+
+

बजेट खर्चमा अर्थ मन्त्रालय नै कमजोर, ६ महिनामा १० प्रतिशत मात्र

अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा कुल विनियोजनको १०.०५ प्रतिशत मात्र बजेट खर्च गर्न सकेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १५ गते १८:२५

१५ माघ, काठमाडौं । कमजोर बजेट खर्चमा विकासे मन्त्रालयहरूलाई दोष दिँदै आएको अर्थ मन्त्रालय नै आफ्नो बजेट खर्चमा भने दयनीय अवस्थामा देखिएको छ ।

मन्त्रालयले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा कुल विनियोजनको १०.०५ प्रतिशत मात्र बजेट खर्च गर्न सकेको छ ।

चालु आर्थिक वर्ष अर्थ मन्त्रालय र मातहतका निकायका लागि ४० अर्ब ४५ करोड ४१ लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यसमध्ये पुस मसान्तसम्म ४ अर्ब ६ करोड ४४ लाखमात्र खर्च भएको हो ।

यसरी मन्त्रालयको खर्च कम देखिनुमा आर्थिक पुनरुत्थान, राहत तथा सहुलियत कार्यक्रम र मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालको सबैभन्दा ठूलो हात छ ।

आर्थिक पुनरुत्थान, राहत तथा सहुलियत कार्यक्रमका लागि यस वर्ष २१ अर्ब १४ करोड विनियोजन भएको छ । तर, ६ महिनामा यो शीर्षकबाट एक पैसा पनि खर्च भएको छैन ।

एमसीए नेपाललाई यसपालि १० अर्ब ८४ करोड १७ लाख रुपैयाँ विनियोजन गरिएको छ । तर, ६ महिनामा ५ करोडमात्र खर्च भएको छ । यी दुई कार्यक्रम/आयोजनाका कारण मन्त्रालयको खर्च प्रतिशत निकै कम देखिएको हो ।

कुल बजेट खर्च भने ६ महिनामा ३२.७५ प्रतिशत पुगेको छ । यो गत आर्थिक वर्ष २०७९/८० को तुलनामा ०.६२ प्रतिशत मात्र धेरै हो ।

यो वर्ष सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबर बजेट कार्यान्वयन गरिरहेको छ । खर्च भने पुस मसान्तसम्म ५ खर्ब ७३ अर्ब ६३ करोडमात्र भएको छ ।

त्यसमध्ये चालु खर्च ४ खर्ब ४३ अर्ब ४ करोड, पुँजीगत खर्च ५० अर्ब ४४ करोड र वित्तीय व्यवस्थातर्फको खर्च ८० अर्ब १३ करोड छ । यो कुल विनियोजनको तुलनामा क्रमशः ३८.७७, १४.४३ र २७.१६ प्रतिशत मात्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?