोल गर्दै ललितपुरलाई अग्रता दिलाएका थिए ।

पापा इबोउ केबेले आफ्नै क्षेत्रबाट काउन्टर अट्याकमा लामो पास इमोहका लागि निकालेका थिए । इमोहले कन्ट्रोल गर्दै बक्ससम्म पुर्‍याएर हानेको बल गोल भएको थियो ।

७१औं मिनेटमा पोखराले बराबरी गोल फर्काएको थियो । जोए आइडुको पासमा स्टेफेन पापा कोजो एनोरले बक्समा हेडमार्फत गोल गरेका थिए । एनोरको हेड मैदानमा ड्रप भएर सेकेण्ड बारमा लाग्दै गोल भएको थियो ।

बिजेता ललितपुरले फाइनलमा शनिबार धनगढी एफसीसँग खेल्ने छ । धनगढी एफसी पहिलो क्वालिफायरमा पोखरालाई टाइब्रेकरमा हराउँदै फाइनलमा पुगेको हो ।  लिग चरणमा शीर्ष स्थानमा रहेको पोखराले फाइनल पुग्न दोस्रो असवर पाएको भए पनि त्यसलाई सदुपयोग गर्न सकेन ।

एनएसएल विजेताले ७० लाख रुपैयाँ नगद पुरस्कार पाउने छ भने उपविजेता टोलीले २० लाख रुपैयाँ पाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?