+
+

सुमन राई सेटिङमै रूस पुगे, सेटिङमै फर्किए 

‘युद्धमा परे मरिन्छ भन्ने बुझेपछि भाग्न खोजें । तर त्यहाँबाट भागेर फर्किन मुश्किल रहेछ ।’

आभास बुढाथोकी आभास बुढाथोकी
२०८० माघ १९ गते १७:५९

१९ माघ, काठमाडौं । खोटाङका ३१ वर्षीय सुमन राई असोजमा मलेसिया जान भनेर काठमाडौं आए । सुकेधारास्थित एउटा म्यानपावर कम्पनीमा पुगेका उनलाई एजेन्टले रूसी सेनामा भर्ना हुने अनौठो प्रस्ताव गरे ।

रोजगारीको खोजीमै विदेश जान तयार भएका सुमनलाई एजेन्टले रातो पासपोर्ट पाइने र मासिक २ लाख ६५ हजार कमाइ हुने लोभ देखाइदिए । रूसमा यतिबेला के भइरहेको छ भन्ने केही थाहा नपाएका उनी पनि रूसी सेनामा जान तयार भए । ‘रूसमा युद्ध भइरहेको र नेपालीहरू मरिरहेका छन् भन्ने कुरा थाहै पाइनँ’ उनले भने, ‘सेनामै भर्ना हुन पाइन्छ, कमाइ पनि हुन्छ भनेपछि जान खोजें ।’

म्यानपावर कम्पनीलाई आठ लाख बुझाएर सुमन नेपालबाट दुबई उडे । ‘सेटिङमै पठाइने रै’छ’ उनले भने, ‘३० दिनको भिसा राखेर हामीलाई दुबई हुँदै रूसको मस्को पुर्‍याए ।’ यो असोज दोस्रो साताको कुरा हो ।

मस्को पुगेको भोलिपल्टै त्यहाँको एजेन्टले उनलाई रूसी सेनाको क्याम्पमा पुर्‍याए । ‘त्यहाँ हामीलाई केही नहेरी भर्ना लिइयो’ उनले भने, ‘केही दिनको तालिममा राखेर क्याम्पमा राखियो ।’

त्यसरी रूसी सेनामा जाने सुमन मात्र थिएनन्, उनीसँगै थुप्रै  नेपाली त्यहाँ पुगेका थिए । ‘तालिम क्याम्पमा हामी करिव ८०० नेपाली थियौं’ उनले भने, ‘नेपालबाट मात्र होइन, दुबई, कतार, साउदी अरेबियाबाट आउने नेपालीहरू रहेछन् ।’

करिब दुई हप्ताको तालिम सिध्याएपछि उनीहरूलाई सीधै युक्रेनको भूमिमा पठाउने तयारी गर्‍यो । रूसमा युद्धमा चलिरहेका कुरा थाहा नपाएरै रूस पुगेका सुमन केही दिनको तालिमपछि युद्धमा जाँदैछु भन्ने थाहा पाएपछि झसंग भए ।

‘नेपालबाट पठाउँदा युद्ध लड्न जानुपर्छ भनेर केही भनिएको थिएन’ उनले भने, ‘केही दिनको तालिम दिएर सीधै युद्ध लड्न पठाइने रहेछ ।’

युद्धमा होमिनुअघि सुमनलाई युद्धमा ज्यानको जोखिमबारे थाहै थिएन । ‘क्याम्पमै तालिम लिएका एक जना विजय तामाङ भन्ने साथी थिए’ उनले भने, ‘मभन्दा अगाडि उनलाई युद्धमा पठाइएको थियो । युद्धमा होमिएको केही दिनपछि उनको मृत्युको भएको खबर आयो ।’ त्यसपछि उनी छाँगाबाट खसे जस्तो भए । बल्ल उनले बुझे युद्ध त ज्यानको पासो रहेछ ।

‘नेपालबाट पठाउँदा युद्ध लड्न जानुपर्छ भनेर केही भनिएको थिएन’ उनले भने, ‘केही दिनको तालिम दिएर सीधै युद्ध लड्न पठाइने रहेछ ।’

सुमनका अनुसार तालिमपछि उनीहरूलाई एउटा पत्रमा हस्ताक्षर गर्न लगाइन्छ । त्यसपछि युक्रेनको युद्ध भूमिमा सीधै फ्रन्टलाइनमा खटाइन्छ । एक पटक रूसी भाषाको सम्झौता पत्रमा हस्ताक्षर गरेपछि त्यसपछि फर्कन्छु भन्नै पाइँदैन ।

