+
+

सहकारी क्षेत्र बचत तथा ऋणको कारोबार गर्ने मात्रै नबनोस् : सभामुख घिमिरे

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २३ गते १३:३४

२३ पुस, काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले कृषिलाई आधुनिक ढंगबाट अघि बढाइ उत्पादन वृद्धि गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । सोमबार काठमाडौंमा आयोजित नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको १६औं साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘कृषिलाई आधुनिक ढंगबाट अघि लैजाने, बाँजो जमिनलाई उर्वर बनाउने त्यसमा पनि कुन ठाउँमा के कुराको उत्पादन वृद्धि गर्न सकिन्छ, त्यसको बजारीकरण कसरी गर्ने र सम्भव भएसम्म यान्त्रीकरणबाट अघि बढ्ने र धेरै सहकारीको माध्यमबाट दूरदराजमा पनि निजी क्षेत्र नपुगेका ठाउँमा पनि सेवाको हिसावबाट काम गर्नुपर्छ ।’

उनले केही वर्ष अघिसम्म नेपाल कृषिमा आत्मनिर्भर रहेको भएपनि पछिल्लो समय कृषिमा परनिर्भर बन्दै गइरहेको बताए । उनले व्यक्तिले मात्रै कृषि क्षेत्रको उपार्जन गर्ने र उत्पादकत्व वृद्धि गर्नेकुरा सम्भव नरहेकाले सबै मिलेर कृषिमा आत्मनिर्भर बन्नुपर्ने बताए ।

‘ नेपाल कृषिप्रधान मुलुक हो । केही वर्षअघिसम्म मात्रै पनि हामी कृषिमा आधारित जीविकोपार्जन गर्दथ्यौँ भने कृषिजन्ज्य सामग्री निर्यात गरेर हाम्रा अन्य आवश्यक वस्तु आयात गर्ने र देशको अर्थतन्त्र धान्ने काम गरेका थियौँ । तर केही दशकअघिबाट कृषिको क्षेत्रमा पछि परिरहेका छौँ ।’ उनले भने ।

उनले कृषि क्षेत्रलाई राज्यले दिनुपर्ने प्राथमिकता र कृषि क्षेत्रलाई समेत समेटेर बनाइएको सहकारी ऐन, २०७४ पछि पनि कृषिमा कुनै प्रभाव नपरेको बताए । उनले सहकारी क्षेत्र वचत तथा ऋणको कारोबार गर्ने किसिमको मात्रै हुनु नहुने जिकिर गरे ।

उनले भने, ‘ सहकारीले वित्तीय क्षेत्रका कामहरु जे काम गरिरहेको छ, वचत तथा ऋणको कारोबार गर्ने खालको काममात्रै भइरहेको गुनासो सुनेको छ । यस्तो नहोस् अबको आउने दिनमा।’

उनले कृषिलाई आधुनिक ढंगबाट अघि लैजाने, बाँजो जमिनलाई उर्वर बनाउने कुन ठाउँमा के कुरा उत्पादन गर्ने ? यसको बजारीकरण कसरी गर्ने र सम्भव भएसम्म कृषिलाई यान्त्रीकरणबाट अघि बढाउने बारेमा अध्ययन हुन जरुरी रहेको बताए ।

‘देशमा आएको राजनीतिक परिवर्तन र कृषि क्षेत्रलाई राज्यले दिनुपर्ने प्राथमिकता र कृषि क्षेत्रलाई समेत समेटेर बनाइएको सहकारी ऐन, २०७४ यो आइसकेपछि  कृषि क्षेत्र व्यवस्थित ढंगबाट अघि बढाउनुपर्ने समय आएको छ।  सहकारीले किसान र कृषि क्षेत्रलाई समेट्ने गरेर जति ध्यान दिनुपर्दछ।’ उनले भने ।

सभामुख घिमिरेले सरकारले किसानहरुलाई आफ्नो नीतिअन्तर्गत समेट्नलाई तीन खम्बे अर्थनीति लिएर सहकारीको माध्यमबाट, राज्यले लगानी गर्ने र निजी क्षेत्रलाई पनि समावेश गर्ने सिद्धान्त अपनाएर प्रभावकारी रुपमा काम गर्दै जानुपर्ने बताए ।

उनले सहकारी आन्दोलनलाई प्रभावकारी ढंगबाट अघि लैजान र छरिएर रहेका किसान, साना किसानहरुलाई एक ठाउँमा ल्याइ काम गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?