+
+

राष्ट्रिय सभा निर्वाचन : आजदेखि आचारसंहिता लागू हुने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २ गते ६:४९

२ माघ, काठमाडौं । यही माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको आचारसंहिता आज मध्यरातदेखि लागू हुँदैछ ।

निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्ने उद्देश्यले निर्वाचन आयोगले आजदेखि आचारसंहिता लागू गर्न लागेको हो ।

मतदान केन्द्र बन्द नहुन्जेलसम्म आचारसंहिता लागू हुने छ । आचारसंहिता लागू भएपछि भोट माग्न पाइँदैन । कुनै पनि प्रक्रारका अन्तरक्रिया, सम्मेलन, गोष्ठी, उदघाटन वा निर्वाचनसँग सम्बन्धित छलफल गर्न पनि पाइँदैन ।

सामाजिक सन्जाल, अनलाइन वा छापा माध्यमबाट पनि भोट माग्ने वा कुनै दल तथा उम्मेदवारको पक्ष-विपक्षमा सन्देश, सूचना वा समाचार राख्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।

आचार संहिता सरकार, सरकारका मन्त्री, कर्मचारी, राजनीतिक दल, उम्मेदवार, सुरक्षाकर्मी, संवैधानिक निकायका पदाधिकारी, शिक्षक, पत्रकार, सार्वजनिक पद धारण गरेका व्यक्ति, पर्यवेक्षक, अर्धसरकारी र निजी संघसंस्था लगायतमा लागू हुने निर्वाचन आयोगले जनाएको छ ।

मतदान हुने दिनको ४८ घण्टा अगाडि मतदानस्थलको तीन सय मिटर वरपरबाट प्रचार सामग्री हटाउनुपर्ने छ ।

आयोगले निर्वाचन आचार संहिताको पूर्णरुपमा पालना गर्न गराउन सरोकारवालाहरुलाई निर्देशन समेत दिएको छ । आचार संहिताको पालना गर्नु सम्बन्धित सबैको कानूनी तथा नैतिक दायित्व भएको भन्दै आयोगले यदि उल्लंघन भएमा कानूनी कारवाही हुने बताएको छ ।

राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ सिटका लागि हुने निर्वाचनको मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।

कुल ५९ सदस्यीय राष्ट्रिय सभामा गोला प्रथाबाट एक तिहाइ सदस्यको कार्यकाल ६ वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको दुई वर्षको कार्यकाल निर्धारण गरिएको थियो । त्यही गोलाप्रथाबाट ६ वर्षको कार्यकाल पूरा गरेर आगामी फागुन २० गते एक तिहाइ सदस्यहरु बिदा हुन लागेकाले रिक्त स्थान पूर्ति गर्न माघ ११ गते निर्वाचन हुन लागेको हो ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?