+
+

नेपालले न्युजिल्यान्डसँग हार्नुका पाँच कारण

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ८ गते ७:०७

८ माघ, काठमाडौं । नेपाल आईसीसी यू-१९ विश्वकप २०२४ मा न्युजिल्यान्डसँग ६४ रनले पराजित हुन पुग्यो । जितको लागि ३०३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले पूरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २३८ मात्रै बनायो ।

नेपालकाओपनर अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गर्दै १०४ बलमा १२ चौकासहित ९० रन बनाए ।

त्यसअघि दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०२ रन बनाएको थियो । न्युजिल्यान्डको जितमा तेस्रो नम्बरका ब्याटर स्नेहित रेड्डीले १४७ रनको सानदार अविजित शतकीय इनिङ खेले । कप्तान ओस्कर ज्याक्सनले ८१ बलमा तीन चौका र पाँच छक्कासहित ७५ रनमा आउट भए । नेपालका स्पिनर सुवास भण्डारीले तीन र गुलशन झाले २ विकेट लिए ।

टस हारेको नेपालले पावर प्ले पनि सोचे अनुसार गर्न सकेन । त्यसपछि पाँच ओभर राम्रो गरेको थियो । १० देखि १५ ओभरलाई छाड्ने हो भने कुनै पनि समय नेपालले न्युजिल्यान्डलाई खेलमा दबाबमा राख्न सकेन ।

नेपालले न्युजिल्यान्डसँग हार्नुका प्रमुख पाँच कारण यस प्रकार छन् :

१.ज्याक्सन र रेड्डीको साझेदारी तोड्न नसक्नु

नेपालको हारको मुख्य कारण चौथो विकेटका लागि ज्याक्सन र रेड्डीको १५७ रनको शतकीय साझेदारी तोड्न नसक्नु रह्यो । नेपालले १४.३ ओभरमा न्युजिल्यान्डलाई ६७-३ को अवस्थामा पुर्‍याएको थियो । नेपालले त्यो अवस्थामा थप एक विकेट लिएको खण्डमा न्युजिल्यान्ड समस्यामा पर्ने थियो ।

नेपालले चौथो विकेट हात पार्न ४२औं ओभर कुर्नु पर्‍यो । त्यो समय न्युजिल्यान्डले एउटा बलियो योगफल आधार तय गरिसकेको थियो । उक्त साझेदारी समयमै तोड्न सकेको भए न्युजिल्यान्ड २५० भन्दा माथिको योगफलमा पुग्न निकै कठिन पर्ने पक्का थियो । यदि २५० भन्दा कम रनमा रोकेको भए नेपाली ब्याटरले विना दबाब उक्त लक्ष्य पूरा गर्न सक्थे ।

२. तीन स्पिनर खेलाउनु

दक्षिण अफ्रिका पिचमा तीन स्पिनर पक्कै पनि सही निर्णय थिएन । प्रमुख तीव्र गतिका बलर गुलशन झाले १० ओभरमा ६१ रन खर्चेर २ विकेट लिए । गुलशनका दुई विकेट ४३ औं ओभरमा थियो । जुन समय न्युजिल्यान्डले एउटा आधार तय गरी सकेको थियो ।

अर्का तीव्र गतिका बलर आकाश चन्दले ८ ओभरमा ५२ रन खर्चिदा विकेट लिन सकेनन् । पार्टटाइम तीव्र गतिका बलर आकाश त्रिपाठीले ४ ओभरमा २७ रन खर्चेर १ विकेट लिए ।

आकाश र गुलशन दुवैले राम्रो बलिङ गर्न सकेनन् । तेस्रो तीव्र गतिका बलर दुर्गेश गुप्ता टोलीमा भएको भए बलिङ आक्रामण फरक हुन सक्थ्यो । स्पिनरमा सुवास भण्डारी र तिलक भण्डारीमध्ये एक खेलाएर एक तीव्र गतिका बलर खेलाउनु पर्ने थियो । दुई प्रमुख तीव्र गतिका र तीन स्पिनर खेलाउने निर्णय कमजोर बलिङको एक कारणमा पर्दछ ।

३. अन्तिम ६० बलमा ९९ रन खर्चिनु

नेपालले बलिङमा अन्तिम ६० बलमा ९९ रन खर्चेको थियो । न्युजिल्यान्ड ४० ओभरमा २०३/३ को अवस्थामा थियो । नेपालले उत्कृष्ट बलिङ गर्दै २७० को आसपासमा रोक्न सक्थ्यो ।

जसले गर्दा खेलाडीलाई स्कोर बोर्डको दबाब कम हुँदा खुलेर खेल्न सक्थे । स्कोर बोर्डमा ३०० माथिको लक्ष्य हुँदा खेलाडीलाई सुरुआतदेखिनै दबाब परेर खेल्न थाले । त्यही दबाबको कारण अर्जुनबाहेक अन्य सबै ब्याटरले खराब सट छनोट गरेका थिए । अर्कोतर्फ ३०० माथि रन बनेपछि न्युजिल्यान्डका बलरको मनोबल पनि बढेको थियो । एक दुई ओभर खराब हुँदैमा उनीहरु डराउनु नपर्ने रन बनेको थियो ।

४. देव र गुलशनले धैर्यता नदेखाउनु

देव खनाल, अर्जुन कुमाल र गुलशन झा नेपालका प्रमुख ब्याटर हुन् । अर्जुनले आफ्नो जिम्मेवारी अनुसार प्रदर्शन गरे । तर, देव र गुलशनले आफ्नो जिम्मेवारी अनुसार खेल्न सकेनन् । देवले अर्जुनसँग मिलेर तेस्रो विकेटका लागि ५९ रनको साझेदारी गर्दै विस्तारै विपक्षीमा दबाब बढाउन थालेका थिए ।

तर, १६औं ओभरको अन्तिम बलमा देव मिडअनमा ३६ रनमा आफ्नो विकेट त्यतिकै फालेर हिंडे । देवले आउट हुनुभन्दा एक बलअघि चौका हानेका थिए । त्यो समय उक्त सट आवश्यक नै थिएन । नेपाललाई उक्त समय विकेट नगुमाएर एउटा ठूलो साझेदारीको मात्रै आवश्यकता थियो ।

देव आउट भएपछि अन्तिम आशा बोकेका गुलशन झाले अर्जुनलाई एक एन्डबाट साथ दिनुपर्ने थियो । गुलशन थप खराब सट खेल्दै २ रनमा क्याच आउट भए । नेपाललाई यो लक्ष्य पूरा गर्न एउटा शतकीय साझेदारीको आवश्यक थियो । तर अर्जुनबाहेक अन्यले जिम्मेवारी लिन सकेनन् । नेपाल ६४ रनले पराजित भएको थियो । देव र गुलशनले जिम्मेवारी लिएको भए उक्त रन पूरा गर्न कुनै कठिन थिएन ।

५. ब्याटिङमा राम्रो सुरुआत गर्न नसक्नु

जितको लागि ३०३ रनको लक्ष्य पूरा गर्न नेपालले सुरुआतमा उत्कृष्ट ब्याटिङ गर्न जरुरी थियो । तर, नेपालको सुरुआत नै राम्रो हुन सकेन । पहिलो १० ओभरमा नेपालले दुई विकेट गुमाउँदै ४१ रन बनाएको थियो । सुरुआतमै दुई विकेट गुमाउँदै नेपाल खेलमा खुलेर ब्याटिङ गर्न सकेन । विस्तारै रनरेट बढ्दै गयो । १० ओभरमै जितका लागि प्रतिओभर ६.५० माथि रन बनाउनु पर्ने दबाब थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?