+
+
ट्राभल्स एजेन्सी सञ्चालकको बयान :

‘भिजिट भिसाको सेटिङ मिलाउँदा अध्यागमन अधिकृतलाई एक करोड जति बुझाएँ’

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १८ गते १९:२९

१८ माघ, काठमाडौं । भिजिट भिसाको नाममा मानव तस्करी गरेको प्रकरणमा पक्राउ परेका एक ट्राभल्स एजेन्सीका सञ्चालक मनोज तामाङले अध्यागमनका दुई अधिकृतलाई पैसा बुझाएर विमानस्थलको सेटिङ मिलाएको बयान दिएका छन् ।

सरकारी वकिलको रोहबरमा प्रहरीसमक्ष दिएको बयानमा तामाङले पहिले अध्यागमन अधिकृत ताराबहादुर कुँवर र पछि नरवीर खड्कालाई रकम बुझाएर युवालाई खाडी मुलुक लगेको बयान दिएका हुन् ।

जिल्ला अदालत, काठमाडौंमा बिहीबार दायर भएको मुद्दाको अभियोग पत्रमा समावेश उनको बयानमा भनिएको छ, ‘नरवीर खड्काबाट सेटिङ मिलाएर मैले करिब ३ सय जना पठाएको थिएँ, त्यसवापत एक करोड रुपैयाँजति उनलाई बुझाएको छु ।’

बाँकी अन्य कर्मचारी मिलाउने काम खड्काले नै गर्ने गरेको उनले बताएका छन् । ‘को–कसलाई मिलाउनुहुन्थ्यो नरवीर सरलाई नै जानकारी होला’, उनले भनेका छन् ।

नरवीरभन्दा पहिले अध्यागमन विभागमा रहेका ताराबहादुर कुँवरसँग सुरुमा भिजिट भिसाको सेटिङ मिलाएको तामाङले बताएका छन् ।

‘उनलाई पटकपटक गरेर १५/२० लाख रुपैयाँ जति बुझाएको हुँ, उनीबाट १ सयदेखि १२० जनाजतिको काम गरेको हो’, उनले भनेका छन् ।

उनले सिनामंगलमा दुई वर्षदेखि निमा छिरिङ टुर एण्ड ट्राभल्स सञ्चालन गर्दै आएका छन् । उनले अन्तर्राष्ट्रिय टिकट काट्ने अनुमति लिएका थिए । एजेन्टले भिजिट भिसामा जाने मानिस ल्याउने र उनीहरुलाई विमानस्थलबाट कटाउने जिम्मा तामाङले लिने गरेका थिए ।

त्यसका लागि सुरुमा कुँवर र पछि खड्कासँग सेटिङ गरेको उनले वयान दिएका छन् । कुँवर फरार छन् भने नरवीरले बयानका क्रममा थप ७ जना अधिकृतको नाम लिएका छन् । त्यसपछि उनीहरु समेत ९ जना अध्यागमन अधिकृतलाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर भएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौं गरेको अनुसन्धानको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल काठमाडौंले शुक्रबार २२ जनाविरुद्ध मुद्दा दायर गरेको छ । उनीविरुद्ध लिखत किर्ते र संगठित अपराध सम्बन्धी कसूर गरेको अभियोग लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?