+
+

स्वास्थ्यमन्त्री नआएपछि शिक्षा समितिमा सांसदहरुले उठाए प्रश्न

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ८ गते १६:१२

८ माघ, काठमाडौं । सोमबार प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत अनुपस्थित भएपछि सांसदहरुले प्रश्न उठाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यक्रम कार्यान्वयनको अर्ध वार्षिक प्रगति एवं पूँजीगत खर्चको सम्वन्धमा र मन्त्रालयसंग सम्बन्धित गुनासा र समाधानका लागि भएका प्रयासका विषयमा छलफल गर्न बोलाएको बैठकमा मन्त्री बस्नेत अनुपस्थित भएका हुन् । उक्त बैठकमा मन्त्रालयका सचिवसहितका केही अधिकारी भने उपस्थित थिए ।

मन्त्रीसँगै छलफल गर्न बोलाइएको बैठकमा उनकै अनुपस्थित रहेको भनी समिति सदस्यहरुले अनुपस्थितिलाई लिएर प्रश्न उठाएका हुन् ।

रास्वपाकी सांसद डा. तोसिमा कार्कीले मन्त्रालयको कामकारबाही र मन्त्रीको निर्णयहरुका सम्बन्धमा सार्वजनिक रुपमा समेत प्रश्न उठिरहेको अवस्थामा उनको अनुपस्थितिले संशय पैदा गरेको बताइन् ।

मन्त्री स्तरीय निर्णयहरु अदालत पुगिरहेको र अदालतबाट उल्टिरहेको भनी उनले अनुपस्थितको कारण माग गर्नुपर्ने बताइन् ।

समिति सभापति भानुभक्त जोशीले आफूले माघ ५ गतेदेखि निरन्तर स्वास्थ्यमन्त्रीलाई फोन गरेको तर नउठाएको बताए ।

समितिका अरु सदस्यहरुले पनि स्वास्थ्यमन्त्रीको उपस्थितिमै छलफल आवश्यक रहेको बताए । त्यस आधारमा समितिले स्वास्थ्यमन्त्री संगै छलफल गर्ने निर्णय लिएको छ ।

मन्त्रीलाई समिति बैठकमा उपस्थित हुन आग्रह गर्दै पत्र काट्ने समितिको निर्णय छ । तर अर्को बैठकको मिति तय गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?