
१८ असोज, काठमाडौं । सर्लाहीको हरिपूर्वा नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत तोकिएका छन् । १८ असोजमा हाजिर भएको २४ घण्टामै शम्भुप्रसाद यादवको जिम्मेवारी खोसिएपछि हरिपूर्वामा प्रमुख प्रशासकीय अधिकृत पद खाली थियो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हाल शंकरापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहेका उपसचिव बासुदेव खनाललाई हरिपूर्वामा सरुवा गरेको हो ।
खनालको नियुक्तिपछि हरिपूर्वा नगरपालिकाका मेयर विनोदकुमार साह काठमाडौं आएका छन् । उनले खनाललाई लैजान काठमाडौं आएको बताएका छन् ।
तर, नियुक्ति पाएका खनाल भने चीन भ्रमणमा रहेको र ४ दिन बाटोको म्यादसहित २१ दिनभित्र नगरपालिकामा हाजिर हुने जानकारी सामान्य प्रशासन मन्त्रालयले दिएको छ ।
तर, खनाल हरिपूर्वा जान तयार हुन्छन् कि हुँदैनन् भन्ने निश्चित छैन । मन्त्रालयले कुनै छलफल नगरी सरुवा गरेकाले खनालले हरिपूर्वा जान नमान्ने डर नगरपालिकाका जनप्रतिनिधिहरुलाई छ । खनाल सम्पर्कमा नआएकाले फेरि प्रमुख प्रशासकीय अधिकृतको समस्या हल नहुने देखिएको मेरयरको सचिवालयले जनाएको छ ।
लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा हरिपूर्वाले चालु आर्थिक वर्ष २०८०/८१को नीति तथा कार्यक्रम र बजेट नै ल्याउन सकेको छैन । शिक्षकहरुले तलब नपाएपछि आन्दोलन सुरु गरेका छन् । विकासको काम पनि ठप्प छ ।
तर, प्रमुख प्रशासकीय अधिकृतको खटनमा राजनीति हाबी हुँदा नगरपालिकाको सेवा प्रवाह नै ठप्प बन्न पुगेको छ ।
प्रतिक्रिया 4