+
+
कथा :

प्रस्ताव क्याफे

मेरो कुराले उसको अनुहारमा एकाएक चमक भरिएर आयो। कालो बादल फाटेर घाम बाहिर निस्किए जस्तै उसको अनुहार उज्यालियो।

मनोज रेग्मी मनोज रेग्मी
२०८० पुष २८ गते २१:०२

‘कसरी राख्छन् यार, मान्छेहरू प्रेम प्रस्ताव?’, साँझपख फेवाताल किनारामा हावा खान निस्किएका बेला उसले एक्कासी सोध्यो।

‘एक्कासी किन चाहियो तँलाई फेरि?’, मैले चिढिए झैं गरी भनें।

‘तँलाई के ढाँट्नु, अफिसमा एकजना सहकर्मीलाई मन पराउन थालेको छु, यार! तर कति दिन भयो भन्न खोजेको, भन्नै सकिरहेको छैन, हेर न!’, उसले कुरा चुहायो।

‘ओहो, कुरा त्यस्तो पो! मनमा प्रेमको फूल फुलाइरारै’च र पो, जतिबेला पनि मखलेल देखिन्छ आजकल।’, मैले कुहिनोले ठेलेर जिस्क्याइदिएँ।

ऊ हल्का लजायो। मैले झन् जिस्काउँदै भनें, ‘मसँग नि लजाको हेर न!’

ऊ झन् रातोपिरो भयो, र चुप बस्यो। कहिल्यै नलजाउने ऊ त्यसरी लजाएको देखेर मलाई झन् जिस्क्याउन मन लागिरहेको थियो, तर फेरि बाँकी कुरा नगर्ला भन्ने डरले आफूलाई लगाम लगाएँ।

‘अनि ढिलो होला नि, मनको कुरो भनिहाल्! हेरेको हेर्यै होलास् नि फेरि!’

‘प्रयास नगरेको कहाँ हो र! ऊ अगाडि पर्नासाथै बोल्ती नै बन्द हुन्छ मेरो।’, उसले झुकेर चेप्टो ढुङ्गा टिपेर तालमा गाई तार्दै भन्यो।

‘तँलाई थाहा छैन, यहीं लेकसाइडमा एउटा नयाँ क्याफे खुलेको छ रे। प्रेम प्रस्ताव राख्ने वातावरण तयार पारिदिने क्याफे। तँ पनि उसलाई कफी पिलाउने बहानामा त्यहीं लिएर जा न। कस्ता कस्ताको बोली फुट्छ रे त्यहाँ गएपछि। तेरो पनि काम बनिहाल्छ कि न!’, मैले मेरो अफिसको एक जना कर्मचारीले भनेको सुनेकै आधारमा उसलाई सुझाइ दिएँ।

‘के भन्छ? एउटा क्याफेले कसरी म जस्तो अन्तरमुखीलाई प्रेम प्रस्ताव राख्न सहज तुल्याइदिन सक्छ र?’, उसको प्रश्न जायज थियो, जसको जवाफ मसँग थिएन।

‘त्यही पनि एक पटक गई हेर्दा के नै पो बिग्रिन्छ होला र! काम बने बनिहाल्यो। नत्र एक कप कफी त जोसँग जहाँ गएर पनि पिउन सकिन्छ नि!’, मैले हल्का उकेरा लगाएँ।

‘कहाँ छ र त्यस्तो क्याफे? मैले त आजसम्म सुनेकै थिइनँ त।’, उसले चासो देखायो।

‘यसअघि प्रेम प्रस्ताव राख्नुपर्ने स्थिति पनि त आएको थिएन नि’, मैले हाँसेरै भनें।

यसपालि ऊ पनि मुस्कुरायो।

गर्मीको समय थियो। त्यसैले हामी हिंड्दा हिंड्दै पसिनाले चप्लक्कै भिजेका थियौं।

त्यसैले फेवातालको छेउमा राखेको एउटा बेन्चमा बस्यौं। हाम्रो बेन्चको नजिकै एउटा ठेलामा काँचो नरिवलको पानी बेच्न राखिएको थियो। हामीले एकुन्टा पानी लियौं, र तालपारि डाँडामाथिको शान्ति स्तूपमा बलेको बत्ती हेरेर नरिवलको पानी पिउन थाल्यौं।

यत्तिकैमा उसले मोबाइल झिकेर केही टाइप गर्न खोज्दै सोध्यो, ‘के छ रे त्यो क्याफेको नाम?’

