News Summary
Generated by OK AI. Editorially reviewed.- कांग्रेस नेता पूर्णबहादुर खड्काले विशेष महाधिवेशनसम्बन्धी पुनरावलोकन मुद्दामा सर्वोच्च अदालतलाई अग्राधिकार दिएर यथाशीघ्र अन्तिम फैसला गर्न आग्रह गरेका छन्।
- विशेष महाधिवेशन र १५औं महाधिवेशनको विवादबीच खड्का आफ्नै समूहसँग पनि खुलेका छैनन् र सर्वोच्चको निर्णयपछि मात्र मूल पार्टीमा फर्किने मनस्थितिमा छन्।
- देउवा समूहका रणनीतिक योजनाकार मानिने खड्का १४औं महाधिवेशनमा उपसभापति निर्वाचित भएका थिए र गत वर्ष देउवाले उनलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए।
५ असोज, काठमाडौं । कांग्रेसको ठूलो पंक्ति पन्ध्रौं महाधिवेशनतर्फ लक्षित हुँदैगर्दा यसका एक वरिष्ठ नेता पूर्णबहादुर खड्का करिब निष्क्रिय देखिन्छन् । सभापति गगन थापालाई खुलेर साथ दिन नसकेका उनी उसो त पूर्वसभापति शेरबहादुर देउवा समूहले तयारी गरिरहेको अधिवेशनका पक्षमा पनि कतै खुलेका छैनन् ।
देशभरिका कांग्रेस नेता–कार्यकर्ताहरूको नजर १५औं महाधिवेशनमा केन्द्रित भइरहेका बेला नेता खड्का भने सर्वोच्च अदालतको फैसला कुरिरहेका छन् । सर्वोच्चले पुनरावलोकनका क्रममा पनि पार्टीको आधिकारिकता विशेष महाधिवेशन पक्षधरलाई दिए सानेपा फर्किन तयार देखिन्छन् खड्का ।
यसअघिको कार्यसमितिमा उपसभापति रहिसकेका उनले विशेष महाधिवेशन प्रक्रिया विधिसम्मत नभएको भन्दै अदालत गए पनि पछिल्लो समय आफू उभिएको समूहको पक्षमा नजाने आफूनिकट नेताहरूलाई बताइसकेका छन् ।
खड्काले २९ भदौमा आफूनिकट नेताहरूलाई गोल्फुटारस्थित निवासमा छलफलका लागि बोलाएर रुख र चारतारे झण्डा छोडेर कतै नजाने सन्देश सुनाएका थिए । ‘म रुख र चारतारा जहाँ छ, त्यहीँ छु । फुटेको पार्टीमा जान्नँ । चुनदेवी मेरो अफिस होइन भन्नुभएको छ,’ उक्त छलफलमा सहभागी एक नेताले भने ।
त्यसअघि २६ भदौमा ३१ जना नेताहरूले संयुक्त विज्ञप्ति जारी गरी विशेष महाधिवेशनबाट चुनिएको नेतृत्व स्वीकार गरेर १५औं महाधिवेशनमा सहभागी हुने संकेत गरेका थिए ।
विज्ञप्ति जारी गर्ने प्राय: नेताहरू १४औं महाधिवेशनमा पूर्वसभापति देउवाको समूहबाट केन्द्रीय कार्यसमितिमा निर्वाचित पदाधिकारी र सदस्यहरू थिए । जसमध्ये अधिकांश नेताहरू पूर्वउपभापति खड्कानिकट मानिन्थे ।
विज्ञप्ति निकालेको दुई दिनपछि उनीहरू नेता खड्कासँग छलफल गर्न गल्फुटार पुगेका थिए । छलफलमा खड्काले नेताहरू सबैलाई ३ असोजबाट सुरु भएको वडा अधिवेशनमा सहभागी हुन भनेको थिए ।
‘पूर्ण दाइसँग छलफलका लागि निवास गएका हौं । असोज ३ बाट सुरु हुने अधिवेशनमा सहभागी हुनुस् भन्नुभएको छ,’ गल्फुटार छलफलपछि एक नेतृले भनेकी थिइन् ।

विशेष महाधिवेशनको विपक्षमा रहेर पछिल्लो समय केन्द्रीय सदस्य बनेका एक नेताले आफूहरू नेता खड्कासँगको सरसल्लाहमै मूल पार्टीमा फर्किएको प्रतिक्रिया दिए । ‘उहाँसँग सल्लाह भएरै हामी सानेपा गएका हौं,’ ती नेताले अनलाइनखबरसँग भने, ‘अस्ति हामी ५१–५२ जना आएका हौं । अधिकांश उहाँकै समूहमा छौं ।’
