+
+

गोल्डेन गर्ल सन्तोषीको प्राथमिकता अब म्याराथन

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० माघ १२ गते २१:२८

१२ माघ,  पोखरा । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा मिलिसेकेण्डले स्वर्ण जितेपछि सन्तोषी श्रेष्ठ ‘गोल्डेन गर्ल’ उपनामले चिनिन थालिन् । घरेलु भूमिमा हुने मध्यम गतिका दौडमा मात्र नभएर उनले राष्ट्रिय खेलकुदमा समेत स्वर्ण पदक जितिसकेकी छन् ।

उनै सन्तोषीले शुक्रबार बंगलादेशको ढाकामा भएको बंगबन्धु शेख मुजिम ढाका म्याराथनमा स्वर्ण जितिन् । उनले सार्क इलाइट महिला क्याटेगोरीमा स्वर्ण जितेकी हुन् ।

पहिलो पटक म्याराथन दौडेर डेब्यूमै नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी सन्तोषीले अब म्याराथनमै केन्द्रित हुने बताएकी छन् । ‘ओलम्पिकलाई टार्गेट गरेर म्याराथन कुदेको हो । यसबाट चान्स धेरै हुन्छ कि भनेर हो । अहिलेलाई म्याराथनकै केन्द्रित गरिरहेको छु,’ सन्तोषीले स्वर्ण जितेपछि ढाकाबाट अनलाइनखबरसँग भनिन् ।

उनले मध्यम दूरीमा दौडने तर म्याराथनलाई मुख्य फोकस गर्ने बताइन् । ‘गर्न त म ५ किमी पनि दौडन्छु । यसमा पनि अझै राम्रो गर्ने सोच छ । म्याराधन र ५ किमी दौडको ट्रेनिङमा पनि त्यति धेरै फरक त हुँदैन त्यसैले पनि दुवैमा दौडन्छु ।’

सन् २०१९ मा काठमाडौंमै भएको १३औं सागमा सन्तोषीले महिला १० हजार मिटरमा ऐतिहासिक स्वर्ण जितेकी थिइन् । उनी साग इतिहासमा एथ्लेटिक्सतर्फ नेपालका लागि स्वर्ण जित्ने पहिलो महिला खेलाडी समेत हुन् ।

त्यतिबेला पहिलो अन्तर्राष्ट्रिय सहभागितामै १० हजार मिटरमा स्वर्ण जितेकी सन्तोषीले अहिले म्याराथनमा डेब्युमै स्वर्ण जितिन् । विभाग भन्दा बाहिर रहेर पनि सन्तोषीले दौडमा लगातार सफलता पाइरहेकी छिन् ।

पहिलो सहभागितामै कीर्तिमानी स्वर्ण

सन्तोषीले पहिलो पटक म्याराथनमा प्रतिस्पर्धा गरेकी थिइन् र पहिलो प्रयासमा उनले स्वर्ण जितिन् त्यसमा पनि नयाँ राष्ट्रिय कीर्तिमान पनि बनाइन् ।

ढाकामा सन्तोषीले निर्धारित ४२.१९५ किलोमिटर दूरी २ घण्टा ४६ मिनेट २२ सेकेन्डमा पूरा गर्दै नयाँ कीर्तिमान आफ्नो नामम लेखाएकी हुन् । उनले पुष्पा भण्डारीको नाममा रहेको २ घण्टा ४८ मिनेट ०२ सेकेण्डको कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाएकी हुन् ।

गत वर्ष स्वर्ण जितेकी पुष्पाले यस वर्ष भने २ घण्टा ४९ मिनेट ३४ सेकेन्ड टाइम निकाल्दै रजत जितिन् । पुष्पाले १३औं सागमा रजत जितेकी थिइन् र ढाका म्याराथनमै पनि दुई पटक स्वर्ण जितिसकेकी थिइन् ।

पुरुषमा खडकबहादुर खड्का २ घण्टा १८ मिनेट ३२ सेकेन्ड टाइमिङ सहित तेस्रो भए । यसपटक ढाका म्याराथनमा ४ महिला  र ३ पुरुषसहित ७ खेलाडी सहभागी थिए ।

पहिलो प्रयासमै स्वर्ण जित्दा सन्तोषी भने दंग नै छिन् । ‘पहिलो प्रयासमै नेसनल रेकर्ड र गोल्ड मेडल लगाउन पाउँदा खुशी छु’, सन्तोषीले ढाकाबाट अनलाइनखबरसँग खुशी साटिन्, ‘झन् मेरो यो पहिलो प्रयास थियो । म्याराथन सक्ला नसक्ला भन्ने थियो । तर सोचे जस्तो गाह्रो चाही भएन र अझै राम्रो कुद्न सक्ने रहेछु भन्ने महसुस भयो ।’

इथियोपियामा ट्रेनिङ गरेर १९औं एसियाडमा दौडिएकी सन्तोषीले त्यहाँ राम्रो प्रदर्शन गर्न सकिनन् । ५ हजार र १० मिटर दौडेकी उनको प्रदर्शन सोचे भन्दा खराब रहेको थियो ।

तर साहसका साथ नै दौडमा लागेकी सन्तोषीले म्याराथनमाथि पनि जित हासिल गरेरै छाडिन् । ‘ट्रेनङ पनि धेरै थिएन । झन् मेरो पहिलो म्याराथन थियो । कहाँ सकुँला जस्तो भएको थियो । तर मैले कुद्नुपर्छ भन्ने अठोटसहित कुदेँ,’ उनले भनिन्, ‘३५ किमी पछि म्याराथनमा गाह्रो हुन्छ भन्ने सोचेर म त्यो बेलासम्म कुरेरै बसेँ । तर त्यस्तो भएन । ३५ किमी सम्म कुरेर कुँदे । तर सोचे जस्तो गाह्रो भएन र अझै रम्रो कुद्न सक्ने रैछु भन्ने महसुस भयो । जे होस् माइनड सेट बनाएर कुदा सफल भएँ ।’

सन्तोषीले अन्य खेलाडीले चुनौती दिन आएको भए आफू अझ चाँडै दौडने गरी शक्ति सञ्चय गरेर दौडेको बताइन् । ‘सकिने बेला तिर मैले म्याराथन चाँडै कुद्न सक्ने रैछु भनेर महसुस भएको थियो । म अगाडि भएको भएर आफ्नै शैलीमा कुदेँ । त्यहाँ अझ कोही फास्ट गएको भए म फास्ट नै कुद्थेँ । म सँग अलि अनुभव भएको फास्ट जान्थेँ पनि होला ।’

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?