+
+

जीबी राईविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी

थप दुईविरुद्ध पनि नोटिस जारी हुने प्रक्रियामा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १३ गते २०:५८

१३ माघ, काठमाडौं । सहकारी ठगीका आरोपी जीबी राईविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी भएको छ ।

सूर्यदर्शन सहकारीसँग जोडिएको ठगी सम्बन्धी मुद्दामा डिफ्यूजन नोटिस जारी गरिदिन भन्दै जिल्ला प्रहरी कार्यालय, कास्कीले केहीअघि प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो । त्यसको आधारमा इन्टरपोलको नेश्नल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंले डिफ्यूजन नोटिस जारी गर्न इन्टरपोलको महासचिवालायलाई अनुरोध गरेको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी भीमप्रसाद ढकालले बताए ।

‘दुई साताअघि नै डिफ्यूजन नोटिस जारी गर्ने विषय प्रक्रियामा गइसकेको थियो’, उनले अनलाइनखबरसँग भने । प्रहरीले सूर्यदर्शन सहकारीका वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भुपेन्द्र राईविरुद्ध पनि डिफ्यूजन नोटिस जारी गर्न सिफारिस गरेको छ । यद्यपि, इन्टरपोलमा नोटिस जारी भइसकेको छैन ।

यो नोटिस जारी भएपछि इन्टरपोलका सदस्य राष्ट्र मुलुकहरुमा चलाउने भएको वा नभएको लोकेट हुनेछ, त्यसपछि उनलाई डिपोर्ट गराएर नेपाल ल्याउने प्रक्रिया थालिने प्रहरीले जनाएको छ । राई मलेसियामा रहेको आशंका छ । उनी त्यहाँ आएको पुष्टि भए त्यसपछि डिपोर्ट गरेर ल्याउने प्रक्रिया अघि बढ्ने एक प्रहरी अधिकृतले बताए ।

सहकारीका बचतकर्ताले जम्मा गरेको रकम हिनामिना गरेको आरोपमा कोषाध्यक्ष कुमार रम्तेललाई भने कास्की जिल्ला अदालतले गत असोज २१ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको थियो । यो मामलामा उपाध्यक्ष कैलाशकुमार दर्लामी, सदस्य शिवबहादुर गुरुङ र भगिश्वर अर्याल पनि पक्राउ परेर पुर्पक्षका लागि थुनामा रहेको कास्की प्रहरीले जनाएको छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले जीबीसहित १९ जनालाई पक्राउ पुर्जी जारी गरेको थियो । तीमध्ये १५ जना फरार छन् ।

सूर्यदर्शनका पदाधिकारीले बचतकर्ताको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ हिनामिना गरेको जाहेरीमा उल्लेख छ । उनीहरुलाई सहकारी ऐन अनुसार बिगो बराबरको जरिवाना र ८ देखि १० वर्ष कैद सजायको माग गरिएको छ ।

सूर्यदर्शनबाट जीबी राई समूहले नक्कली सेयर सदस्य र विभिन्न कम्पनी कडा गरेर पैसा निकालेर अपचलन गरेको प्रहरीले बुझाएको प्रतिवेदनमा उल्लेख छ ।

सहकारीका सञ्चालक तथा पदाधिकारीले कृत्रिम सेयर सदस्य र खाता खोलेर रकम अपचलन गरेको, सहकारीको नाममा कुनै पनि सम्पत्ति नराखी व्यक्तिको नाममा गरेको देखिएको प्रहरीको निश्कर्ष छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?