+
+

माओवादीको निष्कर्ष : पार्टी विघटनको यात्रा रोकियो

फागुनमा विधान सम्मेलन

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २८ गते १९:३८

२८ पुस, काठमाडौं । सत्तारुढ माओवादी केन्द्रले तीन महिने अभियानले विघटनको यात्रालाई रोकेर पार्टी बनाउने आधार दिएको निष्कर्ष निकालेको छ ।

माओवादी केन्द्रले भदौ १६ देखि मंसिर १६ सम्म तीन महिना जनतासँग माओवादी विशेष रुपान्तरण अभियान चलाएको थियो । शनिबार बसेको स्थायी कमिटी बैठकमा प्रदेश इन्चार्जहरुले रिपोर्टिङ गरेका थिए । उनीहरुले अभियानका क्रममा वडा तथा टोलसम्म समिति बनेको र पार्टी गतिशील भएको ब्रिफिङ गरेका छन् ।

नेताहरुका अनुसार पछिल्लो समय माओवादीमा संगठित भन्दा पनि समर्थक र शुभेच्छुकलाई पनि सदस्य बनाउने, कतिपयको हकमा त अरुले नै शुल्क तिरेर सदस्य बनाइदिने प्रवृत्ति देखिएको थियो । तर यो पटक अभियानका क्रममा संगठित र साधारण सदस्य अलग गरिएको भन्दै एक नेताले भने, ‘लेबी तिरेर कमिटीमा बस्ने संगठित सदस्यहरु ५०÷६० प्रतिशत नवीकरण भएको छ ।’

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभियानले पार्टी विघटनतर्फको यात्रा रोकिएको विश्लेषण गरे । ‘यो अभियानले विघटनको यात्रालाई रोकेर पार्टी बनाउने आधार दिएको छ’, प्रचण्डले बैठकमा भने, ‘कार्यकर्ता पंक्तिमा रहेको निराशा थोरै भए पनि कम भएको छ । पार्टी जीवित छ भन्ने आएको छ ।’

बैठकपछि उपाध्यक्ष एवं पार्टी प्रवक्ता अग्नि सापकोटाले पनि अभियान विगतको भन्दा प्रभावकारी भएको र यसले पार्टीमा गतिशीलता ल्याएको निष्कर्षमा पुगेको सुनाए ।

अभियानले पार्टी निर्माणका लागि विश्वासको वातावरण बनाउने आधार दिएको भन्दै उनले भने, ‘यो पार्टी संरक्षणका लागि कोशेढुंगा बन्छ भन्ने हाम्रो निष्कर्ष छ ।’

विधान सम्मेलन गरेर पार्टी कमिटीहरुलाई छरितो बनाउने र नेतृत्व छनोट विधिलाई लोकतान्त्रिक बनाउने हो भने पार्टी बनाउन सकिने नेताहरुको निष्कर्ष छ ।

माओवादी बैठकले आगामी फागुन १–३ सम्म विधान अधिवेशन गर्ने निर्णय समेत गरेको छ । उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा रहेको पदाधिकारीहरु सम्मिलित मस्यौदा समितिले बनाएको विधानको मस्यौदा सुझावका लागि तल्लो कमिटीमा पठाइनेछ ।

मस्यौदा समितिका एक सदस्यका अनुसार कमिटीहरुको आकार सानो बनाउनुका साथै प्रदेश, जिल्ला, पालिका र वडाका कमिटीलाई अधिकार सम्पन्न बनाइएको छ । विभागहरुको संख्या घटाइएको छ ।

तल्लो कमिटीहरुबाट आएको सुझावका आधारमा २६ माघमा बस्ने स्थायी कमिटी बैठकमा विधानमाथि थप छलफल हुनेछ र, विधान अधिवेशनमा पेश हुनेछ ।

फागुनको विधान अधिवेशनमा १३०० भन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । शनिबारकै बैठकले विधान अधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोटको मापदण्ड बनाएको छ ।

माओवादीको स्थायी कमिटीको बैठकमा अरु दलहरुसँगको एकताबारे पनि छलफल भएको थियो । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग भएको समझदारी अनुसार प्रचण्डकै नेतृत्वमा पार्टी एकता संयोजन समिति बनाउने निर्णय बैठकले गरेको छ । तर नेपाल समाजवादी पार्टी मात्र होइन, अरु दलहरुसँग पनि एकता अगाडि बढाउनुपर्ने माओवादीको जोड छ ।

तीन वटा ऐन छिट्टै

बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक परिस्थितिबारे ब्रिफिङ गरेका थिए । उनले सरकारले सुरु गरेको भ्रष्टाचार विरोधी अभियानले तरंग सिर्जना गरेको बताए । आफू र पार्टीका वरिष्ठ उपाध्यक्ष समेत रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बोल्ड कदम नै चालेको भन्दै उनले भने, ‘गठबन्धनको सीमा हामी सबैलाई थाहा छ । फेरि पनि यतिमै रोकिने छैनौं ।’

मिटरब्याज पीडितहरुको सम्बोधन, वैदेशिक रोजगारीमा जानेहरुलाई सामाजिक सुरक्षा कोष अनिवार्य जस्ता काम गरेर सामाजिक न्यायको क्षेत्रमा केही काम गरेको उनले सुनाए ।

सरकारको नीति तथा कार्यक्रम र बजेटमा उत्पादन र रोजगारीमा जोड दिएपनि कार्यान्वयन त्यसअनुसार नभएको स्वीकार गरे ।

आर्थिक अवस्थामा पनि सुधार आएको र आर्थिक वृद्धिदर ४ प्रतिशतभन्दा माथि नै रहने विश्व बैंकको प्रक्षेपण आएको सुनाए । राष्ट्रसंघ महासभा लगायतका भ्रमणको चर्चा गर्दै उनले कूटनीतिक सम्बन्ध सन्तुलित रहेको दाबी गरे ।

एक स्थायी कमिटी सदस्यका अनुसार प्रधानमन्त्री प्रचण्डले यो पटक नीति तथा कार्यक्रम र बजेट निर्माणको परम्परागत शैली नै बदल्ने तयारी भइरहेको बताए ।

साथै संघीय निजामती, प्रहरी समायोजन र शिक्षा विधेयक हरहालतमा ल्याउने उनले बताएका छन् । संक्रमणकालीन न्यायलाई पनि छिटो सम्पन्न गर्नु सरकारको प्राथमिकता भएको प्रचण्डले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?