+
+

संविधानसभापछि राष्ट्रियसभामा चन्द र बोहरा

जनक विष्ट जनक विष्ट
२०८० माघ ११ गते २१:२३
सुदूरपश्चिमबाट राष्ट्रियसभामा निर्वाचित बलदेव बोहरा र रेणु चन्द ।

११ माघ, धनगढी । राष्ट्रिय सभा सदस्यको निर्वाचन अन्तर्गत बिहीबार भएको निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट तीनवटै सिटमा सत्तागठबन्धनका उम्मेदवार विजयी भए ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै राष्ट्रिय सभाको यात्रा तय गर्नेमा महिलातर्फ माओवादी केन्द्रकी रेणु चन्द, अन्यतर्फ नेपाली कांग्रेसका बलदेव बोहरा र अल्पसंख्यक वा अपांगमा कांग्रेसकै नारायणदत्त भट्ट रहेका छन् ।

उनीहरुमध्ये माओवादीकी चन्द र अन्यतर्फका बोहरा यसअघि संसदीय अभ्यास गरिसकेका नेतामा पर्छन् । चन्द बैतडीबाट २०६४ सालमा संविधानसभा सदस्यमा प्रत्यक्ष चुनाव जितेकी थिइन् भने बोहरा २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा कञ्चनपुरबाट समानुपातिक सांसद बनेका थिए । संसदीय राजनीतिकको अभ्यासबारे जानकार दुवै जनाको राजनीतिक पृष्ठभूमि भने फरक–फरक रहेको छ ।

माथिल्लो सदनको यात्रा तय गरेकी चन्द राजनीतिके परिवारमा हुर्किएकी थिइन् । भारतमा अध्ययन गरेकी चन्द उतै माओवादीको विद्यार्थी संगठन र प्रवास संगठनमा आवद्ध भएर राजनीतिमा आएकी थिइन् ।

२०५२ सालदेखि माओवादीको पार्टी राजनीतिमा सक्रिय चन्द २०५७ सालदेखि सशस्त्र विद्रोहमा लागिन् । २०५८ सालमा माओवादी केन्द्र जिल्ला कमिटी बैतडीको सदस्य बनेकी चन्दले २०६४ सालमा बैतडीबाट संविधानसभा सदस्यमा प्रत्यक्ष निर्वाचन जितेकी थिइन् ।

२०७० सालमा समेत बैतडीबाट चुनाव लडेकी चन्द कांग्रेसका नरबहादुर चन्दसँग पराजित भइन् । २०७९ को चुनावमा पनि उनको नाम समानुपातिक पद्धतिको सूचीमा थियो । त्यही नाम फिर्ता लिएर उनी राष्ट्रियसभाको उम्मेदवार बन्न पुगिन् ।

अखिल नेपाल महिला संघकी केन्द्रीय उपाध्यक्ष समेत रहेकी उनी सुदूरपश्चिम प्रदेश इन्चार्ज पनि हुन् । राष्ट्रियसभा सदस्यमा पहिलो नम्बरमा नाम सिफारिस भएकी चन्दले गठबन्धनमा भागबण्डाका क्रममा माओवादीलाई महिला कोटा पर्दा राष्ट्रियसभाको स्थान सुरक्षित भएको ठानेकी थिइन् ।

राष्ट्रियसभा सदस्यमा विजयी भएपछि चन्दले आफ्नो जितलाई गठबन्धन र संविधान बचाउने शक्तिको जितको रुपमा लिएको बताएकी छन् ।

राष्ट्रियसभा सदस्य निर्वाचित भएपछि चन्दले भनिन्, ‘नीति, निर्माणमा भएका कमीकमजोरी सच्याउने, निगरानी गर्ने र सुदूरपश्चिम प्रदेशसँग सम्बन्धित विकास, निर्माणका कुरा उठाउनेछौं ।’ चन्दले समानुपातिक निर्वाचन प्रणालीबाट फेरि संसद छिर्ने प्रयास असफल भएपछि राष्ट्रियसभामा जाने योजना बनाएकी नेताहरु बताउँछन् ।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा कञ्चनपुरबाट समानुपातिक सांसद बनेका बलदेव बोहराले १० वर्षपछि माथिल्लो सदन राष्ट्रियसभाको सदस्य बन्ने अवसर प्राप्त गरेका छन् । कांग्रेसको राजनीतिमा अहिलेको संस्थापन पक्ष निकट मानिने बोहरा २०३३ सालदेखि नै कांग्रेसको राजनीतिमा सक्रिय नेता हुन् ।

२०४९ सालमा जिल्ला विकास समितिको सभापति र पार्टीको जिल्ला कमिटी सदस्यको जिम्मेवारी बाहेक उनी अन्य भूमिकामा छैनन् । तर कञ्चनपुरमा कांग्रेसका पुराना नेताका रुपमा परिचित बोहरा इमानदार र स्वच्छ छवि भएका नेता हुन् ।

राष्ट्रियसभा सदस्यमा निर्वाचित भएपछि बोहराले राष्ट्रको हित हुनेगरी भूमिका खेल्ने बताएका छन् । ‘संविधानले दिएको अधिकारअनुसार राष्ट्र र जनताको हित हुने गरी काम गर्नेछौं’, बोहराले भने ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?