ती नेताले खड्कानिकट सबै नेताहरू मूल पार्टीमा फर्किएको दाबीसमेत गरे । ‘प्राविधिक रूपमा उहाँ मात्रै बाहिर हुनुहुन्छ । अरू सबै सानेपा फर्किसक्यौं,’ उनले भने, ‘उहाँ पनि सर्वोच्चबाट निर्णय भएपछि मूल पार्टीमै आउनुहुन्छ ।’
विशेष महाधिवेशन विधिसम्मत् नभएको दाबी गर्दै सर्वोच्चमा मुद्दा दायर गरेको र मुद्दा पुनरावलोकनका लागि विचाराधीन अवस्थामा रहेकाले पूर्वउपसभापति खड्का नैतिकताका आधारमा फर्किन नमिलेको ती नेताको भनाइ छ ।
‘सर्वोच्चमा मुद्दा हालिसकेको हुनाले चुनावमा नउठ्नुभएको हो,’ उनले भने, ‘अहिले पनि मैले हालेको मुद्दा सर्वोच्च अदालतमा विचारधीन छ । फैसला नहुँदासम्म म नैतिक रूपमा जान मिल्दैन भन्नुभएको छ ।’
नेता खड्काले आइतबार मात्रै पार्टीको आधिकारिकतासम्बन्धी पुनरावलोकन मुद्दालाई अग्राधिकार राख्ने प्रबन्ध गरेर अन्तिम फैसला यथाशीघ्र गरिदिन सर्वोच्च अदालतसमक्ष आग्रह गरेका छन् ।
‘सम्मानित सर्वाेच्च अदालतका सम्माननीय प्रधानन्यायाधीशज्यू र माननीय न्यायाधीशज्यूहरूसँग हाम्रो विनम्रतापूर्वक आग्रह, अनुरोध र अर्जी छ कि सर्वाेच्चमा विचाराधीन नेपाली कांग्रेसको पुनरावलोकनको मुद्दालाई यहाँहरूको मूल्यांकनमा परिस्थितिको गम्भीरताको आकलन गर्नु भई अग्राधिकार राख्ने प्रबन्ध गर्न मिल्छ भने अन्तिम फैसला कृपया यथाशीघ्र गरिदिनुहोस्,’ उनले सामाजिक सञ्जालमा लेखेका थिए ।
नेता खड्काले सर्वाेच्चको अन्तिम फैसला स्वीकार्य हुने पनि सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । उनी अदालतमा विचारधीन पार्टीको आधिकारिकतासम्बन्धी मुद्दाको पुनरावलोकनको अन्तिम फैसलाअनुसार अघि बढ्ने मनस्थिति बनाएर बसेका छन् ।
पूर्वसभापति देउवा रणनीतिक योजनाकार मानिने खड्का यतिबेला साथमा छैनन् । स्वर्गीय नेता खुमबहादुर खड्काको समूहबाट कांग्रेसको केन्द्रीय राजनीतिमा उदाएका नेता हुन् । उनी खुमबहादुरकै कोटामा कांग्रेसको सहमहामन्त्री बनेका थिए ।
खुमबहादुरको निधनपछि २१ वैशाख २०७५ मा तत्कालीन सभापति देउवाले खड्कालाई महामन्त्रीमा मनोनीत गरेका थिए । उनी १४औं महाधिवेशनमा देउवाको समूहबाट उपसभापतिमा निर्वाचित भएका थिए ।
२०५३ साल वैशाखको अन्तिम साता काठमाडौंमा सम्पन्न नेपाली कांग्रेसको नवौँ महाधिवेशनमा नेता पूर्णबहादुर खड्का साविक मध्यपश्चिमाञ्चल विकास क्षेत्रबाट केन्द्रीय सदस्य पदका उम्मेदवार बनेका थिए ।

तर, उनी सफल हुन सकेनन् । उक्त निर्वाचनमा खड्का नेता सुशील कोइरालासँग पराजित भएका थिए । त्यतिबेला कांग्रेसको विधानअनुसार पाँचवटै विकास क्षेत्रबाट एक–एक जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था थियो ।
२०५९ मा कांग्रेस विभाजन हुँदा खड्काले देउवालाई साथ दिए । देउवाको नेतृत्वमा गठन भएको नेपाली कांग्रेस (प्रजातान्त्रिक) मा उनी केन्द्रीय सदस्य बने । कांग्रेस प्रजातान्त्रिकको ११औं महाधिवेशनमा उनी केन्द्रीय सदस्यमा निर्वाचित भए ।
