+
+
क्रिकेट संघको वार्षिक क्यालेण्डर :

कम्तीमा १२० दिन घरेलु क्रिकेट

नमिता दाहाल नमिता दाहाल
२०८० पुष १९ गते २०:४४
नेपाल क्रिकेट संघ क्यानको पत्रकार सम्मेलन ।

१९ पुस, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिम अन्तर्राष्ट्रिय प्रतियोगितामा व्यस्त रहेका बेला घरेलु क्रिकेट नरोकिने गरी बार्षिक क्यालेन्डर ल्याएको छ ।

बिहीबार सार्वजनिक क्यालेण्डरअनुसार सन् २०२४ मा विद्यालय, यू–१६ र यू–१९ महिला तथा पुरुष, क्लबस्तरीय र राष्ट्रिय गरी दुई दर्जनभन्दा बढी प्रतियोगिताहरु हुने छन् ।

बार्षिक क्यालेण्डर अनुसार घरेलु क्रिकेटलाई वर्षमा कम्तीमा १२० दिन व्यस्त राख्ने क्रिकेट म्यानेजर विनोद दासले बताएका छन् ।

प्रतियोगिताहरु काठमाडौं बाहिर पनि राखिएका छन् । राष्ट्रिय टिम अन्तर्राष्ट्रिय क्रिकेटमा व्यस्त रहँदा पनि काठमाडौं बाहिर घरेलु क्रिकेट सञ्चालन भइरहोस् भनेर यसो गरिएको क्रिकेट संघका सचिव पारस खड्काले बताए ।

विद्यालयदेखि नै क्रिकेट

घरेलु क्रिकेटलाई तल्लो तहसम्म पुर्‍याउन क्रिकेट संघले विद्यालय तहसम्मकै प्रतियोगिता अघि सारेको छ ।

प्रदेशस्तरीय नेशनल स्कुल च्याम्पियनसिप प्रतियोगिता प्रस्ताव गरिएको छ । उक्त प्रतियोगिता यही पुसबाटै सुरु हुनेछ । प्रतियोगिता गरेर च्याम्पियन टुंगो लगाउन जिल्ला र प्रदेश समितिलाई पत्राचार गरिएको क्रिकेट संघका सचिव खड्काले जानकारी दिए । जसअनुसार जिल्ला समितिले आफ्नो क्षेत्रका स्कुलहरुबीच प्रतियोगिता गरेर च्याम्पियन छनोट गर्नुपर्नेछ ।

जिल्ला च्याम्पियन टिमले प्रदेशस्तरीय प्रतियोगिता खेल्नेछ । र त्यसको विजेताले बल्ल २५ ओभरको नेशनल स्कुल च्याम्पियनसिप प्रतियोगितामा भाग लिन पाउनेछ ।

क्रिकेट संघले आयोजना गर्ने यो प्रतियोगितामा सात वटा प्रदेशका टिमको सहभागिता रहने छ र खेलहरु काठमाडौंका साथै जनकपुर र वीरगञ्जमा गर्ने क्यानको योजना छ ।

यस्तै आगामी २० माघबाट दाङमा सुशील कोइराला च्याम्पियनसिप ट्रफी आयोजना हुनेछ । यसको पनि टिम छनोट शैली भने नेशनल स्कुल च्याम्पियनसिपकै जस्तो छ । हरेक प्रदेशले जिल्लाहरुबीच प्रतिस्पर्धा गराएर च्याम्पियन टिम छनोट गर्नेछ । सात प्रदेशको च्याम्पियन र आयोजक दाङ गरी ८ टिमले सुशील कोइराला च्याम्पियनसिप ट्रफी खेल्ने क्रिकेट संघले जनाएको छ ।

यस्तै क्रिकेट संघले यू–१६ पुरुषका लागि दुई राष्ट्रिय प्रतियोगिता गराउने योजना अघि सारेको छ ।
२८ माघदेखि ७ फागुनसम्म मनमोहन मेमोरियल यू–१६ नेशनल क्रिकेट प्रतियोगिता हुनेछ । २५ ओभरको यो प्रतियोगिताका सबै खेल पोखरा क्रिकेट मैदानमा हुनेछ ।

