+
+

अमेरिकी राजदूतले दिए बालेनलाई अमेरिका भ्रमणको निम्तो

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १८ गते २०:२५

१८ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनबीच भेट भएको छ ।

बालेनको कार्यालयमा भएको भेटमा उनले सूचना प्रविधिसम्बन्धी तालिममा अमेरिकासँग सहकार्यको प्रस्ताव गरे । ‘आपसी कार्यक्रमका रुपमा हामीले आईटीको तालिम चलाउन सक्छौं । यसबाट अमेरिकन कम्पनीले कामका लागि जनशक्ति पाउँछन् । नेपाली युवाहरुले आय आर्जन गर्न पाउँछन्’ अमेरिकी राजदूतसँग बालेनले भने ।

युनेस्को रचनात्मक सहर सञ्जालअन्तर्गत चलचित्र विधामा जोडिएर काम गरिरहेको भन्दै बालनेले यसमा हलिउडका चलचित्र निर्माता, निर्देशक, कलाकार, वितरकसँग कार्यक्रम तय गर्न सहजीकरण गरिदिन राजदूतलाई प्रस्ताव गरे ।

भेटमा राजदूत थम्प्सनले नेपालमा हुने सिर्जनात्मक कार्यक्रमहरुमा सहभागी हुन र यस्ता कार्यक्रममा अमेरिकाका तर्फबाट विज्ञ, व्यापारिक, सामाजिक तथा नागरिक तहको सम्बन्ध बढाउन आफूहरु सकारात्मक रहेको बताएका छन् ।

थम्प्सनले प्रमुख शाहलाई अमेरिका भ्रमणको निमन्त्रणा पनि दिएको बालेनको सचिवालयले जनाएको छ ।

सुनिताले भेटिन् टाकाहिरोसँग

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नेपालका लागि जापानी दूतावासका नियोग उपप्रमुख तामुरा टाकाहिरोसँग भेटेकी छिन् ।

तामुराले स्थानीय तहले प्रयोग गर्ने कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अधिकार सम्बन्धी जिज्ञासा राखेका थिए । जवाफमा उपप्रमुख डंगोलले प्रमुखसँग कार्यकारी अधिकार हुने व्यवस्था रहेको र उपप्रमुखलाई बजेट तर्जुमा, राजस्व परामर्श, योजना अनुगमन, बजार अनुगमन, न्यायिक समितिको जिम्मेवारी हुने जानकारी गराइन् ।

‘हामी (न्यायिक समिति) ले प्रयोग गर्ने मेलमिलापको अधिकार वडाबाट सञ्चालन गर्ने प्रबन्ध गरेका छौं । लैङ्गिक समस्या समाधान गर्न महिला जनप्रतिनिधिको संयोजकत्वमा महिला सञ्जाल गठन गरेका छौं’, उनले भनेकी थिइन् ।

छलफलका क्रममा सामाजिक तथा सांस्कृतिक सम्बन्ध र आदानप्रदानका कार्यक्रमका विषय समेटिएका थिए । भेटका क्रममा दूताबासका प्रथम सचिव योसिदा लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?