 
																			१८ पुस, मलेखु । सडक विस्तार भइसकेकाले नारायणगढबाट मुग्लिनसम्म आइपुग्ने सवारीसाधन र यात्रुलाई खासै सकस छैन । तर जब मुग्लिन बजार काटिन्छ, तब सडकमा बडेमानका खाल्डाहरु भेटिन थाल्छन्, सवारी साधनहरुले साँघुरो सडकमा धरापजस्ता खाल्डा छल्न सक्ने अवस्था नभएकाले सास्ती फेरि सुरु हुन्छ ।
मुग्लिनबाटै गाडीले यात्रुलाई नमज्जाले उफार्न थाल्छ । यो सिलसिला सडक केही चुस्त रहेका ठाउँबाहेक काठमाडौंसम्म नै चल्छ । काठमाडौं आउने–जानेका लागि राजमार्गको यात्रा झन् असजिलो बनेको छ ।
हेटौंडा र बुटवलतिरबाट आएका सवारी साधन हुन् कि पोखरातिरबाट, सबैलाई काठमाडौंसम्मको यात्रामा यो बाटो छिचोल्नु कष्टपूर्ण हुन्छ । बुटवल र पोखरातिरबाट आउनेहरुलाई त तुलानात्मक रुपमा यो सडक केही सजिलो नै लाग्न सक्छ । तर, यात्राभरि खाल्डो, धुलो र हिलोले कतै नछाड्दा यात्रुहरु अत्ताल्लिसकेका हुन्छन् ।
‘बुटवल यताको बाटो त सम्झिनै नसकिने खालको छ, मलेखुसम्म आइपुग्दा यो देशमा सरकार छ अनि त्यसले काम गरिरहेको छ भन्ने कतै महसुस भएन,’ दाङ पुगेर फर्किंदै गर्दा मलेखुमा कार रोकेर माछा खाइरहेका काठमाडौं मैतीदेवीका सोहन प्रधान भन्छन्, ‘यता पनि बाटो बनाउने नाममा भएको बाटो पनि बिगारेरै छाड्न थालिएछ ।’
काठमाडौंको ‘लाइफलाइन’ सडकको मुग्लिन–मलेखु खण्ड विस्तारका लागि एक वर्षअघि नै ठेक्का लागेको हो । सडक विभागले मुग्लिनबाट नागढुंगासम्मको सडकलाई डेडिकेटेड २ लेनमा विस्तार गर्न ३ खण्डमा ठेक्का लगाएको छ । विश्व बैंकको ऋण सहयोगमा विस्तार थालिएको ३९ किलोमिटरको मुग्लिन–मलेखु खण्डलाई ‘नागढुंगा–मुग्लिन पश्चिम खण्डको आयोजना’का रुपमा खडा गरिएको छ ।
यो खण्ड विस्तारका लागि ७ पुस २०७९ (२२ डिसेम्बर २०२२)मा  ‘शर्मा जेआईसीजी जेभी’सँग ठेक्का सम्झौता भएको थियो । यो ठेक्का लागेपछि सडक विभागले मर्मतमा थप खर्च गर्न छाडेको छ । ठेकेदारले नै सवारी चल्न सहज हुने गरी चुस्त राख्नुपर्ने व्यवस्था खरिद सम्झौतामा गरिएको आयोजना प्रमुख केदारप्रसाद नेपालले बताए । त्यसैअनुसार पटक–पटक ठेकेदारलाई सडक मर्मत गरेर सवारी चल्न सक्ने गरी दुरुस्त राख्न भनेको र काम पनि भइरहेको उनको दाबी छ ।  तर, दशैं अघि खाल्डाहरु पुरिएको सडक फेरि पुरानै अवस्थामा पुगिसकेको उनले बताए । यसबारे मासिक रुपमा ठेकेदारसँग हुने बैठकमा ध्यानाकर्षण गराइरहेको र अब बस्ने बैठकमा पनि गम्भीर चासो व्यक्त गरिने नेपालले बताए ।
तर, स्थानीय बासिन्दाहरु भने ठेकेदारले सुरुदेखि नै सडकको खाल्डा हेर्न र पुर्न छाडेकाले भविष्यमा झन्–झन् समस्या थपिंदै जाने त्रासमा छन् । ठेकेदार कम्पनी तीव्रताका साथ काम गर्ने गरी फिल्डमा नआएको कुरिनटारका स्थानीय संयम सिलवाल बताउँछन् ।
