+
+

साताको सेयर समीक्षा : ३ प्रतिशत बढेको बजारमा २२ सयको प्रतिरोध

अन्य र हाइड्रोमा उच्च वृद्धि, ८ कम्पनीको मूल्य २० प्रतिशत बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ५ गते १९:०५

५ माघ, काठमाडौं । गत साता सेयर बजारका लागि २१ सय अंक प्रतिरोध थियो । कारोबार क्रममा बारम्बार २१ सय अंक तोडे पनि बजार अन्ततः २०८८ अंकमा रहेर बन्द भयो ।

यो साता पहिलो दिन आइतबार बजारले २१ सयको अंक तोड्यो । तर, साता कारोबारको अन्तिमतिर २२ सय प्रतिरोधक बन्यो ।

योपटक मात्रै होइन, विगतमा पनि बढ्ने क्रममा पटक–पटक २२ सयआसपास बजारले प्रतिरोध गरेको छ । यही कारण सेयर लगानीकर्ताले २२ सय अंकलाई ठूलो प्रतिरोध (रेसिस्टेन्स) अंक मान्ने गरेका छन् ।

यो साता आइतबार करिब ३२ अंक बढेर २१ सय २० मा पुगेको बजार सोमबार सार्वजनिक बिदाका कारण बन्द रह्यो । मंगलबार फेरि करिब ५५ अंक बढेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) २१ सय ७५ अंक पुग्यो ।

बुधबार कारोबार भइरहँदा बजार परिसूचक नेप्सेले २२ सय अंक तोडे पनि अन्ततः २१ सय ६३ अंकमा ओर्लियो । बिहीबार थप ७ अंक घटेसँगै यो साता २१५५.८ अंकमा बजार बन्द भयो । यो साता चार दिन खुलेको बजार सुरुका दुई दिन उच्च दरले बढ्यो भने अन्तिम दुई दिन न्यून दरमा घट्यो । समग्रमा बजारले बढ्दो लय समाएको देखिन्छ ।

समूहगत उतारचढाव

यो साता अन्य समूह नै सबैभन्दा धेरै ८.९ प्रतिशत बढ्यो । गत साता पनि यही समूह सबैभन्दा धेरै ५ प्रतिशत बढेको थियो । यसै समूहमा हालै सूचीकृत हिमालयन रिइन्स्योरेन्सको उच्च मूल्यवृद्धिका कारण समग्र समूहको वृद्धिमा टेवा पुगेको हो ।

हिमालयन रिसहित नेपाल वेयरहाउजिङको मूल्यवृद्धिले पनि समूहलाई टेवा पुग्यो । यस समूहमा कुल ६ कम्पनी सूचीकृत रहेकोमा यो साता २० प्रतिशतभन्दा धेरै मूल्य बढेका दुई कम्पनी (वेयरहाउजिङ र हिमालयन रिइन्स्योरेन्स) नयाँ हुन् ।

यी २ कम्पनीको उच्च मूल्यवृद्धिका कारण समग्र समूहमा उच्च वृद्धि देखियो । त्यस्तै हाइड्रोपावर समूहको यो साता पनि राम्रो प्रदर्शन देखिएको छ । योे समूह ६ प्रतिशत बढ्यो । दुई समूह ब्यापार र होटल तथा पर्यटन भने यो साता ऋणात्मक रहे । त्यस्तै बैंकिङ समूहको गति पनि केही बढेको छ । यो समूह २.२ प्रतिशत बढ्यो ।

धेरै मूल्य बढेका कम्पनी

यो साता पनि धेरै मूल्य बढ्नेमा हिमालयन रिइन्स्योरेन्स सबैभन्दा अगाडि रह्यो । यसको मूल्य यो साता ४४ प्रतिशत बढ्यो । त्यस्तै अर्को नयाँ कम्पनी नेपाल वेयर हाउजिङको मूल्य २५.३८ प्रतिशत बढ्यो । यी दुई कम्पनी एउटै समूह ‘अन्य’ मा सूचीकृत छन् ।

यी तीन कम्पनीबाहेक रिडी पावर, लिबर्टी इनर्जी, ङादी ग्रुप, हिमालयन पावर पार्टनर, घलेम्दी हाइड्रोपावर र इन्फिनिटी लघुवित्तको मूल्य २० प्रतिशतभन्दा धेरै बढ्यो । माथिल्लो तामाकोसीको मूल्य १९ प्रतिशत बढ्यो ।

आगामी साता वित्तीय विवरणमा निर्भर

आगामी साता बैंक तथा वित्तीय संस्थाले दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दैछन् । वित्तीय विवरणबाट नै कम्पनीको नाफा/नोक्सान, सम्भावित प्रतिफल लगानीकर्ताले मूल्यांकन गर्न सक्छन् । आइतबार आउने बैंक तथा वित्तीय संस्थाको समग्र वित्तीय विवरणले बजारलाई केही दिन प्रभाव पार्न सक्ने छ ।

वित्तीय विवरण राम्रो आए ती कम्पनीको मूल्यसमेत बढ्ने र यसले समग्र बजारलाई सकारात्मक लय दिन सक्ने छ भने वित्तीय विवरण कमजोर आए बजारलाई केही नकारात्मक असरसमेत पार्न सक्ने छ ।

सेयर बजारमा बैंक तथा वित्तीय संस्थाको वर्चश्व रहेकाले यी संस्थाको वित्तीय विवरणले समग्र बजार प्रभाव पार्न सक्ने क्षमता राख्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?