१८ पुस, विराटनगर । कोशी प्रदेशमा गत साउनदेखि रिक्त रहेको सभामुख चयनका लागि एक सातापछि प्रक्रिया थाल्न दलहरु सहमत भएका छन् । कोशी प्रदेशसभाको बैठक २४ पुसमा बस्दैछ । सोही दिनबाट सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउन दलहरुले सहमति जनाएका हुन् ।
‘हामीले त आजसम्म सकौं भन्ने चाहेका थियौं, तर एमालेले समय मागेका कारण थप एकसाता लम्बियो’, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले भने,‘ २४ पुसबाट प्रक्रिया थाल्ने तयारी छ ।’
नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले एक सातापछि प्रक्रिया अघि बढाउन दलहरु सकारात्मक भएको बताए । ‘अगाडि नै छलफल भयो भने २४ गतेबाटै प्रकिया सुरु हुन्छ’, उनले भने, ‘२४ गते प्रदेशसभा बैठक बस्दैछ ।’
सत्तारुढ गठबन्धनबीच राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सभामुख पद दिने सहमति छ । राप्रपाले अम्बरबहादुर विष्टको नाम अघि सारेको छ ।
सत्तारुढ गठबन्धन स्रोतका अनुसार कोशी प्रदेशको अंकगणित देखाएर राप्रपाले राष्ट्रियसभामा पनि भाग खोजेको थियो । तर गठबन्धनले राष्ट्रियसभामा भाग नदिने बताएपछि राप्रपा सभामुख लिने निर्णयमा पुगेको हो ।
‘एक महिनादेखि हामी नियमित छलफलमा छौं, उहाँहरु सभामुख लिन तयार हुनुहुन्छ’, सत्ता गठबन्धनका एक नेताले भने, ‘बीचमा उहाँहरुले होल्ड गर्नुभएको थियो ।’
कोशी प्रदेशमा नेकपा एमालेले पनि सभामुख लिन चाहेको छ । तर सत्ता गठबन्धनले एमालेलाई सभामुख पद दिन मानेको छैन । एमाले प्रमुख सचेतक भण्डारी सत्ता गठबन्धनले सभामुख पद नलिने भएका कारण सभामुखको निर्वाचन प्रक्रिया सुरु भएपछि एमाले र राप्रपा सल्लाह गरेर अघि बढ्ने बताउँछन् ।
राप्रपा कोशी प्रदेश अध्यक्ष राम थापा कोशी प्रदेशको सभामुखका लागि उपयुक्त समयमा उपयुक्त निर्णय गर्ने बताए । गठबन्धन दलले राप्रपालाई सभामुख लिन प्रस्ताव गरिरहेको बताउँदै उनले भने, ‘प्रक्रिया सुरु हुन दिनुहोस्, हामी उपयुक्त समयमा उपयुक्त निर्णय गर्छाैं ।’
सत्तारुढ गठबन्धन दलले राप्रपा संसदीय दलका नेता भक्ति सिटौलालाई सभामुख बन्न प्रस्ताव गरेका थिए । तर उनले आफू सभामुख नबन्ने बताउँदै अम्बरबहादुर विष्टको नाम दिएका थिए ।
२०७९ पुस २८ गते निर्विरोध निर्वाचित सभामुख बाबुराम गौतमले साउन १६ गते सभामुखबाट राजीनामा दिएका थिए । नेपाली कांग्रेस संसदीय दलका नेता उद्धब थापालाई मुख्यमन्त्रीमा समर्थन गर्नका लागि उनले सभामुखबाट राजीनामा दिएका थिए । पहिले सभामुख पदमै रहेर मुख्यमन्त्रीमा समर्थन गर्दा सर्वोच्च अदालतले असंवैधानिक भन्दै मुख्यमन्त्रीको नियुक्ति बदर गरिदिएको थियो ।
कोशी प्रदेशसभामा एमालेका उपसभामुखसहित ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् ।
एमाले र राप्रपा बाहेक दल सरकारमा छन् र उनीहरुसँग जम्मा ४७ मत छ । जुन ९३ सदस्यीय प्रदेशसभामा टुप्लुक्क बहुमत मात्र हो । सभामुख आफैंले राखेमा सत्ता गठबन्धनमा बहुमत पनि नपुग्ने हुनाले राप्रपालाई सभामुख दिन राजी भएको हो ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4