+
+

प्रधानमन्त्री प्रचण्ड युगान्डा प्रस्थान, पूर्णबहादुरले सरकार सम्हाल्ने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ४ गते ६:१९
Photo Credit : RSS

४ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड असंलग्न आन्दोलन (नाम) को १९औं शिखर सम्मेलनमा सहभागी हुन युगान्डा प्रस्थान गरेका छन् । उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान कतार एअरलाइन्सको विमानबाट त्यसतर्फ प्रस्थान गरेका हुन् ।

सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म गणतन्त्र युगान्डाको राजधानी कम्पालामा हुँदैछ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी छोरी गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउद, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी छन् । यसअघि मन्त्रीस्तरीय बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री साउद यही माघ १ गते राति नै त्यसतर्फ प्रस्थान गरिसकेका थिए ।

प्रधानमन्त्री प्रचण्डले ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ विषयको शिखर सम्मेलनमा शुक्रबार सम्बोधन गर्ने कार्यक्रम छ । सोही दिन प्रधानमन्त्री प्रचण्ड गणतन्त्र युगान्डाका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले आयोजना गर्ने राजकीय भोजमा सहभागी हुनेछन् ।

शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्री प्रचण्डले सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री प्रचण्ड यही माघ ७ गते बिहान काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

यसैबीच प्रधानमन्त्री प्रचण्डको अनुपस्थितिमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकार सम्हाल्ने छन् । राष्ट्रपति रामचन्द्र पौडेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई तोकेका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा भट्टराईले आज बिहान जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री पूर्णबहादुर खड्काले सम्हाल्ने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?