‘यो सडकखण्डमा ठेकेदार कम्पनी काममै भेटिंदैन, सडकको खाल्डाबारे यदाकदा भेटिने इन्जिनियरलाई सोध्यो भने हामीलाई थाहा हुन्न भन्छन्,’ सिलवाल भन्छन्, ‘ठाउँ–ठाउँमा सडकको भित्ता खनेर छाडेर धुलो मात्रै थप्ने काम भएको छ, धेरै ठाउँमा त सडक विस्तारको लागि काम नै सुरु भएन ।’
कामभन्दा बढी जाम भएको गुनासो
त्रिशूली किनारको सडकमा मालवाहक र यात्रुवाहक सवारी साधनको चाप सधैं उच्च हुन्छ । यो खण्डमा सार्वजनिक सवारीको तुलनामा साना निजी सवारीको ओहोरदोहोर बाक्लो हुन्छ । तर, कतिपय ठाउँमा अस्तव्यस्त ढंगले भइरहेको कामले आवागनमा बाधा पारिरहन्छ । लामो जाम नलागे पनि कतिपय ठाउँमा एकतर्फी मात्रै सडक खुलाएर काम गर्दा यात्रु र सवारी चालकहरु अत्तालिल्छन् ।
हेटौंडा घर भएका ट्रक चालक सुदीप विश्वकर्मा नारायणगढबाट मुग्लिनसम्मको सडकमा पनि नियमित जाम भइरहेको अवस्थामा त्यसभन्दा अघिको सडकमा पनि ठाउँ–ठाउँमा जथाभावी सवारी रोकेर दुःख दिने काम गरिएको बताउँछन् । ‘जुन ठाउँमा काम गर्न सवारी रोक्नुपर्छ, त्यो ठाउँमा चाप कम हुँदा र रातिको बेला काम गरे हुन्थ्यो,’ उनी भन्छन्, ‘बल्लतल्ल मुग्लिनमा जाम छुटेर अघि बढेकालाई ठाउँ–ठाउँमा रातो झण्डा देखाइन्छ, यहाँ त कामभन्दा बढी जाम हुन थालिसक्यो ।’
आफूले भोगेको सास्तीको तुलनामा आयोजनामा काम हुन नसकेको अनुभव यो रुटमा नियमित सवारी चलाइरहेकाहरुलाई धेरै छ । काम भएका ठाउँमा केही भएको जस्तो देखिए पनि अधिकांश ठाउँमा सडक बिगारेर छाडिएकोमा उनीहरु असन्तुष्ट छन् । ‘सडकको हाल बेहाल हुँदै गएको छ, काठमाडौंबाट हिँडेदेखि नै ठाउँ–ठाउँमा रोकिनुपर्छ,’ यात्रुलाई खाजा खुवाउन कुरिनटार नजिकको रमाइलोडाँडामा बस रोकेका चालक प्रदीप लामा भन्छन्, ‘हामी त दुःख झेल्न तयार नै थियौं, समयमै सडक बनिदिए हामीलाई न्याय नै हुन्थ्यो ।’
डिजाइनमै त्रुटि
यो सडकखण्डको अहिलेसम्मको प्रगति विवरण हेर्दा चालक लामाले भनेजस्तो यात्रु र सवारी साधनमाथि ‘न्याय हुने’ अवस्था देखिंदैन । लक्ष्यअनुसार काम भयो भने यो आयोजना २०८२ को पुस महिनाभित्र बनिसक्नुपर्छ । तर, करिब ३३ प्रतिशत (एक वर्ष) समय अवधि पार गरिसको यो आयोजनाको प्रगति ६ प्रतिशत मात्रै छ ।
यदि सडक विभागले राखेको लक्ष्य पूरा हुन्थ्यो भने अहिलेसम्म मुग्लिन–मलेखु सडक आयोजनामा १५ प्रतिशत काम भइसक्नुपर्थ्यो । तर, यो सडक खण्डले बुटवल–नारायणगढ, मुग्लिन–पोखरा लगायतका राजमार्ग विस्तार परियोजनाकै हवीगत भोग्दैछ ।
आयोजना प्रमुख नेपालका अनुसार ठेक्का लागेपछि ठेकेदार कम्पनी ‘शर्मा जेआईसीजी जेभी’ फिल्डमा जाँदा काम गर्न पाएन । ठेकेदार आयोजनाको विस्तृत परियोजना प्रतिवेदन लिएर फिल्डमा पुग्दा डिजाइन र फिल्ड डाटामा त्रुटि भेट्यो । त्यही अवस्थामा निर्माण कार्य अघि बढाउन नसकिने भन्दै ठेकेदारले आयोजनालाई गुहार्यो । सुपरीवेक्षण परामर्शदातामार्फत अध्ययन गर्दा फेरि डिजाइन र डाटा पुनरावलोकन गर्नुपर्ने भटियो । यो काम सक्न मात्रै ७ महिना समय लागेको आयोजना प्रमुख नेपालले बताए ।