युद्धमा ज्यानको पासो छ भन्ने बुझेपछि उनी चाहिं फर्कन खोजे । तर उनीहरूले फर्कन दिएनन् । ‘क्याम्पभित्र पुगेपछि कसैगरी पनि बाहिर जान दिंदैनन्’ उनले भने, ‘पासपोर्ट खोसेर राखिदिन्छन् ।’

डेढ महिना सुमन रूसी सेनामा बसे । त्यो समयमा उनले युद्धलाई नजिकबाट देख्न पाए । ‘रूसले नेपालीलाई सीधै फ्रन्टलाइनमा पठाएर आफ्नो सेनालाई पछाडि राख्छ’, उनले भने ।

युक्रेनको भूमिमा हुने युद्धमा गएपछि फर्कन मुश्किल जस्तै हुन्छ । ‘युक्रेनी सेना पहिले नै तयारी अवस्थामा लुकेर बसेका हुन्छन्’ सुमन भन्छन्, ‘उनीहरू निशाना लगाएर ड्रोनबाट आक्रमण गर्छन् । त्यस्तोमा मर्न बाहेक केही गर्न सकिंदैन ।’

सुमनका अनुसार युद्ध मैदानमा पुगेका धेरै नेपाली भाषा नबुझेरै मर्छन् । ‘युद्ध मैदानमा रूसी भाषामा कमाण्ड दिइरहेको हुन्छ’ उनी भन्छन्, ‘तर भाषा नबुझेर नेपालीहरू लुक्न, भाग्न सक्दैनन् । त्यही कारण नेपालीहरू आक्रमणमा पर्छन् । यस्तोमा बाँच्ने मौका शून्य जस्तै हुन्छ ।’ उनले करिब ५०० हाराहारी नेपालीको युद्धमा ज्यान गएको बताए ।

रूसी युुद्धमा लोभ देखाए जस्तो नभएको र उल्टो ज्यानको जोखिम भएको उनले सुनाए । ‘युद्ध क्षेत्रमा घाइते भए पनि रूसी सेनाले हामीलाई छोडेर भाग्छन्’ सुमन भन्छन्, ‘हामीलाई ज्यानको पासो मात्र हुन्छ ।’

तीन लाख तिरेपछि मलाई भगाउन तयार भयो । जीवनभन्दा ठूलो केही छैन भन्ने बुझेपछि पैसा तिर्न तयार भएँ । यहाँ सबै सेटिङमै हुने रहेछ ।

एजेन्टको सेटिङबाटै भिजिट भिसामा गएर रूस सेनामा पुगेका सुमन सेटिङमै फर्किएको सुनाउँछन् । रूस लैजानेदेखि फर्काउनेसम्म सेटिङमै हुने उनले बताए । ‘युद्धमा परे मरिन्छ भन्ने बुझेपछि भाग्न खोजें’ उनले भने, ‘त्यहाँबाट भागेर फर्किन मुश्किल रहेछ ।’ भाग्नका लागि अनेक उपाय लगाएपछि एक जना साथीबाट एजेन्टको सम्पर्कमा पुगे । पैसा दिएपछि एजेन्टले नै रूसी सेनाबाट भगाएर फर्काउँदो रहेछ ।

‘तीन लाख तिरेपछि मलाई भगाउन तयार भयो’ सुमनले भने, ‘जीवनभन्दा ठूलो केही छैन भन्ने बुझेपछि पैसा तिर्न तयार भएँ । यहाँ सबै सेटिङमै हुने रहेछ । लैजाने मात्र हैन, भगाउने काम पनि सेटिङमै हुने रहेछ ।’ तीन लाख तिरेपछि एजेन्टले उनलाई दुबईहुँदै नेपाल फर्काइदियो ।

भाइटीकाको अघिल्लो दिन मात्र सुमन नेपाल फर्किए । यसरी ८ लाख जाँदा र तीन लाख फर्कंदा गरी ११ लाख उनको खर्च भयो । ‘पैसा कमाउन हिंडेको म उल्टो फसें’ उनले भने, ‘दलालको फन्दामा परेर झण्डै ज्यान गुमाइनँ ।’

पैसा फसे पनि आफू बाँचेर फर्केकोमा सुमनले मन बुझाएका छन् । ‘त्यहाँ पुगेपछि बाँचेर फर्कन्छु भन्ने लागेको थिएन’ उनले भने, ‘पैसा फसे पनि बाँचेर फर्किन त पाएँ । मैले फेरि नयाँ जीवन पाएँ ।’

तस्वीरहरू : चन्द्रबहादुर आले/अनलाइनखबर

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?