 
																			१४ माघ, काठमाडौं । शुक्रबारदेखि नेपाल भ्रमणमा रहेकी चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को विदेश विभागकी उपमन्त्री सुन हाइयानले आइतबार प्रमुख दलका नेताहरुलाई एकै ठाउँमा राखेर अन्तर्क्रिया गरिन् । कूटनीतिक अभ्यासमा विरलै मानिने अन्तर्क्रियामा उनको प्रस्तुति आक्रामक थियो ।
दलहरुका अनुसार उपमन्त्री सुन नेपाल आउनुअघि नै सहभागीहरु तय भइसकेको थियो । त्यसअनुसार नै करिव ८/१० दिन अगाडि नै निमन्त्रणा गरिएको थियो ।
राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्याललाई प्रमुख वक्ता बनाइएको आइतबारको कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला, माओवादीका महासचिव देव गुरुङलाई बोलाइएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख शिशिर खनाल, राप्रपाका विदेश विभाग प्रमुख सगुनसुन्दर लावतीलाई पनि बोलाइएको थियो ।
कार्यक्रमको सुरुमै राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले छोटो धारणा राखेपछि उपमन्त्री सुन आफैं बोलिन् । आफ्नो नेपाल भ्रमण र संयुक्त परामर्श गर्नुको उद्देश्य राजनीतिक दलहरुसँगको सम्बन्धलाई सुमधुर बनाउनु रहेको बताइन् ।
दुई देशको सम्बन्धलाई कसरी राम्रो बनाउने र सहकार्यलाई मजबुत बनाउने भन्ने विषयमा आफ्ना धारणा राखिन् । सुनले बुँदागत रूपमै तीनवटा उठाइन् ।
पहिलो : नेपाल र चीनबीचको सम्बन्ध कस्तो हुनुपर्छ ?
दोस्रो : दुई देशको सम्बन्धमा नेपालका राजनीतिक दलहरूले कस्तो भूमिका खेल्नुपर्छ ?
र तेस्रो : नेपालमा निर्माण भइरहेका चिनियाँ लगानीका आयोजनाको वास्तविकता के हो ?
‘दुई देशका राजनीतिक दलबीच सम्बन्ध सुधार हुनुपर्छ । कतिपय मुलुक चीन र नेपालबीच राम्रो सम्बन्ध भएको देख्न चाहन्नन् । उनीहरू आउँछन् र जान्छन् । त्यसले असर गर्ने भनेको नेपाल र चीनका जनतालाई नै हो’, उनले भनिन्, ‘त्यसैले हामी आफैंले यसको लक्ष्य निर्दिष्ट गरेर अघि बढ्न जरुरी छ ।’
विश्व राजनीतिमा देखिएका कठिनाइको सामना गर्न दुई देशले मिलेर काम गर्नुपर्ने र सहकार्यलाई अझ व्यवहारिक बनाउनुपर्ने उनको जोड थियो । ‘हामीले गुट बनाउने, क्षेत्रीय द्वन्द्व सिर्जना गर्ने कामको विरोध गर्नुपर्छ, यसका लागि राजनीतिक दलले काम गर्नुपर्छ’ सीपीसी विदेश विभागकी उपमन्त्री सुनले भनिन्, ‘चीन नेपाल सम्बन्धका गलत अफवाहलाई हटाउन काम गर्नुपर्छ ।’
उनले चीन र नेपाल सम्बन्ध एकल गायन मात्रै नभई संयुक्त प्रस्तुति भएको टिप्पणी गरिन् । उनले चीनको लगानी वा चिनियाँ ठेकदार कम्पनी सहभागी योजना समयमै सम्पन्न नभएको भनेर उठाएको प्रश्नप्रति खुलेरै असन्तुष्टि जनाइन् ।