यस्तै २८ फागुनदेखि ४ चैतसम्म पोखरामै यू–१६ नेशनल क्रिकेट प्रतियोगिता हुनेछ ।

प्रदेशस्तरीय र यू–१६ प्रतियोगिता सेतो पोसाक र रातो बलमा खेलाउने क्रिकेट संघले बताएको छ । ‘हामीले विद्यालयस्तरीय प्रदेशस्तरीय खेलकुद र यू–१६ प्रतियोगिता सेतो पोसाक र रातो बलमा गर्ने निर्णय गरेका छौं’ सचिव खड्काले बताए ।

यू–१९ पुरुष टिम अहिले विश्वकपको तयारीमा छ । वर्षायाम सकिएपछि आगामी भदौ–असोजमा ५० ओभरको राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने क्रिकेट संघले बताएको छ ।

एलिट ट्रफी

क्रिकेट संघले आगामी २८ पुसदेखि २० माघसम्म प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता गर्दैछ । प्रतियोगिताका खेलहरु त्रिवि क्रिकेट मैदान, कीर्तिपुर र मूलपानी क्रिकेट मैदानका साथै सिद्धार्थ रंगशाला, भैरहवामा हुनेछ ।

सात प्रदेश र विभागीय टिमहरु सहभागी हुने प्रतियोगिताका खेलहरु राउण्ड रोबिन लिगका आधारमा हुनेछन् । क्यानले यसअघि सेमिफाइनल दुईदिवसीय र फाइनल तीनदिवसीय गर्ने भनेको थियो । तर राष्ट्रिय टिम अन्तर्राष्ट्रिय प्रतियोगितामा व्यस्त रहने भएकाले प्रधानमन्त्री कपका सबै खेल एकदिवसीय हुनेछ ।

शीर्ष दुई टिमले फाइनल खेल्नेछ ।

तर प्रधानमन्त्री कपको शीर्ष चार टिमले आगामी चैत–वैशाखमा एलिट ट्रफी खेल्न पाउने छ । ‘प्रधानमन्त्री कपको शीर्ष चारमा पर्दा अतिरिक्त खेल खेल्न पाउँछौं भने होस् भनेर हामीले यसो गरेका हौं’, क्रिकेट संघका सचिव पारस खड्काले भने ।

एलिट ट्रफीमा लिग चरणका खेलहरु दुई दिवसीय हुनेछ भने फाइनल तीनदिवसीय हुनेछ । यो खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुर र मूलपानी मैदानमा हुनेछ ।

यस्तै चैत (मार्च–अप्रिल)मा राष्ट्रिय टी–२० प्रतियोगिता गर्ने क्रिकेट संघको योजना छ । ‘अन्तर्राष्ट्रिय क्यालेण्डर एकदमै व्यस्त भएकाले हाम्रा राष्ट्रिय टिममा भएका १५/२० जना खेल्न नपाउने अवस्था आयो भने प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता गर्नैपर्ने हुन्छ’, खड्काले भने, ‘राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडीहरुलाई जतिसक्दो एक्सपोजर दिने र अपग्रेड गर्ने प्रयासमा हामी छौं ।’

यस्तै आगामी १५ वैशाखदेखि १२ जेठसम्म दुई दिवसीय क्यान प्रिमियर कप गर्ने क्रिकेट संघको प्रस्ताव छ । सचिव खड्काका अनुसार प्रदेशहरु मिलेर वा क्रिकेट संघले प्रयोजक खोजेर प्रतियोगिता गर्ने भन्ने छलफलमै छ । ‘एउटा प्रदेशले अर्को प्रदेशलाई बोलाएर पनि खेल्न सक्ने गरी खाका बनाउँछौं’, उनले भने ।

८ मार्चमा प्रदर्शनी खेल

क्रिकेट संघले ८ मार्च (२५ फागुन) मा कीर्तिपुरमा महिला टिमको प्रदर्शनी खेल गर्ने प्रस्ताव अघि सारेको छ । देशभरका वा अन्तर्राष्ट्रिय खेलाडी बोलाएर एक्जिविसन म्याच गर्ने भन्ने योजना छ’ क्यानका सचिव खड्काले भने ।