२०६४ मा कांग्रेस र कांग्रेस प्रजातान्त्रिकबीच एकीकरणपछि भएको १२औं महाधिवेशनमा पनि केन्द्रीय सदस्य जितेर खड्का सहमहामन्त्रीमा मनोनीत भए । १३औं महाधिवेशनमा उनी महामन्त्रीमा मनोनीत भए । १४औं महाधिवेशनमा खड्का कांग्रेसको पहिलो निर्वाचित उपसभापति बन्न सफल भए ।
गत वर्षको जेनजी आन्दोलनपछि तत्कालीन सभापति देउवा उनलाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएर उपचारका लागि विदेश गएका थिए ।
खड्काले २०३१ सालमा कांग्रेसको भ्रातृ संगठन नेविसंघबाट राजनीतिक यात्रा सुरु गरेका थिए । उनी नेविसंघमा केन्द्रीय सदस्य हुँदै उपसभापतिसम्म भए ।
नेविसंघको उपसभापति भएकै बेला खड्का २०४३ सालमा वीरेन्द्रनगरको प्रधानपञ्चमा विजयी भएका थिए । दलमाथि प्रतिबन्ध भएकै बेला उनी जनपक्षीय उम्मेदवारको रूपमा स्थानीय चुनावमा प्रतिस्पर्धामा उत्रिएका थिए ।
‘खड्काजी २०४३ सालमा वीरेन्द्रनगरको प्रधानपञ्च पनि हुनुभयो । त्यतिखेर नेविसंघको उपसभापति हुनुहुन्थ्यो,’ एक नेताले भने, ‘२०४२ सालमा कृष्णप्रसाद भट्टराईको निवासमा उहाँलाई चिनेको हो । त्यो बेला दलहरू प्रतिबन्धित थिए । उहाँलाई पार्टीले नै चुनाव लडाएको थियो ।’
त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका खड्का २०४४–२०४८ सम्म कांग्रेस जिल्ला कार्यसमिति सुर्खेतका सभापति थिए । नेता खड्का लोकतन्त्र बहालीका लागि पार्टीले सञ्चालन गरेका विभिन्न राजनीतिक आन्दोलनका क्रममा पटकपटक गिरप्तारीमा परेका थिए ।
उनी २०३८ को राष्ट्रिय पञ्चायतको निर्वाचन बहिष्कारको पार्टी अभियानमा सहभागी हुँदा ३० दिन थुनामा परेका थिए । बहुदलीय व्यवस्था पुनर्स्थापनाका लागि २०४६ मा भएको ऐतिहासिक जनआन्दोलनका क्रममा खड्काले तीन महिना जेल जीवन व्यतित गर्नु परेको थियो ।
नेता खड्कालाई २०६० मा तत्कालीन शाही सत्ताले ४० दिन घरमै नजरबन्द राखेको थियो ।
नेता खड्कालाई कतिपयले सादगी, निष्ठा र कर्मयोगीका रूपमा लिने गर्छन् । उनीहरूको तर्क हुन्छ– खड्काका लागि राजनीति सत्ता प्राप्तिको साधन मात्र नभएर समाज र राष्ट्रप्रतिको जिम्मेवारी हो । नेता रामहरि खतिवडा भन्छन्, ‘पदमा हुँदा उहाँलाई कुनै दाग लागेन । त्यो एउटा ठूलो उपलब्धि हो ।’
लामो समय सत्ता र सरकारको जिम्मेवारीमा रहँदा पनि खड्काको राजनीतिक छवि सादगी र स्वच्छतासँग जोडिने गरेको छ । प्रतिनिधिसभा निर्वाचन २०७९ मा सुर्खेत–१ बाट निर्वाचित भएपछि खड्कालाई कांग्रेसले सरकारमा उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको जिम्मेवारी दिएको थियो ।
उनले त्यसअघि नै पटकपटक गरी आधा दर्जन बढी मन्त्रालय सम्हालिसकेका थिए । तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री बन्नुअघि नेता खड्काले गृह, सूचना तथा सञ्चार, युवा, खेलकुद तथा संस्कृति, वातावरण र उद्योग वाणिज्य मन्त्री भएर काम गरिसकेका थिए ।
कांग्रेसमा सुधारको माग राख्दै विशेष महाधिवेशन हुँदै अब नियमित महाधिवेशन आउँदै गर्दा नेता खड्काले राजनीतिक भन्दा कानुनी आधारलाई बढ्ता समाएका छन् ।
प्रतिक्रिया 4