‘के पारा हो हँ तेरो? बफाएको सुइरा जस्तै पूरा बाफिएर उकुसमुकुस भएको छ कि कसो हो?’, ऊ मसँग कहिल्यै रिसाउँदैन, त्यसैले पनि मलाई उसलाई चिढ्याउन मजा लाग्छ, त्यसैले भनें।

‘ह्या…, नजिस्की न! याँ आफूलाई कस्तो भाको छ! ऊ भने साटो फेरे झैं गरी खालि जिस्किन्छ!’, उसले अनुहार एकै ठाउँमा सोहोरेर भन्यो।

‘ल ल पख्! म त्यो अफिसको साथीलाई म्यासेज गरेर क्याफेको नाम सोध्छु।’, मैले गोजीबाट मोबाइल झिक्दै भनें।

म्यासेज लेखेको एकैछिनमा रिप्लाई आयो। लेखेको थियो, ‘के हो, सर, पारा? यो म्यासेज भाउजूलाई फर्वार्ड गर्दिम्?’

मैले फेरि लेखें, ‘हाहा, मलाई होइन हो, सर! साथीलाई हो!’

‘हाहा, मलाई थाहा थियो। हजुरलाई जिस्काइदेको मात्र थिएँ। क्याफेको नाम ‘प्रस्ताव क्याफे’ हो। लेकसाइडको स्ट्रिट नम्बर ४ को मुखैमा छ। बाटोको देब्रेपट्टि।’

‘ए, ल यार। धन्यवाद! भोलि भेटौंला!’, मैले लेखिपठाएँ, र उसको जवाफ प्रेमलाई देखाइदिएँ।

उसले ठेगाना गुगल म्यापमा हानेर सेभ गर्‍यो।

त्यतिबेलासम्म झमक्क साँझ परिसकेको थियो। हामीले नरिवलको पानी अघि नै सकिसकेका थियौं। नरिवलको बाँकी रहेको खाली डल्लोलाई ठेलामा राखिएको बोरामा फालेर हामी घरतिर लाग्यौं।

भोलिपल्ट साँझ हामी गौरीघाटमा भेट भयौं। उसले डुङ्गा लिएर तालतिर जाऊँ भन्ने आशय व्यक्त गरेपछि हामी तालको किनारतिर गयौं। गौरीघाटमा हाम्रो डुङ्गा थियो। म टहरोबाट बहना लिएर आउँदा ऊ हाम्रो १३ नम्बरको डुङ्गाको माउमा गएर बसिसकेको थियो।

डुङ्गालाई हल्का तालतिर ठेलें, र आफू बुरुक्क उफ्रिएर माउमा चढें। त्यसपछि डुङ्गा खियाउँदै उसको अनुहारतिर नजर डुलाएँ। आज उसको अनुहार मलिन थियो।

‘के भयो? अघिनै देखि नुन खाको कुखुरा जस्तो झोक्राइराछस् त?’, मैले बहनाले खियाउने पाटो बदल्दै सोधें।

ऊ केही बोलेन। केवल बहनाले खियाउँदा बनेका भुमरीहरू हेरेर एकोहोरो टोलाइरह्यो।

‘आज ठूलो आँट गरेर कफी पिउने प्रस्ताव राखेको, काम छ भनेर जानै मानिनँ, यार!’, उसले बल्ल कारण बतायो।

‘साँच्चै काम थियो होला, त्यही भएर काम थियो भनी होला नि त! यत्ति सानो कुरामा पनि मुख फुरौला जस्तो फुलाउन पर्छ त?’, मैले सोचेको थिएँ, उसले प्रेम प्रस्ताव राख्यो, र त्यो अस्वीकार भयो। तर वास्तवमा उसको अहंमा चोट पुगेको रहेछ। खासमा केही भएकै होइन रहेछ।

‘हुन त हो, तर पनि…’, उसले आफ्नो अञ्जुलीले तालको पानी उठाउँदै भन्यो।

‘के तर पनि? भोलि फेरि भनी हेर्। तँलाई माया गर्दिनँ भनेर तेरो प्रेमै अस्वीकार भए जस्तो पो गरिराछस् त? मायामा कति गर्दा हार खाँदैनन्, मान्छेहरू! तँ यसै के-के सोचिबस्छस्!’