चीनले अरु छिमेकी मुलुकका पूर्वाधार विकासमा लगानी गरेको भन्दै उनले भनिन्, ‘तर नेपालमा हामीले गरेका काममा ढिलाइ भइरहेको अफवाह फैलाउने गरिएको छ ।’ कोभिड महामारीका साथै विभिन्न कारणले काम सक्न ढिलाइ भएको भन्दै उनले आपसी छलफलबाट यसको समाधान खोज्नुपर्ने बताइन् ।
काठमाडौं आउनुअघि आफूले गरेको छलफलमा चिनियाँ उद्यमीहरुले नेपालमा नीतिगत समस्या रहेको विषय सुनाएको भन्दै उपमन्त्री सुनले सुधार गर्न सुझाव दिइन् ।
जीविकोपार्जनका लागि पनि नेपालमा परियोजना आवश्यक रहेको आफूहरुले बुझेको भन्दै उनले भनिन्, ‘त्यसका लागि हामी काम गरिरहेका छौं, तर त्यसका लागि नीतिगत सुधार जरुरी छ । त्यो भनेको यहाँको जनताले हामीले गरेको लगानीको प्रतिफल पाउनुपर्छ भन्ने नै हो ।’
चीनको आर्थिक सुधारबाट नेपालले लाभ लिनसक्ने उनले बताइन् । तर त्यसका लागि चिनियाँ शैलीको विकास निर्माणको मोडललाई अनुशरण गर्नुका साथै बीआरआईलाई कार्यन्वयन गरेर जानु पर्ने उपमन्त्री सुनको भनाइ थियो ।
त्यसपछि बोलेका नेपालका लागि चिनियाँ राजदूत छन सङ पनि त्यही शैलीमा प्रस्तुत भए ।
नेपाली मिडियामा चीनबारे धेरै गलत समाचार प्रकाशन/प्रशारण भएको भन्दै उनले यसले दुई देशको सम्बन्धमा असर गरेको बताए । ‘म स्रोत भन्न चाहन्न, तर नेपाली मिडियामा चीनबारे गलत समाचार गइरहेका छन्’, उनले भने, ‘नेपालमा धेरैभन्दा धेरै चीनको अनुदानबाट काम भइरहेका छन्, तर नेपाललाई ऋणमा डुबाएको भनेर समाचार आएका छन् । सञ्चार माध्यमले भनेजस्तो अवस्था होइन ।’
अरू देशमा भएका चिनियाँ परियोजना समयमै सम्पन्न हुने, तर नेपालमा किन भएनन् भनेर मित्रका रूपमा सामूहिक हिसाबले जवाफ खोज्नुपर्ने राजदूत छङले बताए ।
दलहरुको प्रतिवद्धता
उपमन्त्री सुनको आक्रामक प्रस्तुत सुनेका नेताहरुले एक चीन नीतिप्रति नेपालको प्रतिवद्धता मात्र दोहोर्याएनन्, उनले उठाएका चासो सम्बोधन गर्ने वचन समेत दिएका छन् ।
एमाले महासचिव शंकर पोखरेलले नेपाल स्वतन्त्र ताइवानको पक्षमा आफूहरु नरहेको बताए । ‘तिब्बत चाइना हङकङ, मकाउ चीनका अभिन्न अंग हुन् भन्ने हाम्रो मान्यता रहिआएको छ’, उनले भने, ‘नेपाल स्वतन्त्र ताइवानको विपक्षमा छ र ताइवानलाई स्वतन्त्र बनाउने नाममा भएका चीन विरोधी गतिविधिलाई नेपालले समर्थन गर्न नसक्ने स्पष्ट पार्न चाहन्छु ।’
दुई छिमेकी (भारत–चीन) सम्बन्धलाई प्राथमिकतामा राखेर आफ्नो राष्ट्रिय हित प्रवद्र्धन गर्न चाहेको उनले बताए । नेपालले बीआरआईबाट लाभ लिन सक्ने प्रशस्त सम्भावना रहेको भन्दै एमाले महासचिव पोखरेलले भने, ‘बीआरआईका सन्दर्भमा परियोजना पहिचानकै काम हुन सकेको छैन । यो काम छिटो गर्नुपर्छ ।’
