+
+

प्रधानमन्त्री कप : विभागीय टिमलाई प्रदेशको चुनौती

नमिता दाहाल नमिता दाहाल
२०८० माघ ४ गते २१:१९

४ माघ, काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा पहिलो राउण्डको खेल सकिँदा जम्मा २ टिममात्र अपराजित छन् । १० टिम सम्मिलित प्रतियोगिता काठमाडौंको त्रिवि क्रिकेट मैदान, मूलपानी क्रिकेट मैदान र भैरहवाको सिद्धार्थ रंगशालामा भइरहेको छ ।

नेपाल पुलिसले दुईमा दुई र सुदूरपश्चिमले तीनमा तीनै खेल जितेका छन् भने अरु टिमले हार व्यहोरेका छन् । यो पटकको प्रधानमन्त्री कपमा प्रदेशका टिमहरु पनि विभागीय टिममाथि हाबी भएका छन् । बुधबार त्रिभुवन आर्मी क्लबलाई बागमती प्रदेशले ३ विकेटले हरायो । त्यस्तै बिहीबार त्रिवि क्रिकेट मैदान मधेश प्रदेशले एपीएफलाई हरायो ।

पुलिसले पहिलो खेलमा बागमतीलाई ६८ रनले हरायो भने दोस्रोमा कोशीलाई ७ विकेटले हरायो । सुदूरपश्चिमले भने गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशलाई हराएको छ । तीनवटै खेल भैरहवामा खेलेको सुदूरपश्चिमले पहिलो खेलमा घरेलु टिम लुम्बिनीलाई ५ विकेट, त्यसपछि कर्णालीलाई १३४ रन र गण्डकीलाई १०८ रनको फराकिलो अन्तरले हराएको छ ।

बलियो नेट रनरेटका साथ शीर्ष स्थानमा रहेको सुदूरपश्चिमले अब माघ ९ गते त्रिवि क्रिकेट मैदानमा मधेशसँग खेल्नेछ ।

प्रतियोगितामा गण्डकी र कोशीले सबै खेल हारेका छन् । गण्डकीले पहिलो खेलमा लुम्बिनी प्रदेशसँग ४ विकेट, कर्णाली सँग ७ विकेट र सुदूरपश्चिमसँग १०८ रनले हारेको हो । कोशीले काठमाडौंमा मधेशसँग ७ विकेट, एपीएफसँग ६ विकेट, पुलिससँग ७ विकेट र आर्मीसँग ९ विकेटको हार ब्यहारेको छ ।

मधेशले देखाएको सम्भावना

त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा मधेश विरुद्ध एपीएफले २४७ रनको लक्ष्य जोगाउन सकेन । कप्तान रोहित भन्छन्, ‘सुरुवात राम्रो भएको थियो । तर अविनाश दाइ (अविनाश बोहरा) घाइते हुँदा हामीलाई असर पर्‍यो ।’

टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २४६ रन बनायो । एपीएफका लागि कप्तान रोहितले ५८, आशिफ सेखले ५९ र अमर रौतेलाले ४९ रनको योगदान गरे ।

तर मधेशले ४८ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । उसका लागि रुपेश सिंह ७२ रनमा नटआउट रहे भने पवन सर्राफले ६४, निरज यादवले ५२ र अनिल साहले २९ रन जोडे । पहिलो इनिङ्समा अविनाश बोहराको हातमा बलले लागेपछि खेलको दिशा मोडियो । एपीएफको बलिङमा रहेको कमजोरीको फाइदा मधेशले उठायो ।

कप्तान रोहतिले यो हारलाई टिमले ‘वेकअप कल’ को रुपमा लिएको बताए । ‘हामीले जुन सुरुवात पाएका थियौं । मैले पनि अर्धशतकलाई शतकमा परिणत गर्नु पर्ने थियो । हामीले सकेनौं’, उनले भने, ‘स्ट्राइक बलर नहुँदा र पवन र रुपेशले राम्रो इनिङ्स खेले ।’

रोहितले यही सिजन आर्मी छोडेर एपीएफ पुगेका थिए । प्रतियोगितामा अझै एपीएफले ७ खेल खेल्न बाँकी छ । टिममा ब्याकअप पेस बलर छैनन् ।

एपीएफलाई हराएसँगै मधेश भने शीर्ष ४ को प्रतिस्पर्धामा सहभागी भएको छ । मधेशले यसै वर्ष भएको केपी ओली कप र प्रो क्लब च्याम्पियनसिपमा विभागीय क्लबलाई हराइसकेको छ ।

एपीएफसँगको खेलमा अविजित ७२ रन र ३ विकेट लिएका रुपेश सिंहले टिममा मनोबल उच्च रहेको बताउँछन् । ‘हिजो टिम मिटिङमा उनीहरुले २५० हान्छन् भन्ने सोचेका थियौं र हामीले पनि हान्न सक्छौं भन्ने योजना थियो’ उनले भने, ‘हामीले खेल्यौं ।’

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?