 
																			९ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले खोप कार्यक्रममा मन्त्रालयले अपेक्षित सफलता पाउन नसकेको भन्दै चर्को असन्तुष्टि व्यक्त गरेका छन् ।
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले मंगलबार राजधानीमा आयोजना गरेको राष्ट्रिय दादुरा–रुवेला खोप अभियान २०८०/०८१ को उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले कर्मचारीको कार्यशैलीप्रति असन्तुष्टि पोख्दै क्षमता अनुसार काम नभएको बताए ।
सरकारले सन् २०२६ सम्म दादुरा–रुवेला निवारण गर्ने लक्ष्य लिएको भए पनि यही गतिमा काम गर्ने हो भनेसंभव नभएकोले स्वास्थ्यका हरेक कर्मचारीले आफ्नो काम गर्ने शैली परिवर्तन गर्नु आवश्यक रहेको मन्त्रीको भनाई थियो ।
‘एकातिर ५ जिल्ला बाहेक देशका ७२ जिल्ला पुर्ण खोप जिल्ला घोषणा गरिसकेका छौ भन्दै हुनुहुन्छ । अर्कोतिर देश भरि ५२ प्रशित बालबालिकाले मात्र पुर्ण खोप लिएका छन् भन्दै हुनुहुन्छ । यो कस्तो तथ्यांक हो,’ मन्त्री बस्नेतले प्रश्न गरे ।
अहिलेकै कार्यशैलीमा काम गर्ने हो भने सन् २०२६ सम्म पनि दादुरा–रुवेला निवारण हुनेमा आफु विश्वस्त हुन नसकेको मन्त्री बस्नेतले बताए ।
सन् २०२३ मै निवारण गरिसक्ने लक्ष्य लिएको भए पनि कर्मचारीकै ढिलासुस्ती र गैरजिम्मेवारीपनका कारण त्यो पुरा हुन नसकेर सन् २०२६ को लक्ष्य लिएको भए पनि जिम्मेवारीका साथ काम भइनरहेकोले फेरि अर्को मिति तोक्नु पर्ने अवस्था आउन नहुने मन्त्री बस्नेतले बताए ।
‘जागिर मात्र खाने मानसिकताले काम गर्दा तोकिएको लक्ष्य पुरा गर्न सकिदैन । आफुमा भएको क्षमता प्रदर्शन गर्न सक्नु पर्छ,’ मन्त्री बस्नेतले असन्तुष्टि व्यस्त गर्दै भने, ‘स्वास्थ्यका अधिकारीको काम महिनामा दुई दुई पटक विदेश जाने र आईएनजिओको काम गर्ने मात्र होइन , सरकारी सेवामा प्रवेश गरेपछि जनताको पक्षमा काम गर्नु पर्छ ।’
स्वास्थ्यका कर्मचारीको अहिलेको काम गर्ने तौरतरिका परिवर्तन नभए स्वास्थ्यमा अपेक्षाकृत नतिजा हासिल गर्न कठिन हुने बताउँदै मन्त्री बस्नेतले सरकारले दिएको जिम्मेवारी गहन ढंगले बहन गर्न सबै कर्मचारीलाई निर्देशन दिए ।
मन्त्रालय, विभाग, महाशाखा नै रित्तो बनाएर कर्मचारी आईएनजीओको कार्यक्रममा हिँडेको र जनताको सेवामा चुकेको उनले बताए ।
यस्तै, १०० शय्यादेखि ३०० शय्यासम्मका अस्पतालमा नर्स र प्यारामेडिक्सको पढाइ हुने गरि काम अगाडि बढेको र निकट भविश्यमै ३०० शय्याका अस्पतालमा एमबीबीएस अध्ययन गर्ने व्यवस्था गर्ने योजना रहेको उनले बताए ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी बिच्छाले खोप कार्यक्रममा सधै अभियान चलाईराख्नु भन्दा दीर्घकालिन समाधान खोज्नु पर्ने आवश्यकता रहेको बताए । सन् २०१६ मा पुर्ण खोप दर १ प्रतिसतमा रहेकोमा अहिले त्यो बढेर ४ प्रतिशतमा पुग्नु चिन्ताको विषयमा भएको बताउदै खोप खेर जाने प्रतिशतलाई पनि घटाउदै लैजानु पर्ने आवश्यकता माथि जोड दिए ।
स्वास्थ्य मन्त्रालयका सचिव डा. रोसन पोखरेलले देशभर ५२ प्रतिशतले मात्र खोप पाएको तथ्यांकलाई सुधार गर्दै ९५ प्रतिशत भन्दा बढी बालबालिकाले खोप पाएको तथ्यांक सार्वजनिक गर्न सबैको सहकार्य आवश्यक रहेको बताए ।
परिवार कल्याण महासाखाका निर्देशक डा. विवेककुमार लालले खोपको वर्तमान अवस्था र भावी रणनीतिका बिषयमा प्रस्तुतिकरण गर्दै सरकारले सन् २०२६ सम्म दादुरा रुवेला निवारण गर्ने लक्ष्यका साथ काम गरिरहेको बताए । नेपालमा २३ प्रतिसत खोप खेर जाने गरेको तथ्यांक प्रस्तुत गर्दै यसको प्रतिशत घटाउनतिर सबैको ध्यान जानुपर्ने आवश्यकता रहेको औंल्याए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4