मेरो कुराले उसको अनुहारमा एकाएक चमक भरिएर आयो। कालो बादल फाटेर घाम बाहिर निस्किए जस्तै उसको अनुहार उज्यालियो।

त्यसपछि एक घण्टा तालमा पौडी खेलेर हामी घर फर्कियौं।

भोलिपल्ट साँझ मलाई भेट्दा ऊ मख्ख थियो। अफिसबाट सिधै आएको थियो, त्यसैले पनि केही पक्कै भएको हुनुपर्छ भन्ने मैले अनुमान लगाएँ। उसको बोलीमा पनि म खुसीको उमंग महसुस गर्न सक्थें।

‘के भयो? पानीपुरी झैं फुलेर आएछस् त?’, उसलाई देख्नासाथै खुल्दुल मेट्नलाई सिधै सोधिहालें।

‘कतै गएर कुरा गरौंला। आइज बस्।’, उसले बाइक स्टार्ट गर्दै भन्यो।

म लुरुक्क गएर उसको बाइकको पछाडि बसें।

उसले मलाई बसुन्धरा पार्कमा लिएर गयो। बाइकबाट उत्रेर हामी पार्कको कुनामा राखेको एउटा बेन्चमा गएर बस्यौं।

‘के भयो? आज गइस् कि के हो कफी डेट? अनि भनिस् त मनको कुरा?’, बाटोभरि उसले चुइँक्क केही कुरो फुत्काएको होइन। मेरो मुटु भने बाटोभरि भ्यागुताको घाँटी जस्तो फुल्ने सुक्ने भएको थियो।

‘के भयो भन् न!’

ऊ बल्ल सुरू भयो-

आज बिहान म आफ्नै अफिसमा थिएँ। ऊ आई, र भनी, ‘हिजोको लागि सरी है, प्रेम सर! त्यस्तै पर्यो के! आज के छ अफिसपछि? आज चाहिं कफी पिउन सकिन्छ है! तपाईंको मिल्छ यदि भने?’

मलाई उसको त्यो प्रस्ताव, के खोज्छस् भोको, खाना भने जस्तै भयो। मैले कत्ति पनि बेर नलगाई ‘हुन्छ!’ भनें।

ऊ गएपछिको मेरो ध्याउन्न कतिबेला पाँच बज्छ भन्ने मात्रै भयो। घडीसँग जिन्दगीमा यति साह्रो रिस मलाई कहिल्यै उठेको थिएन। कतिसम्म भने अफिसको घडी त मैले पाँच बजेको बनाएर ब्याट्री नै झिकिदिएको छु।

अन्तत: मेरो प्रतीक्षाको घडी समाप्त भयो। यसै त अफिसकाले कुरा काट्छन्, सँगै हिंडेको देखे भने झन् के के मात्र कथा बाँकी नराख्लान् भन्ने डरले छुट्टाछुट्टै जाने हाम्रो योजना थियो।

अफिसबाट निस्किएपछि म बाइकमा अघि लागें। उसले आफ्नो स्कुटरमा मलाई पछ्याई। त्यसपछि मैले उसलाई सिधै मेरो योजना बमोजिम ‘प्रस्ताव क्याफे’ मा लिएर गएँ।

गज्जबको रहेछ क्याफे त! भित्र छिर्ने बित्तिकै केही अँध्यारो लाग्छ। तर केही भित्र गएपछि जताततै रातो रङका बत्तीहरू झुन्डिरहेका देखिन्छन्। रातो बत्तीको प्रकाशले हो या भित्ताको रङ नै रातो हो, खुट्याउनै सकिंदैन। भित्ताभरि गीतांश, कवितांश र भनाइहरू लेखिएका छन्। ती सबैले प्रेम प्रस्ताव गर्न उक्साउँछन्।

टेबलको मेन्यू पनि रातै रहेछ। प्रत्येक टेबलका भासहरूमा राता गुलाफका फूलहरू राखिएका छन्। टेबलपोस पनि रातै छन्। वेटरहरूको ड्रेस पनि रातै। प्रेममय वातावरण सृजना गर्न कुनै कसर बाँकी नराखिएको रहेछ त्यहाँ।

हामी दुइटा पानको पातले नम्बर जनाएको टेबलमा गएर बस्यौं। दुईजना भन्दा बढी बस्न नमिल्ने गरी टेबलहरू राखिएका थिए। हामी बसेको एकैछिनमा रातो सर्ट र रातो पाइन्ट लगाएका वेटर अर्डर लिन आइपुगे। मैले उसलाई सोधेर दुइटा क्यापुचिनो मगाएँ।

