+
+

कोशी क्रिकेटमा ‘मामा भाञ्जा’ विवाद, के हो सत्यता ?

भुपेन्द्र जि.सी. भुपेन्द्र जि.सी.
२०८० माघ ५ गते २१:३१

५ माघ, काठमाडौं । पूर्व कुनै समय क्रिकेटका लागि उर्वर भूमि थियो । नेपालले सन् २००२ मा एसीसी ट्रफी खेल्दा तत्कालीन विराटनगर क्षेत्रबाट ७ खेलाडी राष्ट्रिय टोलीमा परेका थिए ।

मञ्जित श्रेष्ठ, लाक्पा लामा, राजकुमार प्रधान, महबुब आलम, मनोज कटवाल, पारस लुनिया र दीपेन्द्र चौधरीले एकै पटक नेपाली क्रिकेट टोलीबाट खेल्दा पूर्वको शानै फरक थियो ।

पूर्वले घरेलु क्रिकेटमा पनि एकछत्र राज गरेको थियो । २०५८ देखि २०६१ सम्म लगातार चार पटक राष्ट्रिय प्रतियोगिता जित्दै विराटनगरले इतिहास रच्यो ।

तर पछिल्लो समय पूर्वको क्रिकेटलाई त्यो इतिहास एकादेशको कथा जस्तो भएको छ । नेपाली टोलीमा कोशी प्रदेशको उपस्थिति शून्य छ । बन्द प्रशिक्षणमै पर्नै मुश्किल पर्न थालेको छ ।

त्यसको असर घरेलु क्रिकेटमा पनि देखिएको छ । जारी छैटौं प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशको प्रदर्शन विर्सनलायक छ ।

शुक्रबार बागमती प्रदेशसँग ६४ रनले पराजित भएको कोशीको लगातार पाँचौं हार हो । यो हारसँगै कोशी फाइनलको दौडबाट बाहिरिएको छ ।

कोशीले खराब प्रदर्शन जारी राख्दा सामाजिक सञ्जालमा भने मामा भाञ्जाको चर्चामा छ ।

नेपाली घरेलु क्रिकेटमा खेलाडी छनोट विवाद नयाँ होइन । यसमा कुनै पनि प्रदेश अछुतो छैनन् ।

कोशीमा पनि मुख्य प्रशिक्षक पुष्प थापामाथि आफ्ना भाञ्जा मिनाश थापालाई टोलीमा राखेको आरोप लागेको छ । कोशीसँगै मिनाशले निरन्तर खराब प्रदर्शन गर्दा सामाजिक सञ्जालमा प्रशिक्षक थापामाथि प्रश्न उठाउनेहरु बढेका छन् ।

मिनाश १, ०, २ र ० मा आउट भएका छन् । कोशीले बिहीबार त्रिभुवन आर्मीसँग खेलमा मिनाशलाई बेञ्चमा राखेको थियो । जन्मदिन भएकाले उनकै आग्रहमा बेञ्चमा राखिएको थियो ।

मिनाश थापा ।

शुक्रबार पुनः मौका पाए । तर एक रन लिने क्रममा १२ औं ओभरको अन्तिम बलमा विवेक राना मगरले डाइरेक्ट थ्रो गर्दै रन आउट गरे । त्यो रन आउट उनको लागि एउटा दुर्भाग्य पनि थियो ।

त्यसको मारमा मुख्य प्रशिक्षक पुष्पसमेत परेका छन् । पूर्व खेलाडी पुष्प थापाले सन् २०२१ मा सन्यास लिएदेखि कोशी प्रदेशको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

आलोचकहरुले भने जस्तै मिनाश उनका भाञ्जा हुन् । तर उनलाई आफूले नभई छनोटकर्ताहरुले टिममा राखेको बताए । ‘म प्रदेशबाट कप्तानको रुपमा खेल्दा उनी टोलीमा थिए । सिद्धान्त लोहनी कप्तान हुँदा पनि थिए । त्यति बेला मेरो भाञ्जा भनेर परेको त होइन होला ?’ कोशीका मुख्य प्रशिक्षक उनले आलोचकहरुलाई प्रश्न गरे, ‘कि त्यति बेला हामी मामा भाञ्जा थिएनौं ?’

कहिले किपिङ गरेन, कहिले बलिङ गरायो भनेर आलोचना भएकोमा उनले दुखेसो पोखे । विगतमा प्रधानमन्त्री कपका साथै केपी ओली कप, महेन्द्र नारायण निधि कपमा किपिङ गरेको भए पनि यो पटक छनोटमा अरुलाई अवसर दिइएको थियो ।

तर विकेट किपरमा विकल्प नभेटाएपछि मिनाशलाई नै टिममा राखेको छनोटकर्ताहरु बताउँछन् ।

कोशी प्रदेशले सुरेश गुरागाईं, मनोज मण्डल र सुमेश शाह रहेको छनोट समिति बनाएको छ । समितिका सदस्य गुरागाईं नेपाल क्रिकेट संघ कोशी प्रदेश कमिटीका केन्द्रीय सदस्य समेत हुन् र प्रधानमत्री कपमा कोशीको व्यवस्थापकका रुपमा आएका छन् ।

उनी पनि छनोट प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा टिम बनाएको बताउँछन् । ‘पुष्प उसको मामा नै हो, तर खेलाडी छनोटमा पुष्पको केही चल्दैन’, छनोट निष्पक्ष गरेका भन्दै उनले अघि भने, ‘उसले एक खेलमा ४१ रन हानेको थियो । अरुमा १०–१५ रन थियो । तर यहाँ आएर चल्न सकेनन ।’

कोशीका कप्तान अंकित सुवेदी भने कसैले व्यक्तिगत रिसीइबी पोखेको बताउँछन् । ‘यो व्यक्तिगत टार्गेट गरेको हो, कुनै मान्छेको व्यक्तिगत रिसिइबी पनि होला’, त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा बागमतीसँग खेलेपछि उनले भने, ‘एउटाले सल्काएको आगो अर्काले बढाएको हो । अरु त्यस्तो केही होइन ।’

उनका अनुसार छनोटमा मिनाशले राम्रो गरेका थिए । ‘छनोटकर्ताहरुले खेलाडीको खेल्ने तरिका पनि हेर्नुहुन्छ । जसले प्रदर्शन गर्‍यो उसैलाई ल्याएको हो’ त्यसमाथि मिनाश अनुभवी खेलाडी भएको भन्दै उनले भने, ‘टिममा एकदुई जना अनुभवी खेलाडी पनि चाहिन्छ । छनोटमा कुनै विवाद छैन ।’

लेखकको बारेमा
भुपेन्द्र जि.सी.

जिसी अनलाइनखबरको खेलकुद ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?