+
+

अझै पनि सेयर किन्दा ११ बैंक तथा वित्तीय संस्थाहरूको लाभांश पाइने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १६ गते ९:२२

१६ पुस, काठमाडौं । नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत पब्लिक कम्पनीहरुले धमाधम वार्षिक साधारणसभा आयोजना गरिरहेका छन् । कतिपय कम्पनीले साधारणसभामार्फत लाभांश समेत स्वीकृत गराइरहेका छन् भने कतिपय कम्पनीले लाभांश प्रस्तावविना नै साधारणसभा गरिरहेका छन् ।

अझै पनि केही माइक्रोफाइनान्स, विकास बैंक, फाइनान्स तथा वाणिज्य बैंकको सेयर खरिद गर्दा लाभांश पाइन्छ । लाभांश घोषणा गरिसकेका तर कम्पनीको सेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) भइनसकेका कम्पनीको सेयर खरिद गर्दा लाभांश पाइन्छ । सार्वजनिक सूचनामार्फत कम्पनीहरुले साधारणसभा बोलाउँदै बुक क्लोजको मिति घोषणा गरिरहेका छन् ।

बैंक, विकास बैंक, फाइनान्स र माइक्रोफाइनान्स समूहका ११ कम्पनीको लाभांश घोषणा भइसकेको तर बुक क्लोज हुन बाँकी छ । त्यसकारण यी ११ बैंक तथा वित्तीय संस्थाहरूको सेयर खरिद गर्नेहरु अझै पनि लाभांशका लागि हकदार हुनेछन् ।

वाणिज्य बैंक : लाभांश घोषणा गरेर बुक क्लोज नभएको वाणिज्य बैंकमा एउटा मात्रै बाँकी छ– लक्ष्मी सनराइज । सो कम्पनीको आगामी बिहीबार बुक क्लोज हुँदैछ । तसर्थ बुधबारसम्म कम्पनीको सेयर खरिद गर्नेले ७ प्रतिशत बोनस सेयर पाउँछन् ।

विकास बैंक : लाभांश घोषणा गरेर बुक क्लोज हुन ४ वटा विकास बैंक मात्रै बाँकी छन् । मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक, महालक्ष्मी विकास बैंक र लुम्बिनी विकास बैंक । मुक्तिनाथ र महालक्ष्मी विकास बैंकको बुधबारसम्म सेयर खरिद गर्नेले लाभांश पाउनेछन् ।

मुक्तिनाथको ९.७५ प्रतिशत बोनस सेयर र महालक्ष्मीको ६.४ प्रतिशत नगद (करसहित) लाभांश घोषणा भएको छ । त्यस्तै गरिमा र लुम्बिनीको आज सोमबारसम्म सेयर खरिद गर्नेले मात्रै लाभांश पाउने छन् । गरिमाले ९.५ प्रतिशत बोनस र लुम्बिनी विकास बैंकले ४ प्रतिशत बोनस तथा ४.५ प्रतिशत नगद (करसहित) लाभांश दिँदैछ ।

फाइनान्स : लाभांश घोषणा गरेर बुक क्लोज हुन बाँकी फाइनान्स कम्पनीमा श्री इन्भेस्टमेन्ट फाइनान्स मात्रै बाँकी छ । सो कम्पनीको आगामी बिहीबारसम्म सेयर खरिद गर्नेले ५.०५ प्रतिशत नगद (करसहित) लाभांश पाउने छन् ।

माइक्रोफाइनान्स : लाभांश घोषणा गरेर बुक क्लोज नभएका माइक्रोफाइनान्स कम्पनीहरुमा ५ कम्पनी बाँकी छन् । जीवन विकास लघुवित्त, छिमेक लघुवित्त, समता घरेलु, ग्लोबल आईएमई लघुवित्त र धौलागिरि लघुवित्त । जीवन विकासको मंगलबारसम्म, छिमेकको आज सोमबारसम्म, ग्लोबल आईएमईको बुधबारसम्म सेयर खरिद गर्नेले लाभांश पाउँछन् ।

समता र धौलागिरिले भने बुक क्लोजको मिति तय गरिसकेका छैनन् । जीवन विकासले १४ प्रतिशत बोनस सेयर, छिमेकले ५ प्रतिशत बोनस तथा १० प्रतिशत नगद, समताले ५.४ प्रतिशत बोनस, ग्लोबलले १० प्रतिशत नगद र धौलागिरिले १४.२५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?