कफी नआउन्जेल हामीले बोल्ने कुनै विषय नै पाएनौं। या भनौं, कुराको सुरूवात गर्ने फेरो नै पाएनौं। त्यसैले क्याफेको भित्तामा कोरिएका टुक्राहरू पढ्न थाल्यौं।

‘मैले मेरो मनको कुरा भनेको भए, मेरो कथा आज बेग्लै हुनेथियो!’, म यो टुक्रा पढ्दै आँट बटुल्दै थिएँ, उसले सोधी, ‘कहाँबाट थाहा पाउनुभयो यस्तो रोमान्टिक ठाउँको बारेमा? म त पहिलो पटक आउँदै छु। कुनै प्रेमी–प्रेमिका डेटिङ आउनलाई पर्फेक्ट ठाउँ रहेछ!’

‘वास्तवमा यो प्रेमी–प्रेमिका आउने ठाउँ भन्दा पनि प्रेमी–प्रेमिकाको छिनोफानो हुने ठाउँ हो, माया मिस!’, मैले आफ्नो कुरा राख्ने पृष्ठभूमि तयार पारें।

‘हँ! मैले त कुरा बुझिनँ नि, सर?’, उसले वरपर फेरि एक पटक हेरेपछि सोधी।

उसको प्रतिक्रिया सुन्दा मेरा आँखाहरू भित्तामा लेखिएको ‘कति कुरा भनेर नै मीठा मीठा मीठा हुन्छन्!’ पढिरहेका थिए। गीतको शब्द तोडमोड गरिएको थियो, तर कसैलाई प्रेम प्रस्ताव राख्न उक्साउन काफी थिए।

मैले उसको प्रश्नको उत्तर दिन खोज्दै गर्दा हाम्रो कफी आइपुग्यो। वेटरले कफी मात्र नछोडेर कफी भएको ट्रे नै हाम्रो अगाडि छोडेर गए। मैले ट्रेलाई नजिक तान्दै गर्दा देखें, एउटा कफीमा ‘म तिमीलाई प्रेम गर्छु।’ र अर्को कपमा ‘के तिमी पनि?’ भनेर अङ्ग्रेजीमा लेखिएको थियो। ती दुवै वाक्यलाई वरपरबाट पानको पातले घेरिएको थियो।

त्यो देखेपछि थरथर काँपेरै मैले दुवै कप ऊतिर बढाएँ, र उसलाई पहिले कफी लिन आग्रह गरें।

उसले पनि कफीमा लेखिएको दुवै पढी, तर केही बोलिनँ। बरू नदेखे झैं गरेर एउटा कप उठाई, र सुरुप्प पारी। उसले पहिलो घुट्को पिएर कप टेबलमा राख्दा कफीको सतहमा भएको वाक्यबाट ‘प्रेम गर्छु!’ मात्र बाँकी रहेको थियो।

ऊ आत्तिसकेकी थिई। सायद त्यतिबेलासम्म उसले मैले उसलाई त्यहाँ लैजानुको कारण बुझिसकेकी थिई। कफीको सतहमा लेखिएको दुई वाक्य पढेपछि ऊ अलि बढी नर्भस भएकी थिई! घरीघरी वरपर नजर डुलाउँथी। घरी नङ टोक्थी। घरी भित्ता त घरी टेबलमा भएको रातो गुलाफ हेरेर टोलाउँथी।

मलाई भने अब पनि भनिनँ भने बित्याँस पर्छ भन्ने लाग्न थालिसकेको थियो। केहीबेरको अन्तरद्वन्द्वपछि उसलाई सुनाउन भनी लेखेर रटेको कविता अकस्मात् मेरो मुखबाट फुस्कियो-

आज म तिम्रो अगाडि

आफ्नो मनको कुचीमा

प्रेमको रातो रङ लिएर उभिएको छु।

तिम्रो मनको क्यानभास

यदि खाली छ

र तिमीलाई कुनै आपत्ति हुँदैन भने,

के म त्यहाँ

मेरो प्रेमको चित्र कोर्न सक्छु?