‘ठेक्का लागेपछि ठेकेदारले ७ महिनासम्म काम गर्न पाएन, गत जेठपछि मात्रै काम गर्न सकिने वातावरण बन्यो,’ उनले भने, ‘३९ मध्ये ५ किलोमिटर मात्रै डिजाइन रिभ्यू भएन, त्यसैले काम गर्नसक्ने अवस्था नै रहेन ।’
गत जेठपछि पनि वर्षायाम र चाडबाडको समय भन्दै ठेकेदारले काम गर्न चाहेन । हिउँद लागेपछि काम सुरु भए पनि सबै ठाउँमा काम थाल्न नसकेको नेपालले बताए । ‘सडकका लागि आवश्यक टेवा पर्खालसहित पुल निर्माणको काम सुरु भइसकेको छ,’ उनले भने, ‘अहिले लक्ष्यअनुसार नभए पनि विस्तारै लक्ष्य भेटाउन सक्छौं भन्ने विश्वास छ ।’
आयोजनामा आगामी असारभित्र ३० प्रतिशत काम सक्नुपर्ने लक्ष्य तय छ । तर, एक वर्षसम्म ६ प्रतिशत मात्रै काम भएको परियोजनामा ६ महिनाभित्रै करिब २४ प्रतिशत थप काम हुनेमा ठेकेदार कम्पनीका प्राविधिक कर्मचारीहरु नै आशावादी छैनन् ।
फिल्डमा भेटिएका ठेकेदार कम्पनीका एक इन्जिनियरले सरकारले समाधान गर्नुपर्ने धेरै समस्याहरु अझै हल नभएकाले काममा लक्ष्यअनुसार प्रगति हासिल हुन नसक्ने बताए । ‘अझै रुख काट्ने काम भएको छैन, पोल सार्न सकिने ठाउँमा पनि काम थालिएको छैन,’ उनले भने, ‘हामीले धमाधम जताततै काम थाल्यौं भने पनि भएको सडक बिग्रिन्छ, काम गर्न साइट क्लियर नै भएको छैन ।’
आयोजना प्रमुख नेपाल भने रुख कटानीका लागि स्वीकृति लिने काम अन्तिम चरणमा पुगेको बताउँछन् । सडकसीमा भित्रका रुख मात्रै काटिने भएकाले ठूलो जटिलता नभएको उनले बताए । ‘रुख काट्ने अनुमतिका लागि वनमा पैसा जम्मा गर्दैछौं, पोल सार्ने कामका लागि पनि प्राधिकरणलाई पैसा दिएका छौं,’ उनले भने, ‘अब काम धमाधम अघि बढ्छ ।’
५ अर्बको आयोजनामा ३५० मजदुर
निकै महत्वपूर्ण, सम्वेदनशील र ठूलो आयोजनामा २ सिफ्टमा काम हुनुपर्ने हो । तर, सीमित मजदुर राखेर काम भइरहेकाले पनि आयोजनामा प्रगति सुस्त भएको अधिकारीहरु स्वीकार्छन् ।
४ अर्ब ८० करोड रुपैयाँको लगानीमा बन्दै गरेको परियोजनामा अहिले ३५० कामदार खटिएको आयोजनाका प्रमुख नेपालले जानकारी दिए । निर्माणको मुख्य सिजनमै करिब ५ अर्बको परियोजनामा आक्कल झुक्कल ठाउँमा मात्रै काम भइरहेको दृश्यले यो परियोजनाको अव्यवस्थाका कारण राजधानी काठमाडौंको यात्रालाई थप असजिलो र जोखिमपूर्ण बनाउनसक्ने अनुमान यात्रुहरुले लगाउन थालिसकेका छन् । स्थानीयहरु पनि अरु सडकमा जस्तै यो खण्डमा धुलो र हिलोको चरम सास्ती खेप्न मानसिक रुपमा तयार छन् ।
‘फाट्टफुट्ट केही ठाउँमा काम देखाउन गरेजस्तो भइरहेको छ, धुलोले दुःख दिन थालिसक्यो,’ चितवन दारेचोकमा होटल चलाइरहेकी सुनमाया बज्यु भन्छिन्, ‘पहिला मुग्लिन उताको बाटो बनाउँदाको हालत देखेकै हो, अब हामीले पनि त्यही भोग्नुपर्ने भयो ।’
आयोजनाका अधिकारीहरु सबै ठाउँमा काम सुरु हुन नसकेको स्वीकार्छन् । अब क्रमैसँग सबै भागमा काम अघि बढ्ने भएकाले अन्य सडक विस्तार परियोजनामा जस्तो यो खण्डमा यात्रु र सवारीलाई धेरै सकस नपर्ने उनीहरुको दाबी छ ।
