+
+

जनमतको विरोधकाबीच राजविराजमा कृषि विश्वविद्यालयको भवन शिलान्यास हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ८ गते १०:३०

८ माघ, जनकपुरधाम । जनमत पार्टीको विरोधकाबीच आज सप्तरीको राजविराजमा कृषि विश्वविद्यालयको शिलान्यास हुँदै छ । राजविराज नगरपालिका १३ मा करिब १२ विघा जग्गामा विश्वविद्यालयको आफ्नै भवन निर्माणको लागि शिलान्यास हुन लागेको छ ।

आज जसपा अध्यक्ष उपेन्द्र यादव, मुख्यमन्त्री सरोजकुमार यादव र शिक्षा तथा संस्कृति मन्त्रीले संयुक्त रुपमा भवन शिलान्यास गर्ने विश्वविद्यालयका रजिष्ट्रार भगवान ठाकुरले बताए । मुख्यमन्त्री सरोजकुमार यादवले आजैको मितिमा १२ बजेर ४० मिनेटमा शिलान्यास गर्ने निर्णय गरेकाले शिलान्यास हुने बताए ।

शिलान्यासका लागि जसपाका नेता कार्यकर्ता, मधेशका मुख्यमन्त्रीसहित जसपाका मन्त्रीहरु राजविराज पुगेका छन् ।

जनमत पार्टीबाट मधेश प्रदेशमा शिक्षामन्त्री बनेका महेश प्रसाद यादवले आइतबार विज्ञप्ति जारी गरी भवन शिलान्यास कार्यक्रम स्थगित गर्न भनेका थिए । ‘कार्यक्रम नरोकेमा कुनै किसिमको अपि्रय घटना घटेमा त्यसको जिम्मेवारी मन्त्रालय नहुने विश्वविद्यालयको भिसी, रजिष्ट्रार हुने जानकारी समेत गराउन चाहन्छु’, मन्त्री यादवले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

यसैगरी जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आइतबार साँझ गृह मन्त्रालयलाई पत्र लेख्दै जिल्लाको शान्ति सुरक्षा कायम राख्न शिलान्यास कार्यक्रम स्थगित गर्न माग गरेका थिए ।

छलफल र समन्वयविना विश्वविद्यालयले उपेन्द्र यादवको हातबाट शिलान्यास गराउने तयारी गरेको भन्दै जनमत पार्टीका नेता-कार्यकर्ताहरुले विश्वविद्यायमा तालाबन्दी समेत गरेका छन् ।

मुख्यमन्त्री यादवले भने गौरवका योजना रहेकाले शान्तिपूर्ण रुपमा शिलान्यास हुन दिन आग्रह गरेका छन् ।

शिक्षा मन्त्री यादवले भने रोक्न भनेको कार्यक्रम अझै नरोकिएकाले आफूहरु विरोध गर्ने बताए । ‘शिलान्यास कायक्रमको हामी विरोध गर्छौं । बहिस्कार गर्छौं,’ मन्त्री यादवले भने ।

सप्तरी क्षेत्र नं. २ बाट जनमत पार्टीका अध्यक्ष डा. सिके राउत निर्वाचित छन् । त्यस क्षेत्रबाटै पराजित उपेन्द्र यादवले सोही क्षेत्रमा रहेको विश्व विद्यालयको भवन उदघाटन गर्न लागेकोमा जनमतको आपत्ति छ ।

जनमतको विरोधका बाबजुद हुन लागेको शिलान्यास कार्यक्रममा तनाव हुन सक्ने सम्भावना भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

विश्वविद्यालयका रजिष्ट्रार भगवान ठाकुरले आज शुभदिन रहेकाले र सबैलाई आमन्त्रण गरिसकेकाले कार्यक्रम नरोकिने बताए । ‘आज हामी कुनै पार्टी पोलिटिक्स नगरी सबैलाई निमन्त्रणा गरिसकेका छौं । आजै राम मन्दिरको उदघाटन जस्तो शुभ दिन छ । मन्त्रीजीलाई हिजो हामी भेटेरै शिलान्यास कार्यक्रम हुन दिनुस्, सहभागी हुनुस् भन्यौं,’ रजिष्ट्रार ठाकुरले भने ।

उनले शिलान्यासको विषयमा पटक-पटक शिक्षा मन्त्रीसँग छलफल गरेर नै कार्यक्रम राखेको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?