एकै सासमा फुत्किएको मेरो कविता सुनेर ऊ अवाक् भई। न उठेर हिंड्न सकी, न त केही जवाफ दिन नै।

यसै बीचमा फेरि वेटर आयो। मेरो खाली र उसको आधा खाली कप दुवै उठाएर गयो।

‘मलाई केही समय चाहिन्छ, प्रेम सर। मैले तपाईंलाई त्यो दृष्टिकोणबाट कहिल्यै हेरेकै थिइनँ। मैले त तपाईंलाई एउटा असल साथीको रुपमा मात्र हेरेकी थिएँ। तपाईंको यस अप्रत्याशित प्रस्तावले म त अवाक् भएँ। मैले त अहिले केही सोच्नै सकिरहेको छैन। हामी भोलि आजकै समयमा यहीं भेटौं न है? म भोलिसम्ममा सोचेर भन्छु है?’, त्यति भनेर ऊ उठेर गई। म एकैछिन ऊ गएको बाटो हेरेर त्यहीं बसिरहें।

धेरै दिनदेखि मनमा गुम्सिएको कुरा सुन्नुपर्ने मान्छेको अगाडि व्यक्त भएकाले होला म हल्का बादल भएको थिएँ। त्यसपछि मैले बिल तिर्न वेटरलाई बोलाएँ। ऊ बिल लिएर आयो। बिल हेरेपछि कफीको पैसामा केही टिप्स हालेर दिंदै मैले भनें, ‘भित्र एउटा छुट्टै हजारको मुटु छ, त्यो तपाईं राख्नुस् ल!’

ऊ पैसा लिंदै मुसुक्क मुस्कुरायो, र एउटा हात छातीमा राखेर केही झुकेझैं गरेर धन्यवाद दियो। त्यसपछि म त्यहाँबाट हिंडे।

अहिले सरासर त्यतैबाट आउँदैछु। यो कुरा कतिखेर तँलाई सुनाऊँ भएको थियो, त्यसैले ड्रेस चेन्ज गर्न घर जान पनि भ्याएको छैन, हेर् न! भोलि कहिले होला भन्ने मात्र ध्याउन्न छ मेरो त! के होला त उसको जवाफ? के लाग्छ तँलाई?’

‘प्रेमको सुरूवात नै मित्रता हो। त्यत्रो फिलिममा भनेको क्लिसे डायलग सुनेको छैनस्?’, मैले उसलाई झन् हौसला दिएँ।

एकैछिन ऊ बोलेन, सायद कल्पनाको संसारमा हरायो।

‘जति सोचेको थिएँ, त्यति गाह्रो पनि हुँदैन रहेछ है, मनको कुरा भन्न!’, एकैछिन कल्पनाको दुनियाँमा कता कता कावा खाएर फर्की आएपछि उसले फूर्ति हाँक्यो।

‘हेर्दा हेर्दै केटो प्रेम प्रस्ताव राख्ने भैसक्यो!’, मतिर हेरेर मेरो प्रतिक्रिया पर्खिरहेको उसलाई हेरेर आँखा झिम्क्याउँदै मैले भनें।

ऊ लजाएर उँधोमुन्टो लगायो। भोलि साँझ सधैं झैं भेट्ने भनेर हामी छुट्टियौं।

****

त्यो साँझ प्रेम हावा खान आएन। म्यासेज छोडेको रहेछ, मैले पछि मात्र देखें। म्यासेज देखेपछि फोन लगाएँ। पूरा घण्टी सकिएर काटिनै लाग्दा उसले फोन उठायो।

‘के भो? आइनस् त आज?’, मैले सोधें।

‘गर्मीले हो कि केले हो, हल्का टाउको दुखेछ, यार। मैले म्यासेज छोडेको थिएँ त, आउँदिनँ भनेर। पाइनस् र?’, उसले सम्झाउँदै भन्यो।

‘अँ, भर्खर मात्र देखें, तेरो म्यासेज। म त यता गौरीघाट आइसकेको छु। केही छैन, आज तेरो भागको हावा पनि मै खाइदिऊँला। तँ ठीक त छस् नि?’, मैले कुरा धुत्ने आशयका साथ अन्तिममा प्रश्न झुन्ड्याइदिएँ। मलाई थाहा थियो, त्यो प्रश्न तुरुपको एक्का हो, जसलाई म सधैं ऊ विरुद्ध प्रयोग गर्ने गर्छु, र आजसम्म त्यसले काम नगरेको मलाई थाहा छैन।

त्यसपछि ऊ एकछिन केही बोलेन।

मैले फेरि अर्को जाल हान्दै भनें, ‘ल त नि, म हिंड्न जान्छु। टाउको दुखेछ भनेको होइनस्? आराम गर्। भोलि भेटौंला!’

