२० पुस, धरान । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले धरानका मेयरको प्रशंसा गरेका छन् ।
१२३औं धरान स्थापना दिवसको अवसरमा शुक्रबार आयोजना गरिएको कार्यक्रममा काठमाडौंका मेयरलाई पनि बोलाइएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर बालेनले धरानका मेयर हर्क साम्पाङले सुरु गरेको श्रम संस्कृतिको प्रशंसा गरे ।
सरकारले पैसा देओस्, नदेओस् मतलब नगरी श्रम संस्कृति बसालेको उनले बताए । ‘लोप हुँदै गएको श्रम संस्कृति अगाडि बढाउनुभएको छ । आफैंले स्रोतसाधन जुटाएर त्यति टाढाबाट पानी ल्याउन सफल हुनुभएको छ’ उनले भने, ‘यो सबैले सिक्नुपर्छ, सबै स्थानीय सरकार, प्रदेश र संघ सरकारले सिक्नुपर्ने उदाहरण हो ।’
सांसदहरुले केही गर्न सक्दैनन्, मेयर भनेको कार्यकारी हो, उसले पो गर्न सक्छ भन्ने गरिएको बालेनले सुनाए । ‘उहाँले गर्नुभएको काम गर्न मेयर पनि हुनुपर्दैन, सांसद पनि हुनुपर्दैन । यो सांसदहरुले सिक्न जरुरी छ’ उनले अघि भने, देशको कुन सांसदलाई मेयर हर्क साम्पाङले गरेको काम अनुकरण गर्न कुन नियमले रोक्छ ?’
इच्छाशक्ति भयो भने काम गर्न सकिन्छ भनेर मेयर हर्क साम्पाङले देखाएको भन्दै काठमाडौंका मेयर बालेनले अघि भने, ‘विशेषगरी सांसदहरुले उहाँबाट सिक्न जरुरी छ ।’
रुख–बिरुवा जोगाउन धरानका मेयरले गरेको कामबाट देशले सिक्नुपर्ने समेत उनले बताए । ‘बोटबिरुवा जोगाउन, खोलानाला, पहाड जोगाउन सबै पालिकाहरुले धरानबाट सिक्नुपर्छ’ उनले भने ।
दुई लेनको सडक भएको बेला आफू धरान आएको, अहिले ४/६ लेन समेत बनेको देख्दा खुसी लागेको उनले सुनाए । तर कतिपय कुरामा धरान जस्तो छ, त्यस्तै रहनुपर्ने भन्दै मेयर बालेनले भने, यहाँको संस्कार सधैं जोगिराख्नुपर्छ ।’
उनले आकाश भैरवको मूर्ति धरानका मेयर साम्पाङलाई मायाको चिनोका रुपमा हस्तान्तरण गरे ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4