तर, धेरै थरी काम अघि नै नबढेकाले आयोजनाका अधिकारीहरुको कुरा पत्याउन मुस्किल छ । मुग्लिनदेखि मलेखुसम्मको सडकखण्ड अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका १७ र धादिङको बेनीघाट रोराङ गाउँपालिका २२ किलोमिटर भाग पर्छ । कृष्णभीर लगायतका पहिरो प्रभावित र असजिलो खण्ड पनि यही खण्डमा पर्छ । सो क्षेत्रमा नदीबाटै पक्की पर्खाल बनाएर सडक विस्तारको काम गर्नुपर्नेछ ।
विभिन्न क्षेत्रमा पहाड काट्दा पहिरोको जोखिम हुने भएकाले कारण यो खण्डको काम बढी चुनौतीपूर्ण पनि छ । कम्तीमा ९ र बढीमा ३० मिटरसम्म सडक कालोपत्रे गर्ने योजना छ । कतिपय बस्ती क्षेत्रमा फुटपाथसमेत राखेर ६ लेनसम्म सडक विस्तार गर्नुपर्ने हुन्छ ।
यो खण्डमा बारबाङ, मौवा, हुग्दी, खटौटी, चरौंदी र गोमती खोलामा ६ वटा ठूला पुल बनाउनुपर्ने छ । अहिलेसम्म हुग्दीमा पुल बनाउने काम सुरु भएको छैन । त्यहाँ घरजग्गा पर्नेहरुलाई मुआब्जा वितरण गर्न नै बाँकी छ ।
यो खण्डमा मुग्लिन, रमाइलोडाँडा, लेवाटार, कुरिनटार, फिस्लिङ, मझिमटार, विशालटार, बेनीघाट, शीतलबजार र मलेखुका १० स्थानमा सडक वारपार गर्न आकाशे पुल पनि बनाउने योजना छ ।
यस्तै विभिन्न ठाउँमा पहाड नकाटी नदीतर्फबाट ठूला पर्खाल उठाएर माटो भर्ने काम पनि गर्नुपर्नेछ, जुन काम वर्षायाममा गर्न सम्भव समेत हुँदैन । यो हिउँदयाममा त्यस्ता धेरै भागमा काम अघि बढ्न सकेको छैन ।
‘भूगोल जटिल छैन, स्थानीयले सहयोग गरेकै छन्, काम गर्न समस्या पनि छैन,’ माझिमटारका स्थानीय सुबोध पौडेल भन्छन्, ‘यति सुगम क्षेत्रको आयोजनामा कामको गति यति सुस्त हुँदा पनि ठेकेदार र सरकारलाई त कुनै मतलब नै देखिन्न ।’ दुवै पक्षले मिलेमतोमै आयोजनाको निर्माण अवधि र लागत बढाउन खोजेको हुनसक्ने उनको आशंका छ ।
आयोजना प्रमुख नेपाल भने स्थानीय तहहरुबाट ढुंगा, गिट्टी र बालुवाजस्ता निर्माणजन्य सामग्री सहज उपलब्ध भए समयमै काम सकिनेमा विश्वस्त छन् । ‘तर, अहिले बजारमा छड अभाव हुन थालेछ, यसले पुलको काम प्रभावित भएको छ,’ उनले भने, ‘नदीजन्य निर्माण सामग्रीलाई तोकिएको राजस्व तिरेर आयोजनाले उत्खनन क्षेत्रबाटै ल्याउन पायो भने काममा ढिलाइ हुँदैन ।’
तस्वीर : शंकर गिरी/अनलाइनखबर
राजमार्गको दुर्दशा-१
राजमार्गको दुर्दशा-२
राजमार्गको दुर्दशा-३
राजमार्गको दुर्दशा-४
राजमार्गको दुर्दशा-५
राजमार्गको दुर्दशा-६
राजमार्गको दुर्दशा–७
राजमार्गको दुर्दशा-८
राजमार्गको दुर्दशा-९
 
                









 
                     
                                     
                                         
                                 
 
 
 
 
 
 
 
 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4