‘ओई। पख् त!’

‘अँ भन्!’, म चौतारीमा अडेस लगाएर उसको कुरा सुन्न तयार भएँ।

त्यसपछि ऊ सुरू भयो-

‘म हिजोभन्दा एक घण्टा अगाडि क्याफे पुग्ने गरी निस्किएको थिएँ। एक त बेचैनीले रातभर सुतेको होइन। अर्को घर बसेर घडीको सुई सरेकै थिएन। हिजो क्याफेको वातावरण खुब मन परेको थियो। त्यसैले क्याफेमै गएर उसको प्रतीक्षा गर्छु भनेर चाँडै निस्किएको थिएँ।

शनिबार भएकाले होला, क्याफे खचाखच भरिएको थियो। भाग्यवश हिजोकै टेबल म पुग्दा खाली भैदियो। म त्यहीं गएर बसें। म बसेको केही क्षणमै हिजोकै वेटर अर्डर लिन आए। मैले एउटा क्यापुचिनो मगाएँ।

वेटर गएपछि मेरो अगाडिको भित्तामा लेखिएको पढ्न थालें। त्यहाँ लेखिएको थियो, ‘चिठ्ठी तिमीलाई लेखूँ भन्छु, मनको कुरा मनमै रह्यो!’

मनमनै सोचें, धन्न आँट गरें। प्रस्ताव अस्वीकार भए पनि मनको कुरा मनमै रह्यो भनेर खेद त रहने भएन नि!

फेरि अर्को टुक्रामा नजर डुलाएँ, त्यहाँ लेखिएको थियो, ‘मनको कुरा मनैले बुझ्ने त रिलमा हो, रियलमा त भन्नै पर्छ!’, त्यो पढेर अनायासै मुस्कुराउन पुगेको थिएँ म।

वेटर कफी लिएर आइसकेका थिए। ऊसँग मेरो आँखा जुधे। उनी मुसुक्क मुस्कुराए, र कफी टेबलमा राखिदिए। आजको कफीमा भने ‘शुभकामना!’, लेखिएको थियो।

मैले कफीको पहिलो चुस्की लिएर फेरि भित्तामा लेखिएका रमाइला कोटहरू पढ्न थालें। यत्तिकैमा नजिकैको टेबलबाट एउटा परिचित केटीको आवाज सुनियो। मेरा कानहरू अनायासै चनाखो भएर त्यो आवाज पछ्याउन थाले। त्यो परिचित आवाजले कुरैकुरामा मैले माया मिसलाई प्रस्ताव राख्दा भनेको कविता पो वाचन गर्यो।

त्यति बेलासम्म मैले त्यो आवाज ठम्याइसकेको थिएँ। स्वर र कविता दुवै चिनेपछि मेरो हंसले ठाउँ छोड्यो। म बसिरहेको कुर्सीबाट जुरुक्क उठें, र ढोकातिर लम्किएँ। बाटोमा अघि मलाई कफी ल्याइदिने हिजोकै वेटरसँग जम्काभेट भयो।

‘मेरो बिल उ त्यो टेबलमा बस्ने मिसले दिनुहुन्छ है?’, उसले केही भन्नुअघि नै मैले दुईजना बसेको टेबलतिर देखाउँदै भनें, र पछाडि नफर्किकन सरासर क्याफेबाट बाहिर निस्किएँ।

उसले मेरो मनको कुरा बुझेर हो कि किन हो, मलाई रोक्ने प्रयत्नै गरेन। म सरासर निस्किएर हिंडे।

क्याफेबाट बाहिर निस्किँदा शरीर पसिनाले लछप्पै भिजेको थियो। त्यसैले पसिना पुछ्न गोजीबाट रूमाल झिकें। रूमालमा हिजोको बिल गुट्मुटिएको रहेछ, खस्यो। टिपेर बिल खोलें। अनायासै मेरा आँखा बिलको पुछारमा गएर रोकिए। त्यहाँ लेखिएको थियो- ‘यस प्रस्ताव क्याफेमा राखिएको प्रेम प्रस्ताव अस्वीकार भएमा तपाईंले पिएको कफीमा कुनै शुल्क लाग्ने छैन।’

त्यसपछि बल्ल पो वेटरले मलाई नरोक्नुको कारण थाहा पाएँ।’

यति भनेर उसले फोन काटिदियो।

पोखरा-६, बैदाम, हाल क्यानबेरा, अष्ट्रेलिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?