+
+

श्याम देउवाको मृत्यु अनुसन्धान गर्न विज्ञ टोली परिचालन

जनक विष्ट जनक विष्ट
२०८० माघ १३ गते १८:३८

१३ माघ, धनगढी । कैलालीको अत्तरियामा दोहोरी साँझको विवादपछि भएको मृत्यु प्रकरणको अनुसन्धान गर्न प्रहरीको विज्ञ टोली खटिएको छ ।

गत २५ पुसको राति अत्तरियाको न्यू दोहोरी साँझबाट निस्किएका कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरियाका ४२ वर्षीय श्याम देउवाको मृत्यु प्रकरणमा प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरपति भट्ट नेतृत्वको विज्ञ टोली खटिएको हो ।

प्रदेश प्रहरी प्रमुख डीआईजी रवीन्द्र केसीले प्रदेश कार्यालय महेन्द्रनगरबाट विज्ञ टोली खटाएर घटनाको सुक्ष्म अनुुसन्धान भइरहेको जानकारी दिए । केसीका अनुसार विज्ञ टोलीले देउवाको मृत्यु प्रकरणमा पक्राउ परेका ६ जना अभियुक्तहरुको पोलिग्राफ परीक्षण लगायतका काम सकेको छ ।

उनले भने, ‘उहाँहरु काम गर्दै हुनुहुन्छ । अहिले ताजा प्रगति केही छैन ।’

विज्ञ टोलीसँगै जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले समेत घटनाको अनुसन्धान गरिरहेको छ ।

२५ पुसको राति साथीसँगै अत्तरियास्थित न्यू दोहोरी साँझमा गएका देउवा त्यहाँ भएका अन्य व्यक्तिसँग वादविवाद भएपछि घर जान भन्दै बाहिर निस्किएका थिए । उनीसँगै गएका कृष्णपुरकै टेकबहादुर नायक मोबाइल दोहोरी साँझमै छुटेको भन्दै ल्याउन गएका बेला उनी त्यहाँबाट एक्लै हिँडेका थिए ।

देउवालाई नदेखेपछि उनकै मोटरसाइकल चढेर नायक होटलमा सुत्न गएका थिए तर देउवा भोलिपल्ट गोदावरी नगरपालिकाको चौकीडाँडामा अर्धचेत अवस्थामा भेटिएका थिए । देउवाले त्यहाँबाट फोन गरेपछि आफन्तले घर लगेका थिए ।

शरीरमा चोटपटक देखेपछि आफन्तले उपचारका लागि त्यही दिन धनगढी ल्याएका थिए, उनको उपचारकै क्रममा मृत्यु भएको थियो । देउवाको मृत्यु भएपछि हत्या गरिएको भन्दै उनीसँगै गएका साथीसँगै ६ जनाविरुद्ध परिवारले किटानी जाहेरी दिएको थियो ।

त्यसपछि कैलाली प्रहरीले नायकसहित गोदावरी नगरपालिका–१ का २७ वर्षीय विनोद शाह, गोदावरी–६ बस्ने २४ वर्षका प्रकाश ओली, वडा नम्बर १ बस्ने २५ वर्षीय उमेश बडेला, २८ वर्षीय यज्ञ बिक, कृष्णपुर नगरपालिका–९ बस्ने ३८ वर्षीय रामबहादुर ऐर पक्राउ गरेको थियो । उनीहरुलाई नियन्त्रणमा राखेर अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?