
४ माघ, काठमाडौं । खानेपानीमन्त्री महिन्द्रराय यादव र मेयर विनोदकुमार साहबीचको टकरावका कारण सर्लाहीको हरिपूर्वा नगरपालिका फेरि प्रमुख प्रशासकीय अधिकृतविहीन बन्न पुगेको छ । पछिल्लो पटक हाजिरी भएको एक महिना पनि नबित्दै उपसचिव शम्भुप्रसाद यादव हरिपूर्वाबाट सरुवा भएका छन् ।
करिब साढे ८ महिनाका बीचमा यादव तीनपटक हरिपूर्वा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत भइसके, पहिलो पटक हाजिर भएको एक घण्टामा सुरु भएका उनी दोस्रोपटक हाजिरीको एक दिनपछि सरुवा भए । तेस्रो पटकमा भने यादवले २३ दिन मात्रै हरिपूर्वामा काम गर्न पाए ।
एक वर्षका बीचमा हरिपूर्वामा ७ पटक प्रमुख प्रशासकीय अधिकृतहरु सरुवा भए । तर, त्यसमध्ये कोही नगरपालिकामा काम गर्न जानै चाहेनन्, कोही बाटैबाट सरुवा हुनुपर्यो । केही हाजिरी गरेपनि काम गर्न भने पाएनन् ।
पछिल्लो पटक हरिपूर्वा नगरपालिकामा एक महिना नबित्दै फेरि प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको छ । २८ मंसिरमा सरुवा भएका उपसचिव शम्भूप्रसाद यादव ११ पुसमा हरिपूर्वा नगरपालिकामा हजीर भएका थिए । तर, गत ३ माघमा यादवको सिराह सरुवा भएको सूचना आएको नगरपालिकाका मेयर विनोदकुमार साहले बताए ।
चालु आर्थिक वर्षको बजेट ल्याउन तयारी गर्दैगर्दा प्रमुख प्रशासकीय अधिकृत यादव सरुवा भएका हुन् । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा हरिपूर्वाले चालु आर्थिक वर्ष २०८०÷८१को नीति तथा कार्यक्रम र बजेट नै ल्याउन सकेको छैन । जसले गर्दा स्थानीय क्षेत्रमा विकास निर्माणको काम पनि ठप्प छ ।
संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका एक अधिकारी प्रधानमन्त्री कार्यालयबाटै ‘मन्त्रीले भनेको एउटा काम पनि नगर्दिने’ भन्दै दबाब आएपछि यादवलाई सरुवा गरिएको हो ।
गत मंसिरको पहिलो सातामा शंकरापुर नगरपालिकामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रहेका उपसचिव बासुदेव खनाललाई हरिपूर्वा खटाउने निर्णय भएको थियो । तर, उनी जान मानेनन् । त्यसअघि १८ असोजमा हाजिर भएको २४ घण्टामै शम्भुप्रसाद यादवको जिम्मेवारी खोसिएको थियो ।
त्ययसअघि मन्त्रालयले ५ असोजमा सिरहा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका शाखा अधिकृत दिलीपकुमार यादवलाई हरिपूर्वामा सरुवा गरेको थियो । सिरहाबाट पठाइएका दिलीपकुमार हरिपूर्वा जान तयार भएका थिएनन् ।
त्यसअघि निमेष मिश्र हरिपूर्वामा प्रमुख प्रशासकीय अधिकृत थिए । २४ वैशाखमा सरुवा भएका उनी ‘राजनीतिक विवादको भुमरीमा नफस्ने’ भन्दै लामो समय नगरपालिकामा हाजिर हुनै चाहेनन् । त्यतिबेला ४ महिनादेखिको झगडाका कारण नगरपालिकामा तालाबन्दी समेत भएकाले उनी हरिपूर्वा जान खोज्दा पनि हच्किएका थिए ।
तत्कालीन संघीय मामिला सचिव कृष्णहरि पुष्करसँग सहमतिपछि मिश्र १० असारमा नगरपालिकामा हाजिर भएका थिए । २० असारमा बसेको नगर बैठकले २९ असारमा नगरसभा बोलाउने निर्णय गरेपछि काठमाडौं आएका मिश्र नगरपालिका नफर्किएपछि नगर सभा भएन ।
२३ साउनमा नगरपालिकाले मिश्रलाई हाजिर गराइदिन संघीय मामिला मन्त्रालयलाई पत्र लेख्यो । पत्रमा मिश्र फर्किन नमाने अर्को कुनै उपसचिव पठाउन आग्रह गरिएको थियो । ४ भदौमा मिश्र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा सरुवा भएका थिए ।
मिश्रभन्दा अघि १७ वैशाखमा हाजिर भएको एक घण्टामै शम्भुकुमार यादवको काजमा खटाउने निर्णय भएको थियो । तत्कालीन समयमा मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा शाखा अधिकृत रहेका उनले हरिपूर्वामा खटाएलगत्तै हाजिर नहुन दबाब खेप्नु परेको थियो । जोडबल गरेर नगरपालिकामा हाजिर भएका उनलाई एक घण्टामै सामान्य प्रशासन मन्त्रालयबाट साविककै जिम्मेवारीमा फर्काइएको थियो ।
यादवभन्दा अघि १५ चैत २०७९ ध्रुवराज आचार्यको सरुवा भएको थियो । तर नगरपालिका नटेक्दै उनी २९ चैत २०७९ मा बाटैबाट सरुवा भए । आचार्य सरुवा हुनु अघि बसन्त न्यौपाने हरिपूर्वाको प्रमुख प्रशासकीय अधिकृत थिए ।
प्रतिक्रिया 4