 
																			२६ पुस, पोखरा । पोखराको मित्रमिलन सहकारीमा ठगी आरोपमा थप एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहकारीका लेखा संयोजक सूर्य अधिकारी छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकका अनुसार लेखा संयोजक अधिकारीलाई बुधबार पक्राउ गरिएको हो । बिहीबार उनलाई जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
‘हामीले अदालतमा पेश गरिसकेका छौं । आदेश आएको छैन’, उनले भने । अधिकारीलदाई पोखरा महानगर १३, कसेर निवासबाटै पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
मित्रमिलन सहकारी ठगी प्रकरणमा प्रदेश सहकारी रजिष्टार कार्यालयका पूर्व रजिष्टार तथा कुश्मा नगरपालिका पर्वतका प्रमुख प्रशासकीय अधिकृत उदयराज पराजुलीसहित संस्थाका अध्यक्ष रमण पौडेल, सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, सल्लाहकार सदस्य राजु बराल र सेयर सदस्य बुद्धिसागर पौडेल पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।
सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीको तत्कालीन राजिस्ट्रारको जिम्मेवारी सम्हालेका बेला मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न १ करोड २५ लाख रुपैयाँ घुस लिएको आरोप पराजुलीमाथि छ । उनी पुस ११ गते कुश्मा नगरपालिकाको आफ्नो कार्यकक्षबाटै पक्राउ परेका थिए ।
स्याङ्जाका बुद्धिसागर पौडेल मंसिर २९ र नुवाकोटका गोपाल खनाललाई प्रहरीले मंसिर २८ गते पक्राउ गरेको थियो । त्यसअघि नै पोखरा २५ का राजु बराललाई पक्राउ परेका थिए ।
मित्रमिलन सहकारी प्रकरणमै पोखरा महानगरपालिका वडा नं. २१ का वडाध्यक्ष दीपक सुवेदीसहित विभिन्न मितिमा ३२ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । वडाध्यक्ष सुवेदी, सहकारीका उपाध्यक्ष विजय लम्साल, सहकारीका पूर्व लेखा समिति सदस्य तथा ताण्डव न्युज पत्रिकाका प्रधान सम्पादक अर्जुन गिरी, कानुन व्यवसायी जनकल्याण पराजुली लगायतलाई पक्राउ पुर्जी जारी भएको हो । उनीहरु हालसम्म फरार सूचीमै छन् ।
पोखरा महानगर–९, नयाँ बजारस्थित सहकारीका सञ्चालक र अन्य मिलेर करिब २७ करोड रकम हिनामिना पारेको आरोप छ । उक्त सहकारीका ३३ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । जसमध्ये अझै २६ जना फरार छन् ।
सहकारीका पीडितले बिहीबार नै जिल्ला प्रशासन कार्यालय कास्कीमा आरोपीहरुलाई छिटो पक्राउ गर्न ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीलाई उनीहरुले आज ज्ञापनपत्र बुझाएका हुन् ।
पीडितहरुले ज्ञापनपत्रमा १७ मंसिरमा जिल्ला प्रहरी कार्यालय कास्कीमा सामूहिक जाहेरी जाहेरी दिएको भएपनि हालसम्म सबै पक्राउ नपरेको आरोप लगाएका छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4