त्यसपछि उनले चिनियाँ उपमन्त्रीले उठाएका तीनवटै विषयमा जवाफ दिए । नेपालमा अगाडि बढेका परियोजनाको समय लम्बिने सबैले भोगेको पीडा भएको भन्दै उनले भने, ‘नीतगत र संरचनागत सुधार गर्ने हाम्रो आफ्नो विषय हो ।’ यसबारे आफूहरुको ध्यान गएको भन्दै उनले भविष्यमा गर्नुपर्ने नीतिगत र संरचनागत सुधारका लागि दलहरु प्रतिवद्ध रहेको बताए ।
चीनसंँगको सम्बन्धलाई भविष्यमा अझ प्रगाढ कसरी बनाउने भन्ने सन्दर्भमा उपमन्त्रीले केही भ्रमबारे कुरा गरेको भन्दै उनले धेरै चिन्ता नगर्न आग्रह गरे ।
नेपालको विकास प्रयासमा छिमेकीहरुको सहयोगलाई प्राथमिकताका साथ लिने गरेको भन्दै एमाले महासचिव पोखरेलले भने, ‘भ्रमहरुलाई निवारण गर्ने कर्तव्य हामी आफ्नै हो । यसप्रति हामी प्रतिवद्ध छौं, त्यसका बारेमा तपाईंहरु धेरै चिन्ता गर्नु पर्दैन ।’
नेपालका दलहरुले प्रतिस्पर्धासँगै आपसमा सम्वाद पनि गर्ने भन्दै उनले भने, ‘नेपाल चीन सम्बन्धलाई अझ प्रगाढ बढाउने सम्बन्धमा तपाईहरुले जे जे समस्या अनुभूत गर्नु भएको छ, त्यसलाई हल गरेर नेपालको विकास प्रयासमा चिनियाँ सहयोगलाई प्रवद्र्धन गर्न हामी छलफल गर्नेछौं र निष्कर्षमा पुग्ने छौं ।’
कांग्रेस नेता शशांक कोइरालाले पनि नेपालले विकासका लागि चीनसँग सहकार्य गर्न चाहेको बताएका छन् । ‘नेपालमा भूकम्प जाँदा होस् वा कोभिड महामारी हुँदा गरेको सहयोगका लागि धन्यवाद दिन चाहन्छौं’ उनले अगाडि भने, ‘विद्यमान चुनौतीको सामना गर्न पन्चशीलमा आधारित नेपाल चीन सम्बन्धलाई अगाडि बढाउनुपर्छ । कांग्रेस चीनसँग सहकार्य गर्न चाहन्छ ।’
के हो चीनको सन्देश ?
आइतबारको छलफलमा सहभागी नेताहरुका अनुसार उपमन्त्री सुनले नेपालले पछिल्लो समय लिइराखेको पोजिसनमा चीनको विमति जनाएकी छन् । नेपाल आफ्नो चासोभन्दा बाहिर जान्छ कि भन्ने उनको आशंकामा देखिन्छ ।
चिनियाँ पक्षले चीनको बुझाइ के हो भनेर खुला र स्पष्ट ढंगले राख्न खाजेको भन्दै माओवादी सचिव राम कार्की भन्छन्, ‘नेपालले पछिल्लो समय लिइराखेको पोजिसनमा उनीहरूले विमति देखाए ।’ चिनियाँ लगानीमा बनेका परियोजना अर्को मुलुकलाई दिनुका साथै चिनियाँ सहभागितामा भइरहेको कामबारे नेपाली बुझाइमा चीनले प्रष्ट विमति राखेको उनले सुनाए ।
रास्वपा सांसद शिशिर खनाल पनि अन्तर्क्रियामा चिनियाँ उपमन्त्री सुनले नेपाल आफूबाट टाढा जान्छ कि भन्ने चासो गम्भीर रुपमा उठाएको बताउँछन् । उनले भने, ‘कूटनीतिक हिसाबमा अत्यन्तै गम्भीर चिन्ता र चासो व्यक्त गरेको देखियो ।’
एमाले विदेश विभागका सदस्य गोपाल खनाल पनि चिनियाँ लगानीप्रति अन्तर्राष्ट्रिय रूपमा बनेको भाष्यबाट नेपाल निर्देशित भएको चिनियाँ बुझाइ रहेको सुनाउँछन् । उनले भने, ‘नेपाल चीनको ऋणमा फस्छ भन्ने भाष्यलाई ग्रहण गरेर व्यवहार गरिरहेको बुझाइबाट उनीहरू गम्भीर भएका रहेछन् भन्ने पनि देखिन्छ ।’
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4