+

आहा रारा पोखरा गोल्डकमा आज त्रिभुवन आर्मी र राइजिङ स्टार भिड्दै

२०८० माघ  १० गते ६:४८ २०८० माघ १० गते ६:४८
आहा रारा पोखरा गोल्डकमा आज त्रिभुवन आर्मी र राइजिङ स्टार भिड्दै

१० माघ, पोखरा । २३औं आहा रारा पोखरा गोल्डकपको दोस्रो दिन आज विभागीय टिम त्रिभुवन आर्मी क्लब र राइजिङ स्टार फुटबल क्लब भिड्दैछन् । खेल दिउँसो २ बजेदेखि पोखरा रंगशालामा हुनेछ ।

आहारारा पोखरा गोल्डकपमा यो विभागीय टिम आर्मीको १५ औं सहभागिता हो भने राइजिङ स्टारको पहिलो । आजको खेल जित्ने टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछ र माघ १४ गते डिफेन्डिङ च्याम्पियन संकटा क्लबको सामना गर्नेछ ।

पटकपटक उपाधि नजिक पुगेर पनि खाली हातै घर फर्किनु परेकाले आहा रारा इतिहासमा आर्मी ‘अभागी टिम’ मानिन्छ । पहिलोपटक ०६० सालमा भाग लिएको आर्मी सेमिफाइनलसम्म पुगेको थियो । त्यसयता चार पटक फाइनल पुगिसकेको छ । तर, उपाधि जित्न सकेको छैन ।

आर्मी पहिलोपटक २०६५ मा फाइनल पुगेको थियो । त्यतिबेला नेपाल पुलिससँग ५–० ले पराजित भयो । ०६६ मा पनि फाइनल पुगेको आर्मीलाई पुलिसले नै १–० ले पराजित गर्‍यो ।

०७२ सालको फाइनलमा भने आर्मीलाई मनाङ मर्स्याङ्दीले १–० ले हरायो । ०७५ मा भने आर्मीले ट्राइब्रेकरमा थ्रीस्टारसँग ५–२ ले हार व्यहोर्‍यो ।

अघिल्लो संस्करणमा आर्मी क्वार्टरफाइनलबाटै घर फर्किएको थियो । क्वार्टरफाइनलमा संकटा क्लबले आर्मीलाई ३–१ ले पराजित गरेको थियो । आर्मीलाई हराएको संकटाले २२औं संस्करणको आहा रारा उपाधिसमेत चुम्न सफल रह्यो ।

भरत खवासको कप्तानीमा रहेको आर्मीको टिममा धेरै परिवर्तन रहेको रहेको छ । खवासहसहित गोलकिपर विकेश कुथु, डिफेण्डर जितेन्द्र कार्की र विमल पाण्डे तथा फरवार्डद्वय दिनेश हेन्जन र जिलेस्पी जंग कार्की अनुभवी खेलाडीको रुपमा छन् । अरु धेरै नयाँ खेलाडीहरु छन् ।

यस्तै आर्मीको प्रशिक्षकमा मेघराज केसी छन् ।

उता पहिलो पटक आहा रारा पोखरा गोल्डकप खेल्न लागेको राइजिङ स्टारको टिममा मिडफिल्डर रुपेश केसी र गोलकिपर विशाल सुनार चर्चित अनुहार छन् । अन्य स्थानिय र नयाँ खेलाडीहरु टिममा छन् ।

यसअघि आर्मीबाट खेल्दै आएका सेसेहाङ आङ्दम्बे आहा राराका लागि मछिन्द्र क्लबमा अनुबन्ध भएका छन् । यस्तै विकास तामाङ अष्ट्रेलिया गएका छन् । फरवार्ड नवयुग श्रेष्ठले पनि यस पटक आहारारा खेल्नै छैनन् ।

२३औं आहा राराको पहिलो खेल आयोजक सहारा र थ्रीस्टार क्लबबीच भएको थियो । जसमा आयोजक सहारालाई २-१ ले हराउँदै थ्रीस्टार क्वार्टरफाइनल पुगेको छ । थ्रीस्टारले अब माघ १३ गते आमन्त्रित भुटानी टिम पारो एफसीसँग खेल्नेछ ।

आहा रारा पोखरा गोल्डकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय