+
+

प्रधानमन्त्रीले भने- सबैलाई खुसी पार्ने बजेट नखोजौं

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ९ गते १५:५५

९ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परम्परागत ढंगको नीति तथा कार्यक्रम र बजेटले देशको समस्या समाधान नहुने बताएका छन् । आगामी आर्थिक वर्षको बजेटमा सबैलाई खुसी पार्ने गरी कनिका छरेजस्तो कार्यक्रम नराखिने बताउँदै अधुरा आयोजनाहरूको निर्माण सक्न जोड दिइने बताए ।

मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारीसम्बन्धी बैठकमा प्रधानमन्त्रीले पूराना योजनाहरू अलपत्र पर्ने तर नयाँ–नयाँ योजना थपिँदै जाने अवस्था हटाउनुपर्ने बताए । यसले एकातिर काम नहुने र अर्कोतर्फ ठूलो स्रोत खेर जाने भएकाले गम्भीर हुन अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगको ध्यानाकर्षण पनि गराए ।

‘बिना सम्भाव्यता अध्ययन, बिना उपयोगिता जहाँ पनि विकासका योजना माग्ने तर त्यसको अपनत्व पनि नलिने, स्रोत पनि नपुग्ने र बिनियोजित बजेट पनि फ्रिज जाने बिडम्वना छ,’ उनले भने,‘ त्यसबाट हामी माथि उठ्नैपर्छ ।’ अर्थतन्त्रका संकेतहरू सकारात्मक रहेको दाबी गर्दै उनले दवाबमुक्त भने भइनसकेको बताए ।

‘विकास निर्माणका काममा थुप्रै बेथिति छन्,’ प्रधानमन्त्रीले भने,‘यसपटक परम्परागत सोच र ढाँचाबाट माथि उठौं, सबैलाई खुसी पार्ने होइन, देशको समृद्धिको कार्यभार पूरा हुने योजना छनोट गर्नुपर्छ । यसपटक ब्रेक-थ्रु गर्नैपर्छ ।’|

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रका बाह्य सूचकहरू सकारात्मक रहे पनि राजस्व संकलनमा अपेक्षित सफलता प्राप्त भइनसकेकाले मितव्ययी भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

मुख्यसचिव डा. बैकुण्ठ अर्यालले यसपटक नीति तथा कार्यक्रम र बजेट निर्माणको कार्यतालिका परिमार्जन गरिएकाले पर्याप्त अध्ययन र छलफलका आधारमा अन्तिम निष्कर्षमा पुग्न सजिलो हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?