+
+

नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठक सुरु

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १९ गते १३:२५

१९ पुस, काठमाडौं । नेपाल-भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठक सुरु भएको छ । होटल याक एन्ड यतीमा आयोगको बैठक सुरु भएको हो ।

बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस जयशंकर आजै बिहान नयाँ दिल्लीबाट काठमाडौँ आइपुगेका छन् । बैठकमा द्विपक्षीय सहकार्य र आपसी हितका विविध विषयमा समीक्षा र छलफल हुने जनाइएको छ ।

बैठकमा ऊर्जा सहकार्य, सीमा समस्या, प्रबुद्ध व्यक्ति समूह (ईपिजी) को प्रतिवेदन, सन् १९५० को सन्धि पुनरावलोकनलगायत विषयमा छलफल हुनेछ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार बैठकमा सुस्ता र कालापानीबाहेक दुई देशको सीमांकन गर्न नौ वर्षअघि गठित नापी विभागका महानिर्देशकस्तरीय बाउन्ड्री वर्किङ ग्रुप (बिडब्लुजी) का विषयमा पनि छलफल हुनेछ ।

बैठकपछि १३२ केभीएका तीनवटा प्रसारण लाईनको दुवै देशका परराष्ट्र मन्त्रीले संयुक्त रूपमा उदघाटन गर्ने कार्यक्रम रहेको छ ।

तीनवटा प्रसारण लाइनमा भारतको बिहार प्रदेशसँग जोडिने रक्सौल–परवानीपुर प्रसारण लाइन, कुशाहा–कटैया प्रसारण लाइन र भारतको उत्तर प्रदेशसँग जोडिने नौतनवा–मैनाहिया प्रसारण लाइनको उदघाटन हुने भएको छ ।

यसअघि ऊर्जा मन्त्रालयमा दुई देशका ऊर्जा सचिवले दीर्घकालीन विद्युत व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन् । भारतको ऊर्जा मन्त्रालयका सचिव पंकज अग्रवाल र नेपालको ऊर्जा मन्त्रालयका सचिव गोपाल सिग्देलले उक्त सम्झौतामा हस्ताक्षर गरिसकेका छन् ।

संयुक्त आयोगको बैठकपछि त्यसलाई सार्वजनिक गरिने जनाइएको छ ।

यस्तै काठमाडौंस्थित भारतीय दूतावासले सिधै लगानी गर्ने अनुदानको रकम बढाउने समझदारी पनि हुँदैछ । यसअघि साना विकास कार्यक्रमको नाममा आइरहेको उक्त अनुदानलाई भारतीय दूतावासले हाई इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट कार्यक्रम (एचआईसीडीपी) नाम दिएर सञ्चालन गरिरहेको छ ।

तीन करोडबाट सुरु भएको उक्त कार्यक्रमममा अहिले सिधै २० करोडसम्म लगानी गर्न पाउने गरी मन्त्रिपरिषदबाट निर्णय गरिसकेको छ ।

संयुक्त आयोगको बैठक तीन वर्षपछि बस्न लागेको हो । नेपालले बैठक गर्न भारतलाई निरन्तर आग्रह गर्दै आए पनि बस्न सकेको थिएन ।

पछिल्लो पटक आयोगको छैटौं बैठक ०७७ को माघ १ र २ मा नयाँदिल्लीमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?