
काठमाडौं । चर्चित भारतीय आध्यात्मिक चिन्तक मा आनन्द शीला केही दिनअघि काठमाडौंमा थिइन् । उनी बिहीबार दिल्ली फर्किइसकेकी छन् ।
उनको तीनदिने काठमाडौं दौडाहा नेपाली सेलिब्रेटी प्रेरित रह्यो । काठमाडौं बसाइमा अभिनेता राजेश हमालले उनको रोचक अन्तर्वार्ता लिए, जहाँ जीवनजगतदेखि फिल्मसम्मका कुरा भए ।
बुधबार बेलुका मनिषा कोइरालाको काठमाडौंस्थित घरमा आनन्द शीलासँग मनिषा र आनी छोइङ डोल्माको भेट भयो । यो भेटमा यी तीनले एकअर्काको खुलेर प्रशंसा गरेका थिए । साथै, मदरहुड सेलिब्रेसनदेखि एक्लै बुढेसकाललाई कसरी खुसीपूर्वक बाँच्नेबारे यी तीन व्यक्तित्वबीच कुराकानी भएको थियो ।
आध्यात्मिकदेखि कला क्षेत्रका चर्चित सेलिब्रेटीसँगका अन्तर्वार्ता लिंदै आएको भीवाईएफ टकले शीलालाई काठमाडौं निम्ताएको थियो ।
राजेश हमालसँगको उक्त कुराकानीमा आनन्द शीलाले आफूबारे बलिउडमा बन्न लागेको बायोपिकबारे पनि चर्चा गरेकी थिइन् । यो बायोपिकमा आलिया भट्ट अभिनेत्रीको रुपमा फाइनल भएको र प्रियंका चोपडा यसका लागि पहिलो रोजाइ भएको बताएकी छन् ।
‘उहाँले आफ्नो बायोपिकमा आलिया कन्फर्म भएको कुरा पनि गर्नुभयो,’ टक शो निर्माता दशरथ सुनारले भने, ‘उहाँले ओशोबारे मानिसमा रहेको भ्रम पनि निवारणको प्रयास गर्नुभयो ।’
करण जोहरसँगको केहीअघिको अन्तर्वार्तामा शीलाले ओशोसँगको आफ्नो सम्बन्धबारे कुरा गरेकी थिइन् ।
प्रतिक्रिया 4