आगामी चैतमा ललितपुर मेयर कप हुनेछ । यसको फम्र्याट भने अझै टुंगो लागेको छैन । खड्काका अनुसार बुधबार मात्र सम्पन्न प्रधानमन्त्री कप टी–२० को शीर्ष टिमलाई खेलाउने कि पुरानै फम्र्याटमा गर्ने भन्ने छलफमै छ ।

यस्तै यू–१९ महिलातर्फ १०–२५ माघमा टी–२० मायादेवी कप नेशनल क्रिकेट हुुनेछ भने फागुन चैतमा यू–१६ महिला नेशनल तथा ट्यालेन्ट हन्ट हुनेछ ।

विभागीय टिमलाई छुट्टै प्रतियोगिता

नेपालको राष्ट्रिय टिमबाट खेलेका थुप्रै पुरुष खेलाडी विभागीय टिममा आवद्ध छन् । जिल्ला, प्रदेशतरीय प्रतियोगिताबाट आएका टिमहरुलाई समेटेर गराउने राष्ट्रिय प्रतियोगितामा समेट्न सहज छैन । त्यसैले क्रिकेट संघले विभागीय टिमहरुलाई नै लक्षित गरेर डिपार्टमेन्टल डर्बी प्रतियोगिता प्रस्ताव गरेको छ ।

तीनदिवसीय प्रतियोगिता काठमाडौंमा गर्ने क्यानको प्रस्ताव छ ।

यसबाहेक फागुन ११ देखि १९ सम्म चितवनमा इण्डो नेपाल टी–२० क्रिकेट हुनेछ भने ४–२८ वैशाखमा गणेशमान सिंह टी–२० नेसनल क्लब च्याम्पियनसिप प्रतियोगिता हुनेछ । यसमा प्रदेशसँगै विभागीय टिमहरुले खेल्न सक्नेछन् ।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगितापछि टी–२० नेशनल क्लब च्याम्पियनसिप गर्ने अर्को प्रस्ताव छ ।
नेपाल प्रिमियर लिग आफैं गर्ने

क्रिकेट संघले राष्ट्रियस्तरको टी–२० फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आफैंले गर्ने बताएको छ ।
पछिल्लो पटक भारतको विवादास्पद कम्पनीलाई प्रतियोगिताको सम्पूर्ण जिम्मा दिँदा क्यान विवादमा परेको छ । प्रतियोगितामा म्याच फिक्सिङ समेत भएको थियो ।

अब भने क्रिकेट संघले प्रतियोगिताको सम्पूर्ण स्वामित्व आफूसँगै राख्ने बताएको छ । ‘पछिलो संस्करण गतिलो सिकाइ भएको छ’, सचिव खड्काले भने, यस पटक भने हामी आफ्नै स्वामित्वमा गर्नेछौं किनकी यो आम्दानीको ठूलो स्रोत हो ।’

१६ नोभेम्बरबाट ७ डिसेम्बरसम्म लिग हुनेछ । सचिव खड्काका अनुसार फ्रेन्चाइज टिमका लागि व्यवसायिक समूहहरुले चासो देखाएका छन् ।

क्रिकेट संघले देशभर हुने अरु लिगहरु पनि अनुमति लिएर मात्र गराउने तयारी गरेको छ । क्रिकेट म्यानेजर विनोद दासका अनुसार राष्ट्रिय खेलाडीहरु सहभागी हुने लिगका लागि मापदण्डहरु नै बनाउने काम भइरहेको छ ।

त्यसअनुसार स्वीकृति लिएर मात्र फ्रेन्चाइज लिगहरु गर्न लिने क्रिकेट संघको तयारी छ । अहिलेसम्म चैतमा सुनसरीमा एमएम कप, वैशाखमै सप्तरी प्रिमियर कप, जेठमा कोशी प्रिमियर कप र मंसिर–पुसमा अर्जुन ट्रफी गर्ने कार्यक्रम छ ।

यस्तै वैशाख–जेठमा जनकपुरमा महेन्द्रनारायण निधि राष्ट्रिय क्रिकेट हुने बार्षिक क्यालेण्डरमा उल्लेख छ ।

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?